संक्रमितको घर सफाइमा अन्योल

मकर श्रेष्ठ

काठमाडौँ — सरकारले लक्षण नभएका कोरोना संक्रमितलाई घर र होटलमै बस्न जोड दिने गरेको छ । संक्रमितले पनि अस्पताल र आइसोलेसन सेन्टरभन्दा घर नै रोज्न थालेका छन् । अन्यत्रको तुलनामा घरमै स्याहार हुने भएकाले घर रोजेका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म ८ हजार ६ सय ९० जना होम आइसोलेसनमा छन् ।

संक्रमितको घर सफाइमा अन्योल

घरमा संक्रमित भेटिएपछि र होम आइसोलेसन बस्दा सरसफाइ र फोहोर व्यवस्थापन गर्ने तरिका थाहा नहुँदा संक्रमितका परिवार अन्योलमा छन् ।

घरमै बस्ने संक्रमित बढे पनि घर, कोठा वा संक्रमित देखिएको स्थानको सरसफाइ, फोहोर व्यवस्थापन र निसंक्रमीकरण कसरी गर्ने भन्ने सरकारी निकायले बुझाउन सकेका छैनन् । ‘साबुनपानीले हात धुँदा कोरोनाबाट बच्न सकिन्छ भने घरमा पनि फिँज आउने सरफ, साबुनपानीले सफाइ गर्दा उपयुक्त हुन सक्छ,’ संक्रमण रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने, ‘फोहोर व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण छ । अरू बेलाजस्तै संक्रमित बसेको र देखिएको घरको फोहोर भने छुट्टै व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’

अस्पतालको फोहोरमा कीटाणु मारेर मात्रै व्यवस्थापन गरिन्छ तर घरको फोहोर भने सिधै गाडीमा हाल्ने गरिन्छ । ‘संक्रमित बसेको घरको फोहोर यसरी अरू बेलाकै जस्तो गाडीमा हाल्दा व्यवस्थापनमा खटिएकाहरू संक्रमित हुन सक्छन्,’ उनले भने । संक्रमित बसेको घरको कुहिने फोहोर गाड्ने र नकुहिने फोहोर जलाउनुपर्ने विज्ञहरूको सुझाव छ । संक्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा निस्केका छिटाहरू सतहमा रहँदा अन्य व्यक्तिले छोएर सफाइ गरेमा रोग सर्न सक्ने विज्ञहरूले बताउँदै आएका छन् । स्वास्थ्य मन्त्रालयले डिस्इन्फेक्सन सम्बन्धी मार्गदर्शन जारी गरेको छ । तर मन्त्रालयको वेबसाइटमा राख्नेबाहेक प्रचार गरेको छैन ।

मार्गदर्शनअनुसार कपडा र काठमा एक दिन, सिसामा २ दिन, स्टिल वा प्लास्टिकमा ४ दिन र मेडिकल मास्कको बाहिरी सतहमा सात दिनसम्म कोरोनाका जीवाणु रहने उल्लेख छ । डा. पुनले भनेजस्तै सरसफाइ गर्न साबुनपानी वा डिटरजेन्ट पाउडर प्रयोग गर्न सकिने मार्गनिर्देशनमा औंल्याइएको छ । ‘सफाइ प्रक्रिया पूरा भएपछि विभिन्न सतहमा रहेका रोग लगाउने र अन्य सूक्ष्म जीवाणुहरू मार्न वा निष्क्रिय पार्न कीटनाशक प्रयोग गर्नुपर्ने हुन्छ,’ स्वास्थ्य मन्त्रालयको नर्सिङ महाशाखा प्रमुख रोशनी तुइतुइले भनिन् । संक्रमित अस्पताल वा आइसोलेसन सेन्टरमा पठाउँदा होस् वा होम क्वारेन्टाइनमा बस्दा पनि सफाइलाई ध्यान दिनुपर्ने उनले बताइन् ।

संक्रमित रहेको कोठा र बाथरुममा कम्तीमा एक पटक डिटरजेन्ट प्रयोग गरेर सफा गरेपछि शून्य दशमलव १ प्रतिशतको क्लोरिन (सोडियम हाइपोक्लोराइट) को झोल छर्किनुपर्ने उनले बताइन् । सरसफाइ गर्न साबुनपानी, कीटाणुनाशक (अल्कोहल वा क्लोरिन रहेको केमिकल) प्रयोग गरेमा कोरोनाको जीवाणु नष्ट गर्न सकिने उनले बताइन् । ‘धेरै छोइने सतहलाई ध्यान दिएर ढोकाको ह्यान्डल, बत्तीको स्वीच, काउन्टर, धारा खोल्ने र बन्द गर्ने टुटी, शौचालय र भुइँमा जीवाणु हुन सक्छ । सफाइ गर्दा यही ठाउँलाई बढी जोड दिनुपर्ने हुन्छ,’ उनले भनिन्, ‘यसबाहेक बिरामीको बारम्बार प्रयोग हुने अन्य साधन पनि डिस्इन्फेक्सन गर्नुपर्ने हुन्छ ।’

सफा स्थानबाटै सफाइ सुरु गरेर संक्रमितले छोएको ढोकाको ह्यान्डल, टेबल सफा गरेपछि मात्रै धेरै छोइने सतहमा सफा गर्नुपर्ने मन्त्रालयले जारी गरेको मार्गदर्शनमा उल्लेख छ । ‘सफा गर्दा माथिबाट तल सफा गर्ने जस्तै खाटका माथिका भाग सफा गरेपछि खुट्टाहरू सफा गर्नुभन्दा पहिले अन्य सतह सफा गर्नुपर्ने हुन्छ,’ मार्गदर्शनमा भनिएको छ, ‘एकपटक प्रयोग भएको डिटरजेन्ट, साबुनपानी र कीटाणुनाशक घोललाई पुनः प्रयोग गर्नुहुँदैन ।’ भुइँमा सफाइ गर्न तातो वा चिसो पानीमा सजिलै घुल्ने न्युट्रल डिटरजेन्टहरू उपयोगी हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसबाहेक झोल साबुनपानी पनि प्रयोग गर्न सकिने मार्गदर्शनमा उल्लेख छ । अल्कोहल, क्लोरिन, हाइड्रोजन पेरोअक्साइड, फेनोलिक्स आइडोफोर, पर–एसिटिक एसिड तथा क्वाटरनरी एमोनियम सरसफाइका लागि प्रयोग गर्न सकिने मन्त्रालयले जारी गरेको मार्गदर्शनमा उल्लेख छ ।

धूलो नभएको वा सफा देखिएको भुइँ, टेबल, रेलिङ, ह्यान्डल सफा गर्न शून्य दशमलव १ प्रतिशत क्लोरिन प्रयोग गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ । त्यस्तै खाली हात, धोइसकेको लुगा र भाडालाई १० देखि ३० लिटर पानीमा शून्य दशमलव शून्य पाँच प्रतिशतको क्लोरिन प्रयोग गर्नुपर्ने हुन्छ । क्लोरिनयुक्त पदार्थलाई बन्द प्लास्टिकको बट्टालाई घाम नआउने ठाउँमा राख्नुपर्ने हुन्छ । आँखा, छाला तथा श्वासप्रश्वासमा क्लोरिनले असर गर्ने भएकाले स्प्रे नगर्न सुझाव दिइएको छ । ‘प्रयोग गर्नुपरेमा घोलमा कुनै कपडा भिजाएर सफा गर्नुपर्छ,’ मन्त्रालयले जारी गरेको मार्गदर्शनमा उल्लेख छ ।

प्रकाशित : आश्विन ८, २०७७ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?