पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई कोरोना संक्रमण

आश्विन १७, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई कोरोना संक्रमण भएको छ । असोज १५ गते पार्टी कार्यालय सानेपामा गरिएको परीक्षणमा थापालाई कोरोना पुष्टि भएको हो ।

थापाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा बसेको पनि जानकारी दिएका छन् ।

त्यस्तै थापाले यसबीचमा आफ्नो सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन र कुनै समस्या आए स्वास्थ्यकर्मीसँग परामर्श गर्न पनि अनुरोध गरेका छन् । 

यसअघि कांग्रेस नेता अर्जुननरसिंह केसीले पनि सामाजिक सञ्‍जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए ।

१५ गते कांग्रेस कार्यालयमा २ सय ४० जनाको परीक्षण गरिएको थियो । यसमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, उनीहरुका सचिवालयका सदस्य, सुरक्षाकर्मी र कार्यालयका कर्मचारी थिए । परीक्षण गरिएकामध्ये २०-२२ जनाको नतिजा आउन बाँकी रहेकाले सबैको नतिजा आएपछि आइतबार केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरी सार्वजनिक गर्ने तयारी पनि गरेको छ ।

१९ गतेका लागि बोलाइएको पार्टी केन्द्रीय समिति बैठकका लागि परीक्षण गराइएको थियो ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully