सक्रिय संक्रमित २० हजार नाघे

सरकारले व्यवस्थापन गर्न नसक्ने घोषणा गरेको संख्यालाई भेट्टाउन अब ४ हजार ६ सय ४ मात्रै बाँकी छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — देशभर सक्रिय कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । सोमबारसम्मको तथ्यांकअनुसार २० हजार ३ सय ९६ जना सक्रिय संक्रमित छन् । सरकारले व्यवस्थापन गर्न नसक्ने घोषणा गरेको संख्यालाई भेट्टाउन अब ४ हजार ६ सय ४ मात्रै बाँकी छ ।

सक्रिय संक्रमित २० हजार नाघे

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमित २५ हजार जना नाघेमा व्यवस्थापन गर्न नसक्ने असोज ७ मै घोषणा गरेको थियो ।

स्वास्थ्य सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी भए व्यवस्थापन गर्न नसक्ने भन्दै बन्दाबन्दी (लकडाउन) गर्नुपर्ने सिफारिस गरेको थियो । मन्त्रालयको निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. जागेश्वर गौतमले भनेका थिए, ‘संक्रिय संक्रमित २५ हजारभन्दा बढी हुँदा हाम्रो पूर्वाधार र स्वास्थ्यसम्बन्धी निकायले व्यवस्थापन गर्न गाह्रो हुने भएकाले देशलाई बन्दाबन्दी गर्न मन्त्रालयले सिफारिस गर्ने निर्णय भएको छ ।’

स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमित १८ हजार पुग्दै यो निर्णय गरेको थियो । पछिल्ला ६ दिनमा २ हजार ६ सय ८२ संक्रिय संक्रमित थपिएका छन् । सक्रिय संक्रमितमध्ये उपत्यकामा मात्रै ११ हजार २ सय ७४ जना अर्थात् ५५.२७ प्रतिशत छन् । काठमाडौंमा मात्रै ९ हजार १ सय ५३ जना छन् ।

संक्रिय संक्रमितको संख्या दिनहुँ बढेपछि स्वास्थ्य मन्त्रालयले बन्दाबन्दी गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ । ‘२५ हजार जनाभन्दा बढी सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने सिफारिस आइपुगेको छ,’ गृह प्रवक्ता चक्रबहादुर बुढाले भने, ‘बन्दाबन्दीको निर्णय सरकारले गर्ने हो ।’

असोज १ मा १६ हजार सक्रिय संक्रमित थिए । शनिबार १९ हजार १९ जना सक्रिय संक्रमित रहेकामा सोमबार २० हजार कटेका छन् । मन्त्रालयका अनुसार यो अहिलेसम्मकै बढी संक्रिय संक्रमित हुन् । १० हजार ७ सय ७ जना घरमा आइसोलेसनमा छन् भने ९ हजार ६ सय ८९ जना अस्पतालको आइसोलेसनमा छन् । अस्पतालमा रहेकामध्ये २ सय १३ जना आईसीयूमा र ३४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कोरोनाले थप ९ को मृत्यु

कोरोनाबाट मंगलबार ९ जनाको मृत्यु पुष्टि भएको छ । बाँकेको नेपालगन्ज–७ रानीतलाउका ३९ वर्षीय र कोहलपुर नगरपालिका–१० का ५३ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । ३९ वर्षीय उनी नेपालगन्ज मेडिकल कलेजका कर्मचारी थिए । प्लाज्मा थेरापीबाट उपचार गराई उनलाई भेन्टिलेटरमा राखिएको थियो । कोहलपुरका पुरुषमा भने मधुमेहको समस्या थियो । बाँकेकै ७६ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान मोरङको सुनवर्षी–७ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको हो । सर्लाहीको बरहथवा–६ की ७० वर्षीया महिलाको वीरगन्जस्थित नारायणी अस्पतालमा मंगलबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर आइतबार उनी अस्पताल भर्ना भएकी थिइन् । चितवनका ५५ वर्षीय पुरुष, काठमाडौंका ६० र ७० वर्षीया पुरुष तथा ५७ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

प्रकाशित : आश्विन १४, २०७७ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?