१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

सबै तह र प्रकृतिका परीक्षा सञ्‍चालन गर्न मन्त्रिपरिषद्को स्वीकृति

सुदीप कैनी

काठमाडौँ — कक्षा १२ लगायत स्थगित भएका सबैखाले परीक्षा सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालयलगायत शिक्षण संस्थामा सबै तह, विषय र प्रकृतिको परीक्षा सञ्चालन गर्न स्वीकृति दिइएको हो ।

सबै तह र प्रकृतिका परीक्षा सञ्‍चालन गर्न मन्त्रिपरिषद्को स्वीकृति

‘तर परीक्षा सञ्चालन गर्दा केन्द्र, प्रदेश र स्थानीय सरकारले तोकेका जनस्वास्थ्यसम्बन्धी मापदण्ड भने अनिवार्य रूपमा पालना गर्नुपर्नेछ’, सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले १९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बुधबार भने, ‘व्यावसायिक तालिम प्रदायक संस्थाहरूले छोटो अवधिको तालिम चलाउनसमेत पाउनेछन् ।’ भीडभाड नहुने गरी बढीमा २५ जना सहभागी गराएर तालिम सञ्चालन गर्न सकिने उनले जनाए ।

कोरोना संक्रमणका कारण वैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा सञ्चालन हुन सकेको छैन । सरकारले अनुमति दिए पनि संक्रमण कायमै रहेकाले देशभर परीक्षा सञ्चालन गर्न सक्ने अवस्था छैन । कक्षा १२ को परीक्षा विद्यालय तहको अन्तिम परीक्षा भएकाले मन्त्रिपरिषद्ले नै विशेष निर्णय गर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए । ‘पहिलेजस्तै परम्परागत विधिबाट परीक्षा चलाउन सक्ने अवस्था छैन, बोर्डले विभिन्न विकल्पसहित कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छ,’ उनले भने, ‘१/२ दिनमै यसबारे निर्णय हुने जानकारी पाएका छौं ।’

अर्यालका अनुसार बोर्डले परम्परागत विधिबाटै ठाउँअनुसार चरण/चरणमा, कक्षा ११ को प्राप्तांकसहित कक्षा १२ को पनि मूल्यांकनसहितको परीक्षा र अनलाइनलगायत वैकल्पिक माध्यमबाट संक्षिप्त अनलाइन परीक्षा लिन प्रस्ताव पठाएको छ । मन्त्रिपरिषद्ले यीमध्ये कुनै एक विकल्पबाट परीक्षा सञ्चालन गर्न स्वीकृति दिएपछि बोर्डले परीक्षा लिने उनले जनाए । मन्त्रिपरिषद्को निर्णयपछि रोकिएको कक्षा ११, विश्वविद्यालय, प्रतिष्ठान, विद्यालय तहको परीक्षा सञ्चालनको बाटो पनि खुलेको छ । कक्षा ११ को परीक्षा विद्यालयले लिने निर्णय भए पनि संक्रमणका कारण हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालयलगायतमा पनि गत चैतदेखि नै परीक्षा रोकिएका छन् । सीटीईभीटीको परीक्षा पनि प्रभावित बनेको छ । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको प्रवेश परीक्षा अनलाइनबाटै लिने तयारी अघि बढाएको छ ।

सरकारले अनुमति दिएकाले त्रिविले छठलगत्तै परीक्षा सञ्चालन गर्ने शिक्षाध्यक्ष शिवलाल भुसालले जनाए । ‘परीक्षा सञ्चालन गर्न डिन कार्यालयहरूलाई जिम्मा दिएका छौं,’ उनले भने, ‘छठपछि परीक्षा थाल्ने तयारी थियो, मन्त्रिपरिषद्को निर्णयले पक्कापक्की भयो ।’ विद्यार्थी संख्या थोरै भएका, सबै विद्यार्थी अनलाइनको पहुँचमा रहेको विषय र तहमा त्रिविले अहिले पनि परीक्षा सञ्चालन गरिरहेको छ । छठलगत्तै सबै संकाय र विभागअन्तर्गतका परीक्षा हुने भुसालले बताए । त्रिविले करिब ९० हजार विद्यार्थी लकडाउन र कोरोनाका कारण विश्वविद्यालयको सम्पर्कबाहिर रहेको जनाएको छ । त्रिविमा साढे ४ लाख विद्यार्थी अध्ययन गर्छन् । टेलिफोन र इन्टरनेटमा समेत विद्यार्थी सम्पर्कमा नरहेकाले त्रिविमा वैकल्पिक कक्षा पनि प्रभावकारी हुन सकेको छैन ।

काठमाडौं, मध्यपश्चिम, लुम्बिनी बौद्ध र खुला विश्वविद्यालयले अनलाइनलगायत वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गरेका छन् । सीटीईभीटीका परीक्षा नियन्त्रक दीपक पौडेलले रोकिएका परीक्षा स्वास्थ्य मापदण्ड पालना गर्दै सामाजिक दूरी कायम गरेर सञ्चालन गरिने जनाए । सीटीईभीटीका डिप्लोमा, प्रि–डिप्लोमालगायत अधिकांश परीक्षा रोकिएका छन् । ‘अनलाइनलगायत वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न सम्भव नै देखिएन,’ उनले भने, ‘समय तालिका प्रकाशित गर्छौं ।’

त्रिभुवन विश्वविद्यालय, सीटीईभीटीलगायत शिक्षण संस्था अनलाइनलगायत वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न पछि हटिरहेका छन् । त्यसले गर्दा शैक्षिक सत्र नै खेर जाने जोखिम बढेको छ । परीक्षाको मुखमा रहेका विद्यार्थीको ७ महिना खेर गएको छ । शिक्षा मन्त्रालयले विद्यालय तह कक्षा १–१० मा वैकल्पिक माध्यमबाटै पठनपाठन र परीक्षा गर्ने जनाएको छ । पहिलो त्रैमासिक परीक्षा मंसिरसम्म गर्न भनिएको छ ।

काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालयले भने विद्यार्थीको घरलाई नै परीक्षा केन्द्र तोकेर परीक्षा लिन थालेको छ । कक्षा १ देखि १० सम्मको परीक्षा मंगलबारबाट सुरु गरिएको प्रधानाध्यापक रीता तिवारीले जानकारी दिइन् । अभिभावक बोलाएर प्रश्नपत्र र उत्तरपुस्तिका विद्यार्थीको घर/घरमा पठाइएको छ । ‘विद्यार्थीले प्रत्येक दिन एउटा विषयको उत्तर लेख्छन्, सबै विषयको उत्तर लेखिसकेपछि अभिभावकले नै उत्तरपुस्तिका विद्यालयमा ल्याएर शिक्षकलाई बुझाउँछन्,’ उनले भनिन्, ‘त्यसपछि उत्तरपुस्तिका परीक्षण गरेर विद्यार्थीको मूल्यांकन गर्छौं ।’ विद्यालयले पहिलो त्रैमासिक परीक्षा सञ्चालन गर्न लागेको हो । काठमाडौं उपत्यकाका अधिकांश विद्यालयले प्रथम त्रैमासिक परीक्षा अनलाइनबाटै सञ्चालन गरेका छन् ।

शिक्षाविद्हरूले स्थानीय अवस्थाअनुसार शिक्षण संस्था, शिक्षक र स्थानीय तहले वैकल्पिक शैक्षिक गतिविधिको विकल्पहरू खोज्नुपर्ने औंल्याएका छन् ।

सरकारले शिक्षक सेवा आयोगमा रिक्त रहेका अध्यक्ष र एक महिलासहित दुईजना सदस्य पदमा नियुक्तिको सिफारिस गर्नका लागि लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा सिफारिस समिति पनि गठन गरेको छ । उक्त सिफारिस समितिमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सदस्य रहेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

साथै राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको पदपूर्तीसम्बन्धि प्रक्रियालाई सुचारु गर्न पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । उक्त प्रक्रिया बैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले स्थगन गरेको थियो ।

सम्बन्धित समाचारः

प्रकाशित : आश्विन २१, २०७७ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?