मध्यपश्चिमाञ्चलले लियो अनलाइनबाटै परीक्षा

चाँदनी कठायत

वीरेन्द्रनगर — कोरोना भाइरसको जोखिमका कारण शैक्षिक संस्थाहरु ठप्प भएको अवस्थामा मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइनबाटै परीक्षा लिएको छ ।

मध्यपश्चिमाञ्चलले लियो अनलाइनबाटै परीक्षा

गत भदौ १२ गते मिड टर्म परीक्षा लिएको विश्वविद्यालयले शनिबारदेखि अन्तिम परीक्षा लिएको हो । विश्वविद्यालयले पहिलो चरणमा स्नातक तहको सातौं र स्नातकोत्तर तहको तेस्रो सेमेष्टरको परीक्षा अनलाइनबाट लिएको परीक्षा व्यवस्थापन कार्यालयले जनाएको छ ।

परीक्षा व्यवस्थापन प्रमुख आनन्दप्रसाद सुवेदीका अनुसार परीक्षामा १ हजार ३ सय २० जना विद्यार्थी सहभागी छन् । परीक्षाको पहिलो दिन शनिबार स्नातक सातौं सेमेष्टरका चार वटा संकायका विद्यार्थी सहभागी भएको उनले जानकारी दिए ।

विज्ञान तथा प्रविधिबाहेक ईन्जिनियरिङ, व्यवस्थापन, मानविकी र सामाजिक शास्त्र र शिक्षा शास्त्र संकायका विद्यार्थीले अनलाईनबाट परीक्षा दिएका छन् । कात्तिक ३ गतेसम्म चल्ने परीक्षामा आइतबारदेखि स्नातकोत्तर तेस्रो सेमेष्टरका विद्यार्थी पनि सहभागी हुनेछन् ।

सुवेदीले बीए सातौँ सेमेष्टरमा नियमिततर्फ ४ सय ७० र आंशिकतर्फ ८३ जना विद्यार्थी सहभागी भएको बताए । उनका अनुसार स्नातकोत्तर तहका नियमिततर्फ ७ सय १५ र आंशिकतर्फका ५२ जना विद्यार्थीले परीक्षा दिनेछन् । आठ घण्टाको समयावधि रहेको परीक्षामा बिहान ८ बजे ईमेलमार्फत विद्यार्थीले प्रश्नपत्र प्राप्त गर्नेछन् । उक्त प्रश्नको जवाफ घरमै बसेर लेखी विद्यार्थीले बेलुकी ४ बजेसम्म पठाइ सक्नुपर्नेछ ।

प्रमुख सुवेदीले भौतिक रुपमा परीक्षा लिँदा केही विद्यार्थी छुट्ने गरेकोमा अनलाइनबाट शत प्रतिशत विद्यार्थी सहभागी भएको जनाए । परीक्षाका लागि १० वटा परीक्षा केन्द्र तोकिएको छ । सुर्खेतमा ५ वटा, रुकुम पश्चिम, बाँके र बर्दियामा एक/एक वटा र काठमाडौंमा दुई वटा परीक्षा केन्द्र रहेको उनको भनाइ छ ।

विश्वविद्यालयले दोस्रो चरणमा अनलाइनबाटै मंसिरको दोस्रो हप्तादेखि स्नातक तहको पहिलो, तेस्रो र पाँचौ सेमेष्टर तथा स्नातकोत्तर तहको पहिलो सेमेष्टरको परीक्षा लिनेछ । उक्त परीक्षाका लागि फारम शुक्रबारदेखि खुला भइसकेको छ ।

कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै विश्वविद्यालयले अनलाइनबाटै पढाएर अनलाइनबाटै परीक्षा दिने वातावरण मिलाएको जनाएको छ ।

प्रकाशित : आश्विन १७, २०७७ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?