कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

साढे दुई करोड खोप ल्याउन पहल

रूसी खोप भित्र्याउनेबारे एक औषधि उत्पादक कम्पनीले सम्झौता गरे पनि यसबारे जानकारी नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अतुल मिश्र

काठमाडौँ — रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ) र नेपालको ट्रिनिटी फर्मास्युटिकल्सबीच दुई करोड ५० लाख डोज कोरोनाको खोप आपूर्ति गर्ने सहमति भएको छ । आरडीआईएफद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार यो खोप नेपालका ९० प्रतिशत जनसंख्यालाई पुग्नेछ ।

साढे दुई करोड खोप ल्याउन पहल

खोप हाल तेस्रो अर्थात् अन्तिम चरणमा परीक्षणको क्रममा छ । तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र सरकारले मान्यता दिएपछि मात्रै रुसमा विकसित खोप ‘स्पुतनिक–५’ नेपाल आउनेछ ।

खोप ल्याउने सम्झौताबारे नेपाल सरकारलाई भने औपचारिक जानकारी छैन । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सम्झौताका विषयमा कुनै जानकारी नरहेको बताए । ‘कुनै पनि नयाँ खोप नेपालमा प्रयोग गर्न पाइँदैन, अन्तिम अवस्था (थर्ड फेज) को खोप ट्रायल गर्न मात्र दिइएको छ,’ उनले भने, ‘त्यो पनि स्वास्थ्य अनुसन्धान परिषद्को समन्वय र दिशानिर्देशअनुसार प्रयोग गर्न सकिन्छ ।’

आरडीआईएफको प्रेस सेक्रेटरी आर्सेनी पालागिनसले नेपाल सरकारले अनुमति दिएपछि खोप दिनेबारे तय हुने कान्तिपुरलाई इमेलमार्फत बताएका छन् । ‘खोप आपूर्तिको मितिबारे नेपाल सरकारले मान्यता दिने कुरासँग निर्भर हुनेछ,’ उनले भने । ट्रिनिटी निकट स्रोतले नेपालका तर्फबाट खोप आयात गर्न सम्पर्क गरेको बतायो । नेपालमा बिक्रीवितरण गर्न सक्ने कम्पनीको रूपमा फन्डले ट्रिनिटीसँग सम्झौता गरेको हो । यो सम्झौता काठमाडौंस्थित रसियन दूतावासको सहयोगमा भएको स्रोतको भनाइ छ ।

‘नेपालको ट्रिनिटी फर्मास्युटिकल्सलाई सम्झौताका लागि धन्यवाद । नेपालको ९० प्रतिशत जनसंख्यालाई ‘स्पुतनिक–भी’ खोप प्रदान गरिने छ,’ आरडीआईएफका सीईओ किरिद दमित्रिएभको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख गरिएको छ । फन्डले जारी गरेको विज्ञप्तिमा ट्रिनिटीका निर्देशक किशोर अधिकारीले यो घोषणा गर्न पाउँदा उत्साहित भएको बताएको उल्लेख छ ।

यसअघि नेपालका लागि रुसी राजदूत एलेक्सी नोभिकभले खोप उपलब्ध गराउन सकिने बताएका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत अगस्ट ११ मा रुसका वैज्ञानिकहरूले कोभिडको पहिलो खोप ‘स्पुतनिक–५’ विकसित गरेको घोषणा गरेका थिए । उनले आफ्नी छोरीमा सो खोप परीक्षण गरेको उल्लेख गर्दै धेरै प्रभावकारी र शरीरमा स्थायी प्रतिरोधक क्षमता विकसित गरेको बताएका थिए । गामालेया नेसनल रिसर्च इन्स्टिच्युट अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले यो खोप विकास गरेको हो । खोपलाई रुसको स्वास्थ्य मन्त्रालयले अनुमति दिइसकेको छ ।

डब्लूएचओले मान्यता दिएपछि फन्डले कागजात ल्याउने र त्यसपछि औषधि व्यवस्था विभागले मान्यता दिएपछि खोप आयात गर्न बाटो खुल्ने कम्पनीले जनाएको छ । कम्पनीले त्यसपछि मात्र खोपको मूल्य निर्धारण हुने जनाएको छ ।

क्लिनिकल ट्रायलबारे निर्णय भएको छैन

कोभिड खोपको अन्तिम अवस्थाको क्लिनिकल ट्रायलका लागि केही साताअघि प्रक्रिया सुरु गरिएको थियो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले क्लिनिकल ट्रायलका लागि रुसमा पत्राचारसमेत गरेको थियो । ‘रुसको खोप आपूर्तिबारे हामीलाई कुनै जानकारी छैन,’ परिषद्का सदस्य सचिव डा.प्रदीप ज्ञवालीले भने, ‘यसअघि स्पुतनिक खोपको परीक्षणबारे रुसको निकायसँग छलफल भए पनि हालसम्म यसबारे कुनै निर्णय भएको छैन ।’ खोप परीक्षण गर्नेबारे परिषद् र नेपालका लागि रुसका राजदूत नोभिकभबीच कुराकानी भएको थियो । रुसमा निर्मित खोप नेपालमा ‘क्लिनिकल ट्रायल’ का लागि ल्याउन आग्रह गर्दै परिषद्ले राजदूत नोभिकभलाई केही साताअघि पत्र लेखेको थियो ।

स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी आधिकारिक निकाय ‘बाल स्वास्थ्य तथा खोप शाखा’ ले सामान्य अवस्थामा डब्लूएचओले मान्यता दिएको खोप मात्र प्रयोग गर्दै आएको जनाएको छ । ‘रुसको खोप ल्याउनेबारे हालसम्म कुनै जानकारी छैन,’ खोप शाखाका प्रमुख डा.झलक शर्मा गौतमले भने, ‘हामीले पनि कुन खोप कसरी आउँँदै छ भन्नेबारे नजिकबाट अवलोकन गरिरहेका छौं ।’

नेपालले कानुनअनुसार डब्लूएचओले मान्यता दिएको खोप मात्र प्रयोग गर्नुपर्छ । महामारीमा खोप प्रयोग गर्नुपरे विशेष प्रक्रिया पुर्‍याउनुपर्छ । त्यस्तो खोप प्रयोग गर्दा नेपालको निकायमा दर्ता हुनुपर्छ ।

प्रकाशित : आश्विन १४, २०७७ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?