६१ वर्षमाथिको उमेर समूहमा संक्रमण बढ्नु चिन्ताको विषय- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६१ वर्षमाथिको उमेर समूहमा संक्रमण बढ्नु चिन्ताको विषय

महिला संक्रमित हुने दर पनि उकालो लाग्दै
कोरानाको अंक कथा
स्वरूप आचार्य

काठमाडौँ — चैत ११ गतेदेखि लगाइएको लकडाउनलाई साउन ७ गतेबाट खुकुलो बनाइएको थियो । लकडाउन खुकुलो हुने अघिल्लो दिन साउन ६ गते कोरोना संक्रमितहरुको संख्या १७ हजार ९ सय ९४ रहेको थियो । त्यसमा पनि २० वर्षभन्दा कम उमेर समूहका २०.५ प्रतिशत संक्रमित थिए भने २१ देखि ४० वर्षसम्मको उमेर समूहका ६३.६ प्रतिशत संक्रमित थिए । यस्तै ४१–६० वर्ष उमेर समूहका १४.२ प्रतिशत संक्रमित हुँदा ६१ वर्षभन्दा माथि उमेर भएकाहरु केवल १.६ प्रतिशत मात्रै संक्रमित थिए ।

त्यसबेला संक्रमण पूर्ण रुपमा युवा समूहमा मात्रै केन्द्रित थियो । सरकारले त्यससमयमा संक्रमित भेटिएकामध्ये अधिकांश भारतबाट नेपाल फर्किएकाहरु रहेको सार्वजनिक रुपमा नै बताएको थियो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकमा २० वर्षभन्दा मुनीका सबै उमेरलाई एकै स्थानमा गणना गरिएको छ । त्यो तथ्यांक अनुसार झण्डै २१ प्रतिशत संक्रमति २० वर्षसम्मको उमेर समूहमा रहेको जिकिर गरेपनि अधिकांश संक्रमित भारतमा काम गर्न जान सक्ने उमेर समूह (१६ देखि २० वर्ष)का भएको हुनुपर्छ भनेर सोझो अनुमान लगाउन सकिन्छ ।

लकडाउन खुकुलो पारिएको करिब ३७ दिनपछि भदौ ११ गते कुल संक्रमितहरुको संख्या दोब्बर भएर ३५ हजार २ सय २९ पुगेको थियो । यो समयमा माथि उल्लेखित चारवटा उमेर समूहकै तथ्यांकलाई पुनः विश्लेषण गर्दा २० वर्षसम्मको उमेर समूहमा संक्रमित हुने दर घटेर १५.६ प्रतिशत भएको देखिन्छ । यस्तै २१–४० वर्ष उमेर समूहका संक्रमितको संख्या पनि थोरै घटेर ६०.९ प्रतिशतमा झरेको देखिन्छ । तर, ४१–६० वर्ष उमेर समूहमा संक्रमित हुनेको संख्या भने केही बढेर १९.१ प्रतिशत पुगेको देखिन्छ । यसका साथै संक्रमणले सबैभन्दा धेरै गम्भीर असर पुर्‍याउने ६१ वर्षभन्दा माथिका उमेर समूहका ३.९ प्रतिशत संक्रमित भएको देखिन्छ । यो उमेर समूहको सापेक्ष अनुपात हेर्दा २.४ गुणाले वृद्धि भएको देखिन्छ ।

यसको मतलब साउन ६ गते १०० जनामा ६१ वर्ष माथिका २ जना मात्रै संक्रमित थिए भने भदौ ११ मा त्यो संख्या बढेर १०० मा ४ पुग्यो भन्ने हो ।


नेपालमा काेभिड-१९ संक्रमितहरुको उमेर र लिंगका आधारमा विश्लेषण

तर, यो तथ्यांकलाई थप विश्लेषण गर्दा २० वर्षसम्मको उमेर समूहमा ५०.७ प्रतिशतले संक्रमित हुनेहरुको संख्यामा तुलनात्मक वृद्धि भएको देखियो । यस्तै २१–४० वर्ष उमेर समूहमा ९.० प्रतिशतले तथा ४१–६० वर्ष उमेर समूहमा १६५.१ प्रतिशतले संक्रमित हुनेहरुको संख्यामा तुलनात्मक वृद्धि भएको देखियो । ६१ वर्षभन्दा माथिको उमेर समूहमा भने सबैभन्दा धेरै ३८२.५ प्रतिशले संक्रमित हुनेको संख्यामा तुलनात्मक वृद्धि भएको देखियो ।

भदौ ११ गतेको संक्रमित संख्या असोज १० गते दोब्बर भएर ७१ हजार ८ सय २१ पुगेको थियो । त्यो दिन २० वर्षसम्मको उमेर समूहका कुल १२.८ प्रतिशत, २१–४० वर्ष उमेर समूहको ५८.४ प्रतिशत, ४१–६० वर्ष उमेर समूहका २१.९ प्रतिशत तथा ६१ वर्षभन्दा माथिका ६.०६ प्रतिशत व्यक्तिहरु संक्रमित भएको देखिन्छ । भदौ ११ गतेको तथ्यांकसँग तुलना गरेर हेर्दा २० वर्षभन्दा कम उमेर समूहमा ६५.५ प्रतिशत, २१–४० वर्ष उमेर समूहमा ९४ प्रतिशत, ४१–६० वर्ष उमेर समूहमा १३२ प्रतिशत तथा ६१ वर्षभन्दा माथिको उमेर समूहमा २१५ प्रतिशतले संक्रमित हुनेहरुको संख्यामा तुलनात्मक वृद्धि भएको देखिन्छ ।

यही तथ्यांकलाई साउन ६ गतेको तथ्यांकसँग तुलना गर्ने हो भने २० वर्षसम्मको उमेर समूहमा १४९.५ प्रतिशतले संक्रमित हुनेको संख्यामा तुलनात्मक वृद्धि भएको छ । २१–४० उमेर समूहमा २६६.७, ४१–६० वर्ष उमेर समूहमा ५१७.३ प्रतिशतले संक्रमित हुनेको संख्यामा तुलनात्मक वृद्धि भएको देखिन्छ । सबैभन्दा अधिक ६१ वर्षभन्दा माथिको उमेर समूहमा १४२२.७ प्रतिशतले संक्रमित हुनेको संख्यामा तुलनात्मक वृद्धि भएको देखिन्छ ।

यो तथ्यांक अनुसार ६१ वर्षभन्दा माथिको उमेर समूहमा लकडाउन खुकुलो पारेसँगै संक्रमित हुनेको संख्या अत्याधिक वृद्धि भएको देखियो । साउन ६ गते लकडाउन खुल्दा १.६ प्रतिशत मात्रै संक्रमित रहेको यो समूहका असोज १० सम्म आइपुग्दा ६.०६ प्रतिशत व्यक्ति संक्रमित भएको तथ्यांकले बताउँछ । साथै, ६१ वर्षभन्दा माथिको उमेर समूहमा पनि महिला संक्रमितको संख्या साउन ६ गतेको तुलनामा १६६५ प्रतिशतले बढेको छ भने पुरुष संक्रमितको संख्या १३०२ प्रतिशतले बढेको छ ।

प्राय, घरमै रहने ६१ वर्षभन्दा माथि उमेर समूहमा संक्रमण बढ्नु भनेको समग्रमा अस्पताल तथा स्वास्थ्य संरचनामा नै दबाब बढ्नु हो । नेपाली समाजको परिपेक्षमा कुरा गर्दा यो उमेर समूहकाहरु प्राय सबैमा कुनै न कुनै प्रकारको दीर्घ रोगसमेत हुने गरेकाले जोखिम पनि उत्तिकै बढाउँछ ।


महिला संक्रमितको संख्या बढ्दै

नेपालमा महिलाको तुलनामा पुरुषहरु बढी संक्रमित हुने गरेका छन् । हालसम्म भेटिएका कुल ७१ हजार ८ सय २१ संक्रमित मध्ये ५२ हजार ५ सय ५१ जना पुरुष छन् भने १९ हजार २ सय ७० जना महिला छन् । तर, हालसम्मको तथ्यांकलाई आधार मानेर विश्लेषण गर्दा साउनको पहिलो सातादेखि महिला संक्रमितहरुको संख्या पनि विस्तारै उकालो लाग्न थालेको देखिन्छ ।



साउन ६ गते लकडाउन खुकुलो पार्दा २५ सय ७९ महिला संक्रमित थिए भने पुरुष संक्रमितको संख्या १५ हजार ४ सय १५ थियो । कुल संक्रमितको संख्या दोब्बर हुँदा महिला संक्रमितको संख्यामा पनि उच्च वृद्धि भएको देखिन्छ । भदौ ११ गते संक्रमित महिलाको संख्या साउन ६ गतेको तुलनामा १८६.१२ प्रतिशतले बढेर ७ हजार ३ सय ७९ पुगेको देखिन्छ । यसमा पनि ६१ वर्षभन्दा माथि उमेर भएका महिला संक्रमितको संख्या ४०१.०५ प्रतिशतले बढेको देखिन्छ ।

भदौ ११ गतेको कुल संक्रमितको संख्या असोज १० गतेसम्म आइपुग्दा दोब्बर भएर ७१ हजार ८ सय २१ हुँदा महिला संक्रमितको संख्यामा पनि १६१.१५ प्रतिशतले वृद्धि भएको देखिन्छ। असोज १० गतेको तथ्यांकलाई भदौ ११ गतेको तथ्यांकसँग तुलना गर्दा पनि ६१ वर्षभन्दा माथिकै महिलामा संक्रमित हुने संख्या २५२.३१ प्रतिशतले बढेको देखिन्छ ।

महिला संक्रमित हुनेको दर यसकारण पनि महत्त्वपूर्ण छ किनभने यसले घरघरमा संक्रमण पुगेकोतर्फ पनि इंगित गर्छ । नेपालमा प्राय पुरुषहरु बाहिरको काममा खटिने र महिलाहरु घरको काममा बढी व्यस्त हुने गर्छन् । यस्तै बजारमा किनमेलदेखि आवश्यकीय वस्तुको जोहो गर्ने मुख्य जिम्मा भने महिलाको हुन्छ । यस्तोमा महिलाहरुमा संक्रमण बढ्दा त्यसले एकातर्फ समाजमा पनि संक्रमण व्यप्त रहेको इसारा गर्छ भने अर्कोतर्फ महिलाबाट घरपरिवारमा संक्रमण सजिलै फैलिने हुँदा थप गम्भीर हुनुपर्ने अवस्था छ ।

यसका साथै, ६१ वर्षभन्दा माथि उमेरका वृद्धवृद्धा संक्रमित हुनु भनेको एक त अस्पतामा भर्ना भएर उपचार गराउनुपर्ने गम्भीर प्रकृतिका बिरामीको संख्यामा वृद्धि हुनु हो । अर्को कुरा, यो समूहको व्यक्तिहरु कमै मात्र हिँड्डुल हुने, हिँड्डुल भएपनि टोलछिमेकमा बढी हुने अवस्था हो । यस्तोमा उनीहरुलाई संक्रमण देखिनु भनेको पनि टोल, छिमेक र घरघरमै पनि संक्रमण विस्तार हुँदैछ भन्ने पनि त हो ।

यस्तै नेपालमा हाउसहोल्ड सेकेण्डरी अट्याक रेट (एसएआर– घरमा संक्रमण विस्तारको दर) कति छ भन्ने अहिले विश्लेषण गरिएको छैन । तर, एउटा वैज्ञानिक अध्ययनले विश्वमा यो दर १८.८ प्रतिशत रहेको दाबी गरेको छ । जुन सार्स वा मर्सको महामारीमा देखिएको दरभन्दा धेरै बढी रहेको छ । यसकारण नेपालमा पनि घरमा संक्रमण विस्तारको दर कति छ भनेर अध्ययन गर्न पनि जरुरी भइसकेको छ ।

तसर्थ, अहिलेपनि सबैभन्दा बढी संक्रमित देखिएको २१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुले आफूलाई संक्रमणले केही नगर्ने भनेर संक्रमण नियन्त्रणका लागि अति आवश्यक ‘एसएमएस’ (स्यानिटाइजेशन, मास्क, सोसियल डिस्टेन्स) कायम नगर्ने हो भने अवस्था विकराल हुनसक्छ । युवा उमेरका व्यक्तिहरुले नै कोरोना संक्रमणलाई गम्भीरता पूर्वक नलिएको कारण पनि घर, टोल, छिमेकमा संक्रमण विस्तार भइरहेको हुनसक्ने तथ्यांकले बताउँछ । त्यसैले आफ्नो घरमा संक्रमण विस्तार हुन नदिन र पाका उमेरका परिवारका सदस्यलाई सुरक्षित राख्न युवा उमेरका व्यक्तिहरुले थप सजगता अपनाउन नै उचित हुन्छ ।

(यो लेख जोन हप्किन्स हेल्थ सिस्टममा कार्यरत क्वालिटी म्यानेजर तथा चिकित्सकीय एनालाइटिक्सका विज्ञ डा. विशाल भण्डारी, ठेगानाडट सर्भिसेसका संस्थापक तथा प्रविधिविज्ञ विशाल केसी, मोलिक्यूलर तथा कोष विज्ञ डा. रोशनलाल श्रेष्ठ, विज्ञान विषयका अध्ययता दोर्जे गुरुङ, तथ्यांक विज्ञानमा रुची राख्ने सुइक्षा गौतमको प्रत्यक्ष सहयोगमा तयार पारिएको हो ।)

प्रकाशित : आश्विन १२, २०७७ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्

हिमाञ्चल केबिनका ती बन्द सटर

पाटनबाट वीरगन्ज पुगेका पदम राजकर्णिकारले थालेको मिठाई पसल तेस्रो पुस्ताका विजयसम्म आइपुग्दा व्यवसाय विस्तार मात्रै नभई वीरगन्जवासीले बिर्सनै नसक्ने बनिसकेको थियो
शंकर आचार्य

पर्सा — सबै कुरो विगतको झैं सामान्य भएको भए वीरगन्जको हिमाञ्चल केबिनको र्‍याकमा यतिबेला फिनी, अनरसा, सेल, खाजा मिठाई, लाखमरी, गुदपाकजस्ता नेवारी परिकार ग्राहकलाई पर्खिएर सजिएका हुन्थे ।


मधेसको सहरमा दसैं, तिहार र छठपर्व नजिकिएको झल्को ती परम्परागत परिकारले पनि दिन्थे । अरू बेला भारतीय, चिनियाँ र कन्टिनेन्टल परिकार केबिनमा पाइथ्यो ।

चाडबाडका बेला सजिलै पाइँदा काठमाडौंका रैथाने मानिने परिकारको स्वाद चाख्न कुर्ने वीरगन्जवासी पनि धेरै छन् । यी परिकारका अर्डर दिने थुपै्र जना हुन्थे ।

आमा र बुवाको मुख हेर्ने दिनमा नेवारी समुदायले कोसेली दिने परिकार पनि वीरगन्जमा यहीं मात्र पाइन्थ्यो । वीरगन्जका नेवार र अन्य समुदायका कतिपयले ‘हिमाञ्चल केबिनमा पाइहाल्छ नि’ भनेर पनि यस्ता परिकार आफ्नो घरमा पकाउँदैनथे । होटलका हँसमुख र फुर्तिला सञ्चालक विजय राजकर्णिकारलाई भ्याइनभ्याइ हुन्थ्यो । आमा केदारनानी र दिदी ममताले विजयलाई सक्दो सघाउँथे । नेवारी परिकार त यी जाँगरिली महिलाहरू आफैंले पनि बनाउँथे ।

त्यसकारण हिमाञ्चल केबिनको पर्वविशेषका नेवारी परिकारमा कतिपय ग्राहकले आफ्नै घरमा पकाएको जस्तो स्वादको झल्को पाउँथे ।

विजय, केदारनानी र ममता ।

महानगरमा धेरैको प्रिय हिमाञ्चल केबिनमा यो दृश्य अहिलेका लागि भने दुर्लभ भएको छ । वीरगन्जको घण्टाघर–माईस्थान चोक बीचको व्यस्त क्षेत्रमा पहिले कहिल्यै बन्द नदेखिने केबिन बन्द छ । सामान्य दिनमा पनि सधैं भीड रहने ६ दशक पुरानो केबिनका सटरमा ताला झुन्डिएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै छेउछाउका सबै पसलका सटर उघ्रिएका छन् । हिमाञ्चल केबिन अब खुल्छ कि खुल्दैन भन्नेमा धेरै पारखी वरपरका पसलेलाई सोधिरहेका देखिन्छन् ।

हिमाञ्चल केबिन भवन मर्मत, रङरोगनका लागि बन्द भएको होइन । कोरोना संक्रमणले सञ्चालक परिवारमा पारेको चोटले बन्द भएको हो । वीरगन्जका व्यवसायीमध्ये सधैं परिवारै मिलेर आफ्नो कर्ममा जुट्ने, खुसी भेटिने राजकर्णिकार परिवारले तीन सदस्यलाई डेढ महिनाका अन्तरालमा गुमायो । सुरुमा ४६ वर्षीय विजय, त्यसपछि उनकी ८० वर्षीया आमा केदारनानी र ५२ वर्षीया दिदी ममताको निधन भएपछि हिमाञ्चल केबिन बन्द रहेको हो । कोरोना संक्रमणपछि राजधानीमा उपचारका क्रममा उनीहरूको निधन भएयता परिवार शोकमग्न छ ।

विजय र ममता होटल व्यवसायमा मात्र सीमित थिएनन् । उनीहरू स्कुल, पार्टी प्यालेस, सहकारी जस्ता व्यवसायमा जमिसकेका थिए । वीरगन्ज जेसिसको अध्यक्ष रहिसकेका विजयले सामाजिक क्षेत्रमा पनि राम्रो पहिचान बनाएका थिए । ममता पनि स्कुलको सञ्चालनदेखि महिला सशक्तीकरण र उनीहरूको दक्षता वृद्धिका लागि थुप्रै काम गरिसकेकी थिइन् ।

विजयका हजुरबुवा पदम राजकर्णिकारले थालेको हिमाञ्चल केबिनको जमेको होटल व्यवसायलाई बुवा ओमकृष्णराज कर्णिकारले जीवनभर धानेका थिए । करिब डेढ दशकअघि उनको निधनपछि व्यवसाय विजयको काँधमा आएको थियो । जसलाई उनले कुशलता अघिमात्रै बढाएका थिएनन्, अन्य व्यवसाय पनि विस्तार गर्दै सामाजिक क्षेत्रमा पनि आफ्नो परिवारको सहभागिता बढाएका थिए । काठमाडौंको पाटन दरबार क्षेत्र पुख्र्यौली रहेको राजकर्णिकार परिवारको चौथो पुस्ता पनि वीरगन्जमै हुर्किसकेको थियो । विजयका दुई छोरी यही जन्मेहुर्केका हुन् । दिदी ममता भने अविवाहित थिइन् ।

पानीटंकी निवासी दिलीपराज कार्की भन्छन्, ‘कोरोना कहरले हेर्दाहेर्दैै एउटा सुखी सम्पन्न परिवारका ३ सदस्य लगेपछि हामीजस्ता वीरगन्जवासी धेरैजना दु:खी छौं ।’ अकल्पनीय घटना भएको उनले बताए । ‘हामीले देख्ता सुखी सम्पन्न परिवारको हाँसो र खुसी कोरोनाले एकै साथ लग्यो,’ उनले भने ।

होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त कोरोना कहरले होटल व्यवसायमा समर्पित वीरगन्जकै एक पुरानो व्यावसायिक घरानालाई नराम्रोसँग धक्का दिएको बताउँछन् । ‘राजकर्णिकार परिवारको तेस्रो पुस्ता थिए विजय र ममता । वीरगन्जको होटल व्यवसाय क्षेत्रमा उहाँहरूको भूमिका महत्त्वपूर्ण थियो,’ उनले भने, ‘एउटा व्यावसायिक घरानाको लिगेसीलाई सम्मानजनक रूपमा धान्दै आउनु र व्यवसायलाई अझै परिमार्जित गर्दै लानु आफैंमा गर्वलायक कुरो हो ।’

हिमाञ्चल केबिनका समोसा र मोमोका पारखी मनोज उपाध्याय खबर सुनेर नरमाइलो लागेको बताउँछन् । ‘हामी हिमाञ्चल केबिनका नियमित ग्राहक मात्र थिएनौं, आफ्ना घरमा आउने पाहुनालाई वीरगन्ज घुमाउँदा त्यही पुगेर खाजा खुवाउँथ्यौं,’ उनले भने, ‘मधेसको सहरका उहाँहरूले इमानदारीपूर्वक व्यवसाय गरेर बेग्लै खालको पहिचान बनाउनु भएको थियो ।’

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष तथा वीरगन्ज जेसिसमा विजयसँग सहकार्य गरिसकेका गोपाल केडिया कोरोना कहरले वीरगन्जलाई ठूलो क्षति पुर्‍याएको बताउँछन् । ‘उहाँहरूको निधनले राजकर्णिकार परिवारमा मात्रै होइन वीरगन्ज सहरकै लागि अपूरणीय क्षति भएको छ,’ उनले भने, ‘वीरगन्जले विजय र ममताका रूपमा दुई प्रतिभाशाली व्यवसायी र सामाजिक व्यक्तित्वहरूलाई गुमायो ।’

प्रकाशित : आश्विन १२, २०७७ २१:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×