२४ घण्टामा थपिए २४ सय ४० कोरोना संक्रमित, ११ सय ३३ जना डिस्चार्ज- समाचार - कान्तिपुर समाचार

२४ घण्टामा थपिए २४ सय ४० कोरोना संक्रमित, ११ सय ३३ जना डिस्चार्ज

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार १ सय ३३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६५ हजार २ सय २ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १० लाख ८८ हजार २२९ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १३ हजार ७८१ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ३३ जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या २३ हजार ५०७ जना रहेको छ ।

प्रकाशित : आश्विन १९, २०७७ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश ५ को प्रदेश सभामा तोडफोड

घनश्याम गौतम

रूपन्देही — प्रदेश ५ सरकारले प्रदेश सभामा पेश गरेको नाम र स्थायी राजधानीको विषयमा विरोधकैबीच सभामुखले छलफल अघि बढाएपछि विपक्षी दल कांग्रेसले कुर्सी, टेबुल तोडफोड गरेको छ । तोडफोड र नाराबाजीकैबीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएका थिए ।

एक बजे सुरु भएको बैठक विरोध भएपछि स्थगित भएको थियो । दुई घण्टासम्म पनि कुनै सहमतिको विन्दु नभेटिएपछि सुरु भएको बैठकमा कांग्रेसले पुन: अवरुद्ध गरेको थियो । तर, सभामुखले बैठक निरन्तरता दिएपछि कांग्रेसले तोडफोड गरेको हो ।

प्रदेशसभाको सोमबारको बैठकमा कानुन तथा आन्तरिक मामिलामन्त्री कुलबहादुर केसीले प्रदेश राजधानी र नामको प्रस्ताव छलफलका लागि पेस गर्ने क्रममा कांग्रेस सांसदहरूले नाराबाजी गर्दै तोडफोड गरेका हुन् । मन्त्री केसी प्रस्ताव पेस गर्नका लागि रोष्ट्रममा जाने क्रममा धक्कामुक्की गरेका सांसदहरूले प्रस्ताव पेश गर्ने क्रममा कुर्सीले टेबुल र माइकमा तोडफोड गरेका हुन् ।

'संसदीय मर्यादा पालन गर्' भन्ने नारा लगाउँदै सांसदहरूले बैठककक्षमा तोडफोड गरेका हुन् ।

तोडफोडकैबीच बोलेका नेकपाका प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले सरकारको प्रस्ताव ठीक नभएको र जनभावनाको कदर नभएको बताएका थिए । उनले विशेष समितिले विकल्पसहित दिएको प्रतिवेदन पनि सार्वजनिक गर्नुपर्ने माग गरे । सभामुखले दिएको ५ मिनेट सकिएपछि उनको माइक काटिएपछि उनले त्यसको पनि विरोध गर्दै झण्डै १० मिनेट हात उठाएरै विरोध जनाइरहेका थिए ।

नेकपाका विष्णु पन्थीले प्रदेशको स्थायी राजधानी कपिलवस्तु उपयुक्त हुने भन्दै सरकारको प्रस्ताव सच्याउनु पर्ने माग गरे । राष्ट्रिय जनमोर्चाकी तारा जिसीले स्थायी राजधानीको विषमा रूपन्देहीमा देखिएको विरोध टेलर मात्र भएको र संघीयताको देशभरको फिल्म देख्न बाँकी रहेको बताइन् ।

बैठक भाेलि बस्ने गरी स्थगित भएकाे छ ।

प्रकाशित : आश्विन १९, २०७७ १६:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×