कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विद्यालय खुले, मास्क छैन

अर्जुन शाह

बाजुरा — विद्यार्थी न शिक्षक, कसैको मुखमा मास्क छैन । विद्यालयमा न हात धुने व्यवस्था छ, न सेनिटाइजर नै । कोरोना महामारीकै बीच बूढीगंगा नगरपालिकास्थित धुराल्सैन माध्यमिक विद्यालय सञ्चालन भएको एक साता भयो । ६ महिनापछि विद्यालय खुलेकाले विद्यार्थीहरू उत्साहित त छन्, तर आधारभूत स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको देखिँदैन ।

विद्यालय खुले, मास्क छैन

‘मास्क किनेर लगाऊँ भने किन्ने पैसा छैन,’ कक्षा १० मा पढ्ने पुष्पा तिमिल्सिनाले भनिन्, ‘मास्क लगाउनुपर्छ, हात धुनुपर्छ, नभए सेनिटाइजर प्रयोग गर्नुपर्छ भन्ने थाहा भएर मात्र के गर्नु ? ।’ धुराल्सैनमा अध्ययनरत पुष्पा मात्रै होइन, आर्थिक रूपमा कमजोर अभिभावकले आफ्ना छोराछोरीलाई विद्यालय पठाउँदा मास्क किनेर लगाइदिने सामर्थ्य नराख्ने प्रधानाध्यापक महासिंह थापाले बताए ।

यहाँ ४ सय जनाभन्दा बढी विद्यार्थी पढ्छन् । ‘हामीले सबै विद्यार्थीलाई अनिवार्य रूपमा मास्क लगाएर आउन त भन्छौं । तर अधिकांश अभिभावकहरूको मास्क किनेर दिने अवस्था पनि छैन,’ थापाले भने, ‘विद्यालय आफैंले मास्क र सेनिटाइजर किनेर दिने अवस्था पनि छैन ।’ सुरुको दिन त एक/एकवटा मास्क दिएको उनले बताए ।

यो विद्यालय बाजुरामा जिल्ला बाहिरबाट आएका धेरैलाई राखिएको क्वारेन्टाइन स्थल पनि हो । यहाँ क्वारेन्टाइनमा रहँदा एक बालिकाको कोरोना संक्रमणका कारण मृत्युसमेत भएको थियो । क्वारेन्टाइन हटाएर हाल विद्यालय सञ्चालन गरिए पनि पानीको अभाव भन्दै हातधुने व्यवस्थासमेत छैन । यसले थप जोखिम बढाएको पुष्पाको गुनासो छ । ‘समय–समयमा साबुनपानीले हात धुन पाए पनि हुन्थ्यो । हाम्रो विद्यालयमा त्यो सुविधा पनि छैन,’ उनले भनिन् । लकडाउनयता बन्द जिल्लाका अधिकांश विद्यालयहरूमा अहिले पठनपाठन सुरु भएको छ । तर सम्बन्धित स्थानीय तह, शिक्षक, अभिभावक तथा व्यवस्थापन समितिहरूले विद्यालय सञ्चालन गर्दा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्डहरूमा भने ख्याल गरेका छैनन् ।

बूढीगंगा नगरपालिकामै रहेको झाली आधारभूत विद्यालयमा दुई महिनासम्म भारतबाट आएकाहरूलाई राखिएको थियो । जसमध्ये १४ जनामा संक्रमण पुष्टि भए पनि पुनः जाँच नगरी घर पठाइएको थियो । उनीहरूको सम्पर्कमा आएका कसैको पनि जाँच भएन । यस्तोमा क्वारेन्टाइन बनाइएको विद्यालयलाई निर्मलीकरण नगरी सञ्चालनमा ल्याइयो ।

तीन कक्षासम्म पढाइ हुने यस विद्यालयमा डेढ सय बालबालिका पढ्छन् । लामो समयपछि विद्यालय खुलेकाले विद्यार्थीहरू उत्साहित त छन् तर विद्यालय आउँदा कसैले मास्क लगाउँदैनन् । ‘कपडाकै भए पनि मास्क लगाएर आउनू भन्ने गरेका छौं तर कसैले लगाउँदैनन्,’ शिक्षिका उज्याली विकले भनिन्, ‘विपन्न परिवारका बालबालिका अध्ययनरत भएकाले उनीहरूका अभिभावकले मास्क किनेर विद्यालय पठाउने अवस्था पनि छैन ।’ उनले विद्यालयमा पर्याप्त ठाउँ नभएकाले भौतिक दूरी कायम गराएर पढाउनसमेत नसकिएको स्विकारिन् । उनका अनुसार पानीको प्रबन्ध नहुँदा यहाँ पनि हात धुने व्यवस्था छैन ।

‘म्याडमले मास्क लगाएर आउनू भनेको छ, किनिदिनुस् भनेर छोरीले जिद्दी गर्छे,’ झालीकी स्थानीय बिस्ना लोहारले भनिन्, ‘सहारा केही नभएकी मैले बालबच्चाको छाक त अरूको घरबाट मागेर चलाउँछु, मास्क किन्न पैसा कहाँबाट पाउनू ?’ समुदायमा धेरैको आर्थिक अवस्था विस्नाभन्दा फरक नभएको शिक्षक खगेन्द्र कुटवाल बताउँछन् । बूढीगंगाका नगर प्रमुख दीपकविक्रम शाहले विद्यालय सञ्चालन गर्दा आवश्यक स्वास्थ्य सतर्कता अपनाउन भने पनि लथालिंग अवस्था देखेको स्विकारे ।

छेडेदह गाउँपालिकास्थित भवानी माविमा स्वास्थ्य सुरक्षा सतर्कताको अवस्था झनै कमजोर छ । शिक्षक पदमबहादुर रावतका अनुसार अभिभावकको कमजोर आर्थिक अवस्था र बजारमा सर्वसुलभ रूपमा नपाइँदा मास्क लगाउनुपर्ने नियम कार्यान्वयन हुन सकेको छैन । ‘गाउँघरमा सारै लापरबाही छ । भारतबाट दिनहुँ आएकै छन्,’ उनले भने, ‘न परीक्षण छ, न त सतर्कता नै ।’ किन्न चाहनेले समेत बजारमा मास्क, सेनिटाइजर, पन्जा पाउँदैनन् । टाँटे स्वास्थ्य चौकीका अहेब मीनबहादुर कटुवाल भन्छन्, ‘सबैतिर पसलमा सर्जिकल मास्क पाइँदैन । पाइयो भने पनि एउटाको १५ रुपैयाँ लिन्छन् ।’

प्रकाशित : आश्विन १३, २०७७ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?