‘आईसीयूमा बेडसँगै दक्ष जनशक्तिको पनि खाँचो छ’- कुराकानी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘आईसीयूमा बेडसँगै दक्ष जनशक्तिको पनि खाँचो छ’

स्वरूप आचार्य

काठमाडौँ — कोरोनाभाइरसको संक्रमणका कारण देशभर र विशेष गरेर काठमाडौं उपत्यकामा आईसीयू बेडको अभाव देखिन थालेको छ । संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका बिरामीहरुको उपचारका लागि आईसीयू बेडको कमि हुँदा आफन्तहरु बेडको व्यवस्थापन गर्न एक अस्पतालबाट अर्को अस्पताल भौंतारिन बाध्य छन् ।

कान्तिपुरका स्वरूप आचार्यले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका सह–प्राध्यापक तथा इन्टेसिभिस्ट (आईसीयू विशेषज्ञ) डा. प्रमेशसुन्दर श्रेष्ठसँग अस्पतालको आईसीयू व्यवस्थापन सम्बन्धित विविध पक्षमा गरेको कुराकानी :

अहिले कोभिड–१९ को महामारीका कारण विश्वभर नै क्रिटिकल केयरमा धेरै नै दबाब थपिएको छ । तपाईंको संस्थामा स्थिति के छ ?

हामीले सुरुमा शिक्षण अस्पतालमा कोभिड वार्ड जम्मा २५ बेडबाट सुरु गरेका थियौं, त्यसमा पनि आईसीयू जम्मा ५ बेडमात्रै थियो । पछि संक्रमितहरुको संख्या बढ्दै गएपछि कुल बेड संख्यालाई ५० र आईसीयू बेडलाई पनि १० बनाएका थियौं । त्यसले पनि नपुगेपछि १५ वटा आईसीयू बेड बढाएर १ सय जना बिरामीलाई राखेर उपचार गर्न खोज्दा पनि अहिलेको अवस्थामा दबाब थेग्नलाई मुश्किल परिरहेको छ । संक्रमणको विस्तार बढ्दै छ र सेवा विस्तार गर्दा पनि अपुग हुने देखिरहेको छ ।

हामीकहाँ भएको १५ बेडको आईसीयूमा १० बेडमा भेन्टिलेटर छ, ३ वटा डायलासिस छ । यी सबै लेभल ३ आईसीयू बेड हुन् । जसमा बाइप्याप, हाइफ्लो नेजल क्यानुलासहित सबै प्रकारको उपचार सेवा दिन सकिन्छ । हामी कहाँ दैनिक जसो सबै बेडहरु अहिले पूर्ण रुपमा नै भरिने गरेको अवस्था छ ।

नेपालमा यसै पनि आईसीयू बेडको संख्या बिरामीको अनुपातमा कम छ । अझ सरकारी अस्पतालमा बिरामीको चाप अनुसार कहिल्यै बेड पुगेको देखिँदैन । यस्तोमा कोभिड–१९ को क्राइसिसले कस्तो असर पारेको छ ?

एक त कोभिड कै बिरामी पनि धेरै भएर चाप थेग्न नसक्ने अवस्था छ । शिक्षण अस्पतालबाट मात्रै हामीले दैनिक जसो १५–२० जना बिरामीलाई बेड छैन भनेर अन्यत्र पठाउनु परेको अवस्था छ । अर्को समस्या भनेको रेगुलर आईसीयूमा पनि सेवा दिनका लागि चाहिने जनशक्ति व्यवस्थापनमा पनि ठूलो कठिनाइ पर्न थालेको छ । कोभिडका बिरामीलाई सेवा दिँदा अन्य बिरामीका लागि केही समस्या अवश्य नै थपिएको छ ।

अहिले संक्रमण भएको छ या छैन भनेर यकिन नभइ कुन आईसीयूमा राख्ने र कस्तो उपचार गर्ने भन्ने निर्क्योल गर्न कठिन हुन्छ । त्यसैले उपचार प्रक्रिया नै पनि केही जटिल बनेको छ । कोरोनाको परीक्षण गरेर संक्रमण देखिएन भने छुट्टै आईसीयूमा राखेर उपचार गर्नुपर्‍यो । संक्रमण देखियो भने कोभिड आईसीयूमा राख्नुपर्‍यो । त्यसैले संक्रमण नदेखिएका बिरामीले केही झन्झट बेहोर्नुपरेको चाहिँ छ ।

अहिलेको महामारीको अवस्था कस्तो हो ?

अहिले कुल संक्रमितको संख्या एक लाख नाघिसकेको अवस्था छ भने सक्रिय संक्रमितको संख्या पनि २६ हजार माथि छ । त्यस्तै ६ सय बढीले त ज्यानै गुमाइसकेको अवस्था छ । यो भनेको नेपालमा संक्रमण धेरै नै फैलिसकेको छ भन्ने नै हो । अहिले अवस्था जटिल बन्दै गएको छ । लकडाउन गर्दा संक्रमण फैलिने दर केही हदसम्म नियन्त्रणमा थियो । तर, लकडाउन खुलेयता संक्रमण व्यापक रुपमा फैलिएको देखिन्छ । मान्छेको आवतजावत बढेसँगै संक्रमितको चाप पनि बढ्न थालेको छ । स्वास्थ्य संस्थाहरुलाई सेवा दिन पनि गाह्रो भइरहेको छ भने बिरामीलाई उपचारका लागि बेड पाउनै पनि मुस्किल पर्न थालेको छ ।

अत्यन्तै गम्भीर अवस्थाका बिरामीले पनि बेड पाउनका लागि कुर्नुपर्ने, धेरैवटा अस्पताल चाहर्नुपर्ने अवस्था छ । केही बिरामीले त बेड पाउनका लागि २४ घण्टासम्म नै कुर्नुपरेको उदाहरण शिक्षण अस्पतालमै पनि छ । यसले गर्दा संक्रमितको उपचारमा सोचेजस्तो प्रतिफल प्राप्त नहुन पनि सक्छ ।

नयाँ आईसीयू बेड थप्दैमा सर्ज म्यानेजमेन्ट गर्न सकिन्छ त ?

आईसीयू बेड भनेको आफैंमा रोग निको पार्ने उपकरण होइन । यो त केवाल पूर्वाधार मात्रै हो, यो सँगसँगै दक्ष जनशक्ति पनि चाहिन्छ । ५–१० वटा बेड थप्दैमा आईसीयूको क्षमता बढ्ने र बिरामीले उपचार पाउन थाल्दछन् भन्ने हुँदैन । त्यसमा बिरामी राखेपछि बिरामीको व्यवस्थापनका लागि दक्ष चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीको पनि आवश्यकता हुन्छ । र, नेपालमा सबैभन्दा ठूलो चुनौती भनेकै यसरी महामारी फैलिएको समयमा दक्ष जनशक्तिको कहाँबाट व्यवस्था गर्ने भन्ने नै हो ।

कोरोना संक्रमितको सबैभन्दा बढी असर पर्ने भनेको फोक्सोमा हो । त्यसैले हामीले बिरामीलाई विभिन्न प्रकारको अक्सिजन सपोर्ट र थेरापीमा राखेर उपचार गर्नुपर्ने हुन्छ । उच्च प्रविधियुक्त भेन्टिलेटर, बाइप्याप, हाइफ्लो क्यानुला प्रयोग गर्नसक्ने दक्ष जनशक्ति चाहिन्छ त्यसका लागि । बजारमा आईसीयू बेड खरिद गरे जस्तै दक्ष जनशक्ति त पाइँदैन । त्यसैले बेडमात्रै बढाएर त्यसलाई सेवा दिनसक्ने आईसीयूमा परिवर्तन गर्न निकै नै कठिन हुन्छ ।

के हाम्रो स्वास्थ्य संरचनाले यति धेरै दबाब थेग्न सक्ला ?

मैले अघि पनि भनें, हाम्रो क्षमताले नभ्याएकै कारणले गर्दा बिरामीहरुले बेडको लागि पर्खेर बस्नुपर्ने अवस्था आएको छ । यो समस्या बढ्दै जाने देखिन्छ । त्यसैले हामीले अहिले नै संक्रमितको संख्या धेरै नै बढेको समयमा कसरी व्यवस्थापन गर्ने भनेर योजना बनाउनुपर्ने हुन्छ । हाम्रो जस्तो देशमा शून्यदेखि सबै निर्माण गर्नु भनेको निकै कठिन विषय हो । त्यसैले कुनै चालु अवस्थामा रहेको अस्पताल वा उपलब्ध भइरहेको संरचनालाई नै विस्तार गर्न सजिलो हुन्छ । केही दक्ष जनशक्ति, उपकरण, बेड थपेर कोरोना उपचारका लागि तयार गर्‍यौं भने सहज हुन्छ । त्यो व्यवहारिक पनि हुन्छ ।

सरकारले भनेजस्तो रातारात सय/हजार बेड थप्न सकिन्छ ? बेड बढाएअनुसारको दक्ष जनशक्ति हामीसँग छ त ?

हामी कहाँ क्रिटिकल केयरमा काम गर्ने दक्ष चिकित्सक तथा नर्सहरुको निकै नै कमी छ । अहिले क्रिटिकल केयरका साथसाथै, छाती रोग, जनरल फिजिसियन, एनेस्थेसियाका विशेषज्ञ चिकित्सकहरुले कोरोनाका बिरामीहरुको उपचार गरिरहनुभएको छ । यो जनशक्ति आजको भोलि तयार हुँदैन । अब महामारी बढ्दै गएर संकट नै आयो भने अन्य विधाका विशेषज्ञ चिकित्सकलाई कोरोना उपचारमा अनुभव भएका चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा राखेर पनि उपचार गर्न थाल्नुपर्ने हुनसक्छ ।

धेरै दुर्गम स्थानमा बिरामी छन् भने टेलिमेडिसिन सेवा दिने । होइन भने अस्पतालमा ट्रायजको प्रणालीलाई थप व्यवस्थित गरेर अन्य विधाका चिकित्सकहरुलाई पनि कोरोना उपचारका लागि प्रयोग गर्न सकिन्छ । त्यो गर्‍यौं भने जुन रुपमा संक्रमितहरुको संख्या ह्वात्तै बढ्छ त्यसलाई व्यवस्थापन गर्न सहज हुन्छ ।

विश्वमा नै कुनै पनि अस्पतालको सर्ज क्यापासिटि भनेको २० प्रतिशतसम्म हुन्छ । भनेको १०० जना उपचार गर्ने क्षमता भएको अस्पतालमा १२० जना बिरामी आयो भने व्यवस्थापन गरेर उपचार गर्न सकिन्छ । त्योभन्दा पनि बढी बिरामी आए व्यवस्थापन गर्न गाह्रो हुन्छ । त्यो भयो भने अघि हामीले भने जस्तै कोरोनाको उपचारका लागि दक्ष मानिएका चिकित्सकहरुको निगरानीमा अन्य चिकित्सकहरुलाई पनि उपचारमा खटाउनुपर्ने हुन्छ । यो नै व्यवहारिक व्यवस्थापन योजना हुन्छ होला जस्तो लाग्छ ।

अहिले भएका बेडहरुलाई कसरी उचित रुपमा व्यवस्थापन गर्न सकिन्छ ?

सरकारले पनि आफ्नो तर्फबाट गरेको कुराहरु सराहनीय नै छ । तर, विश्वको तथ्यांक के छ भने कोरोना संक्रमितमध्ये १५ प्रतिशतलाई उपचारका आवश्यकता पर्छ र त्यसमा पनि ५ प्रतिशतलाई आईसीयू सेवा नै चाहिन्छ । तसर्थ हामी कहाँ जुनरुपमा सक्रिय संक्रमितहरुको संख्या बढिरहेको छ त्यही अनुसार क्षमता पनि अभिवृद्धि गर्नु जरुरी हुन्छ ।

यस्तै कहाँ बेड खाली छ, कहाँ कुन बिरामीलाई बेडको आवश्यकता परिरहेको छ भन्ने विवरण पनि सबै अस्पताललाई उपलब्ध भएमा व्यवस्थापन गर्न थप सहज हुन्छ । किनभने बिरामी सबैभन्दा पहिला आफूलाई पायक पर्ने स्थानमा नै उपचारका लागि जान्छ । यस्तोमा उक्त स्थानमा बेड नभएर त्यो बिरामीलाई अप्ठेरो परिरहेको हुनसक्छ । तर, अर्को अस्पतालमा भने बेड खाली हुनसक्छ । त्यसैले रिफरल प्रणालीमा पनि सुधार गर्नु जरुरी छ । ताकी आवश्यक परेको बिरामीले उपचार छिटोभन्दा छिटो प्राप्त गरोस् ।

सरकारले आईसीयूको विकल्पमा ६ हजार हाई डिपेन्डेन्सी यूनिट बनाउने भनेको छ ? त्यसले के कस्तो सहयोग पुग्ला ?

हाई डिपेन्डेन्सी यूनिट बनाएर त्यति धेरै बेड थप्नु भनेको निकै राम्रो कुरा हो । तर, त्यो जति सक्यो चाँडो व्यवस्था भए राम्रो हुन्छ । त्योसँगै फेरि पनि कुरा दक्ष जनशक्तिको पनि आउँछ । बेड नै मात्र बढाउने भनेको आर्थिक कुरा मात्रै हो । अर्थ व्यवस्थापन गरेपछि बेडको संख्या त बढाउन सकिन्छ पनि । तर, दक्ष जनशक्ति बढाउनका लागि हामीले के गरिरहेका छौं भन्ने पनि महत्वपूर्ण विषय हो । कोरोनाका गम्भीर प्रकारका बिरामीहरुलाई उपचार गर्ने भनेको सजिलो काम पनि होइन । संक्रमितको अवस्था निकै छिटो बिग्रिने हुन्छ । त्यसैले कुन अवस्थाअनुसार कस्तोखालको उपचार दिने भन्ने निर्णय लिनुपर्ने हुन्छ ।

त्यसैले हाई केयर बेडको व्यवस्थापनको साथसाथै सरकारले दक्ष जनशक्तिलाई कसरी प्रयोग गर्ने भन्ने बारे पनि ठोस योजना बनाउनु अर्थपूर्ण हुन्छ जस्तो मलाई लाग्छ ।

नेपाली समाजमा अहिले भेन्टिलेटरमा बिरामी पुग्यो भनेपछि बाँच्दैन भन्ने सोच व्याप्त छ । बिरामीका परिवारले भेन्टिलेटरमा आफ्नो मान्छेलाई राख्नु भनेको उपचारको प्रक्रिया हो भन्दा पनि मृत्युको पर्खाइ हो भन्ने हिसाबले बुझ्छन् । समाजको यो सोचबारे तपाईंको प्रतिक्रिया के छ ?

कोभिड भनेको फोक्सोमै संक्रमण गराउने एउटा रोग हो । कोरोनाले जति फोक्सोमा संक्रमण गराउन थाल्दछ त्यति त्यति नै संक्रमितलाई हामीले बाहिरबाट वैकल्पिक अक्सिजन दिनुपर्ने हुन्छ । सुरुमा हामीले नेजल क्यानुलाबाट १–२ लिटरप्रति मिनेटको दरले अक्सिजन दिने गर्छौं । भएन भने हाई फ्लो नेजल क्यानुलाबाट ४०–६० लिटरप्रति मिनेटसम्म संक्रमितलाई अक्सिजन दिन सकिन्छ । त्यसले पनि भएन भने बाइप्याप मेसिनबाट अक्सिजन सपोर्ट दिन्छौं । त्यसलाई हामी नन्इन्भेसिभ भेन्टिलेटर पनि भन्छौं । त्यसबाट पनि भएन भने चाहिँ हामीले भेन्टिलेटरमा नै राख्नुपर्ने हुन्छ ।

आईसीयूमा उपचार गराउने बिरामीमध्ये अहिले करिब ३०–४० प्रतिशतसम्मको मृत्यु हुने देखिएको छ । भनाइको मतलब १० जनाको आईसीयूमा उपचार गरियो भने ६ देखि ७ जना निको भएर बाहिर निस्किन्छन् भने अन्यको मृत्यु हुन्छ । हामीले समयमै कोरोनाको औषधि प्रयोग गर्न सक्यौं, यथोचित रुपमा अक्सिजन थेरापी दिनसक्यौं भने अत्यन्तै गम्भीर प्रकारका बिरामीहरु पनि निको हुन्छन् भन्ने उदाहरणहरु पनि हामीसँग छन् । जसमा दुईजना त समाजमा चिरपरिचित चिकित्सकहरु नै हुनुहुन्छ । हो, दीर्घरोग भएका बिरामीहरुलाई आईसीयूमा राखेर उपचार गर्दा उनीहरुमा भने मृत्यु हुने दर बढिरहेको देखिएको छ ।

त्यसैले आईसीयू भनेको अन्तिम अवस्थामा लैजाने स्थान होइन । बिरामीलाई चिकित्सकको निगरानीमा सम्भव भएसम्मका सबै उपचार सेवा बिना बाधाअड्चन दिनसकियोस् भनेर राखिने स्थान हो । आईसीयूमा राखिएका बिरामीले दक्ष चिकित्सकहरुको निगरानीमा समयमा सबै प्रकरको उपचार पाए उनीहरु निको भएर बाहिर निस्कन्छन् ।

यो महामारीमा जनताको भूमिकाचाहिँ कस्तो हुनुपर्छ ? सरकारले जनता संवेदनशील भएनन् भनेको छ ।

कोरोनाको संक्रमण एकदमै बढ्दै गइरहेको अवस्थामा सरकारको साथसाथै जनताको पनि केही दायित्व हुन्छ । सरकारको दायित्व भनेको संक्रमितहरुले राम्रो उपचार पाउन् भनेर व्यवस्था गर्नुका साथै संक्रमण कुन गतिमा अगाडि बढ्दै छ, भविष्यमा यसले के कस्तो असर पुर्‍याउन सक्छ भनेर जनस्वास्थ्यविदहरुसँग छलफल गरे योजना बनाउनु हो । योसँगै कोरोना उपचारमा राम्रो परिणाम देखाइरहेको रेम्डेसिभिर जस्ता औषधि सजह उपलब्ध हुने वातावरण पनि सरकारले मिलाउनुपर्‍यो ।

योसँगै जनताले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्‍यो । पहिलो कुरा त संक्रमण हुन नदिनका लागि भनिएका उपायहरुको पालना गर्नुपर्‍यो र संक्रमण भइ हालेको खण्डमा पनि छिटोभन्दा छिटो परीक्षण र उपचार गराएर सुरक्षित हुनुपर्‍यो । कोरोनाले मलाई केही गर्दैन वा यो भने जस्तो गम्भीर छैन भनेर मनलाग्दी गर्नु भएन । जिम्मेवार भएर मास्क लगाउँ, सामाजिक दुरी कायम गरौं ।

चाडबाड नजिकिँदै छ । दसैं भनेको ठूलाबडाको आशिर्वाद लिएर मनाउने पर्व हो । तर, कोरोनाका काराण सबैभन्दा बढी जोखिममा रहेको वर्ग पनि त्यही हो । त्यसैले यो वर्ष थप जिम्मेवार भएर ठूलाबडासँग सकेसम्म कम घुलमिल भएर, सामाजिक दुरी कायम गरेर भिडभाड नगरी दशैं मनाउँ ।

प्रकाशित : आश्विन २६, २०७७ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनामुक्त सांसद श्रेष्ठको सुझाव- 'काठमाडौंमा २५ दिन कडा लकडाउन नगरे अवस्था भयावह हुन्छ'

स्वास्थ्य मन्त्रालयका प्रवक्ताको भनाइप्रति आपत्ति
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र हुँदै गएकोमा यसलाई रोक्ने उपायबारे समयमै ध्यान दिन कोरोना संक्रमणमुक्त सांसद उमेश श्रेष्ठले सरकारलाई सुझाव दिएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट केही दिन पहिले मात्रै मुक्त भएका र अहिले पनि आइसोलेसनमा रहेका कांग्रेस सांसद श्रेष्ठले दसैं र तिहार निजिकिँदै गएको अवस्थामा सरकारले कडा लकडाउनको घोषणा नगर्ने हो भने काठमाडौंबाट कोरोना भाइरसको संक्रमण गाउँगाउँमा जाने बताए ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको सोमबारको बैठकमा सांसद श्रेष्ठले भने , 'काठमाडौं उपत्यकामा २०-२५ दिन ठप्प गरेर कोरोना भाइरस फैलिनबाट रोकथामको विधि नअपनाउने हो भने समस्या समाधान हुन्न । दसैं-तिहारमा मान्छेको आवतजावत बढिरहेको छ । यस्तो बेला सरकारले गम्भीर निर्णय गरेर अगाडि जानुपर्छ ।'

अहिले लकडाउन गर्ने उपयुक्त बेला भएको सांसद श्रेष्ठको सुझाव थियो । उनले संक्रमण फैलिइरहेको बेलामा लकडाउन गर्नैपर्ने धारणा राखेका थिए । अब संक्रमणमुक्त हुँदै गएका गाउँमा र बैंक, मालपोत लगायतका भीडभाड हुने ठाउँमा कोरोना संक्रमण फैलिँदै गएको पनि उनको भनाइ थियो ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण रोकथामका लागि पर्याप्त काम नभएको सांसद श्रेष्ठको भनाइ थियो । अस्पतालको व्यवस्थापनमा सरकार चुकेको उनको भनाइ थियो । काठमाडौंमा रहेका ठूला अस्पताल र मेडिकल कलेजका बेडहरू प्रयोगमा ल्याउनुपर्नेमा त्यसो गर्नबाट चुकेको उनको धारणा थियो ।

'कोभिड अस्पतालको व्यवस्थापन पक्षलाई चुस्त दुरुस्त गर्नुपर्‍यो । मानिसको मानसिकता के भयो भने अवस्था गम्भीर हुँदा पनि अस्पताल जान पाइँदैन भन्ने भएको छ । अस्पताल प्याक छन् भनिएको छ । संक्रमितलाई गम्भीर भएमा त्यत्तिकै मरिने भयो भन्ने परेको छ । यसबारे सरकारले, मन्त्रालयले गम्भीर भएर सोच्नुपर्छ । अस्पतालमा यथेष्ट बेड संख्या छ भन्ने सन्देश दिनुपर्छ,' सांसद श्रेष्ठको भनाइ थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले 'बेहोस भएपछि वा बेहोस होलाजस्तो भएपछि मात्रै अस्पताल आउनु' भनेर दिएको अभिव्यक्तिप्रति पनि सांसद श्रेष्ठले गम्भीर आपत्ति जनाए । 'प्रवक्ताले भन्दाखेरि अस्पताल भनेको मर्ने बेलामा मात्रै जाउ है, स्वास फेर्न नसक्ने अवस्थामा मात्रै जाउ भन्ने गर्दा नकरात्मक प्रभाव पर्छ । सरकारले आफू भएको अनुभूति दिलाउनुपर्छ,' उनले भने ।

कोरोनाबाट मृत्यु हुनेको संख्या न्यून भएपनि संक्रमित भएपछि मानसिक पीडा हुने गरेको सांसद श्रेष्ठले अनुभव सुनाए ।

प्रकाशित : आश्विन २६, २०७७ १८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही कुराकानीबाट
×