काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण भएको छ ।
शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका उनीहरूको शनिबार रिपोर्ट आएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
शुक्रबार स्वाब दिएको र शनिबार रिपोर्ट आएको रिमाल, भट्टराई र थापाले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । उनीहरूले आफ्नो सम्पर्कमा आएकाहरूलाई स्वास्थ्य सचेतता अपनाउन आग्रह गरेका छन् ।
रिमालले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, 'हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना पोजेटिभ देखियो । यस बीच मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु ।'
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।
प्रमुख स्वकीय सचिव भण्डारीले संक्रमित कसैलाई पनि कोरोना भाइरसको लक्षण नदेखिएको बताएका छन् । संक्रमित सबै होम आइसोलेसनमा रहेको उनले जानकारी दिए ।
यसअघि प्रधानमन्त्रीको निजी सचिवालयमा रहेका केही व्यक्तिमा कोरना संक्रमण भएको थियो । प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको थियो भने प्रधानमन्त्रीको निजी सचिवालयमा फोटो पत्रकारका रूपमा कार्यरत राजन काफ्लेलाई पनि कोरोना संक्रमण भएको थियो ।
