कोरोनामुक्त सांसद श्रेष्ठको सुझाव- 'काठमाडौंमा २५ दिन कडा लकडाउन नगरे अवस्था भयावह हुन्छ'


काठमाडौँ — काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र हुँदै गएकोमा यसलाई रोक्ने उपायबारे समयमै ध्यान दिन कोरोना संक्रमणमुक्त सांसद उमेश श्रेष्ठले सरकारलाई सुझाव दिएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट केही दिन पहिले मात्रै मुक्त भएका र अहिले पनि आइसोलेसनमा रहेका कांग्रेस सांसद श्रेष्ठले दसैं र तिहार निजिकिँदै गएको अवस्थामा सरकारले कडा लकडाउनको घोषणा नगर्ने हो भने काठमाडौंबाट कोरोना भाइरसको संक्रमण गाउँगाउँमा जाने बताए ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको सोमबारको बैठकमा सांसद श्रेष्ठले भने , 'काठमाडौं उपत्यकामा २०-२५ दिन ठप्प गरेर कोरोना भाइरस फैलिनबाट रोकथामको विधि नअपनाउने हो भने समस्या समाधान हुन्न । दसैं-तिहारमा मान्छेको आवतजावत बढिरहेको छ । यस्तो बेला सरकारले गम्भीर निर्णय गरेर अगाडि जानुपर्छ ।'
अहिले लकडाउन गर्ने उपयुक्त बेला भएको सांसद श्रेष्ठको सुझाव थियो । उनले संक्रमण फैलिइरहेको बेलामा लकडाउन गर्नैपर्ने धारणा राखेका थिए । अब संक्रमणमुक्त हुँदै गएका गाउँमा र बैंक, मालपोत लगायतका भीडभाड हुने ठाउँमा कोरोना संक्रमण फैलिँदै गएको पनि उनको भनाइ थियो ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण रोकथामका लागि पर्याप्त काम नभएको सांसद श्रेष्ठको भनाइ थियो । अस्पतालको व्यवस्थापनमा सरकार चुकेको उनको भनाइ थियो । काठमाडौंमा रहेका ठूला अस्पताल र मेडिकल कलेजका बेडहरू प्रयोगमा ल्याउनुपर्नेमा त्यसो गर्नबाट चुकेको उनको धारणा थियो ।
'कोभिड अस्पतालको व्यवस्थापन पक्षलाई चुस्त दुरुस्त गर्नुपर्यो । मानिसको मानसिकता के भयो भने अवस्था गम्भीर हुँदा पनि अस्पताल जान पाइँदैन भन्ने भएको छ । अस्पताल प्याक छन् भनिएको छ । संक्रमितलाई गम्भीर भएमा त्यत्तिकै मरिने भयो भन्ने परेको छ । यसबारे सरकारले, मन्त्रालयले गम्भीर भएर सोच्नुपर्छ । अस्पतालमा यथेष्ट बेड संख्या छ भन्ने सन्देश दिनुपर्छ,' सांसद श्रेष्ठको भनाइ थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले 'बेहोस भएपछि वा बेहोस होलाजस्तो भएपछि मात्रै अस्पताल आउनु' भनेर दिएको अभिव्यक्तिप्रति पनि सांसद श्रेष्ठले गम्भीर आपत्ति जनाए । 'प्रवक्ताले भन्दाखेरि अस्पताल भनेको मर्ने बेलामा मात्रै जाउ है, स्वास फेर्न नसक्ने अवस्थामा मात्रै जाउ भन्ने गर्दा नकरात्मक प्रभाव पर्छ । सरकारले आफू भएको अनुभूति दिलाउनुपर्छ,' उनले भने ।
कोरोनाबाट मृत्यु हुनेको संख्या न्यून भएपनि संक्रमित भएपछि मानसिक पीडा हुने गरेको सांसद श्रेष्ठले अनुभव सुनाए ।
प्रकाशित : आश्विन २६, २०७७ १८:३०
७.१२°C काठमाडौं














