सुनसरी — सुनसरीमा पछिल्लो २४ घण्टामा १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा १ सय ९७ जना संक्रमित देखा पर्दा सुनसरीमा मात्र ११७ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो ।
थपिएका संक्रमितहरुमध्ये ९७ जना धरानका छन् । स्वास्थ्य कार्यालय सुनसरीकी कोभिड १९ संयोजक दीक्षा श्रेष्ठले स्वास्थ्य प्रोटोकलमा ध्यान नदिएर लापर्वाही गर्दा सुनसरीमा संक्रमितको संख्यामा वृद्धि भएको बताइन् ।
सुनसरीमा थपिएका नयाँ संक्रमितहरुमध्ये इटहरी उपमहानगरपालिकामा १३, दुहवी नगरमा ३ र गढी गाउँपालिकामा १ जना छन् ।
यसैबीच धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमख उमेश मेहताले धरान-१२ र धरान-२ का जनप्रतिनिधि, कर्मचारीहरु र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स र चिकित्सकहरुमापनि कोरोना संक्रमण पुष्टि भएको बताए ।
जिल्लामा हालसम्म १७ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । ती मध्ये धरानका ८ जना, इटहरीका ५ जना, दुहबीका २ जना र इनरुवा र रामधनीका एक/एकजनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा हालसम्म १ हजार ९ सय जना संक्रमण भएको छ । ती मध्ये १ हजार २ सय ३५ जना निको भएका छन् ।
