पीसीआर परीक्षण १० लाख नाघ्यो

आश्विन १३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा पीसीआर परीक्षणको संख्या १० लाख नाघेको छ । नियमित मिडिया ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १० हजार ८ सय ९१ परीक्षणहरु भएसँगै पीसीआर परीक्षणको संख्या १० लाख नाघेको हो । 

मंगलबारसम्म नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षणको संख्या १० लाख ९ हजार २ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय विभिन्न जिल्ला अस्पतालहरुमा स्थानीय तहको सहयोगमा पीसीआर ल्याब स्थापना हुन थालेपछि मुलुकभर दैनिक १० हजारको हारहारीमा पीसीआर परीक्षण भइरहेको छ ।

मंगलबारसम्म २ सय १३ जना कोरोना संक्रमित आईसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेकको मन्त्रालयले जनाएको छ । वाग्मती प्रदेशमा सबैभन्दा धेरै संक्रमितहरुको भेन्टिलेटर र आईसीयूमा उपचाररत छन् । यस प्रदेशमा १ सय १० जना आईसीयूमा र २६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हालसम्म नेपालमा ७६ हजार २ सय ५८ जनामा कोरोना संक्रमण देखिएको छ भने कोरोनाबाट निको हुनेको संख्या ५५ हजार ३ सय ७१  पुगेको छ । कूल संक्रमितको ७२.६  प्रतिशत निको भएका हुन् । 

मुलुकभर सक्रिय कोरोना संक्रमिको संख्या २० हजार ३ सय ९६ जना रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully