२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कोरोना संक्रमणबाट भारतीय रेल राज्यमन्त्री अंगडीको निधन

नेपाल र भारतबीचको धार्मिक र सांस्कृतिक सम्बन्धका जानकार थिए
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश चनाबसप्पा अंगडीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको ाछ । ६५ वर्षीय अंगडीको भारतको राजधानी नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ साइन्स् (एम्स्) मा उपचारका क्रममा बुधबार साँझ निधन भएको हो ।

कोरोना संक्रमणबाट भारतीय रेल राज्यमन्त्री अंगडीको निधन

मन्त्री अंगडीलाई ११ सेप्टेम्बरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने अंगडी पहिलो केन्द्रीय मन्त्री हुन् । अंगडी भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट कर्नाटकको बेलागावी निर्वाचन क्षेत्रबाट सन् २००४ देखि लगातार चार पटक निर्वाचित हुँदै आएका थिए । पछिल्लो पटक सन् २०१९ को लोकसभा चुनाव जितेपछि उनलाई नरेन्द्र मोदी सरकारमा रेल राज्यमन्त्री बनाइएको थियो । यसअघि कर्नाटककै अर्का सांसद अशोक गस्तीको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । गस्ती पनि भाजपाबाटै राज्यसभामा चुनिएका थिए ।

पछिल्ला वर्षहरुमा नेपाल र भारतबीच विभिन्न रेल परियोजनाहरुको निर्माणमा समझदारी बन्दै गएकाले मन्त्री अंगडीले दुई देशबीचको सम्बन्धमा पनि विशेष चासो राख्ने गरेका थिए । त्यसमाथि प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गमा त उनी प्रत्यक्ष रुपमा संलग्न नै थिए । भारतको संसदमा उक्त रेलमार्गसम्बन्धी भएका छलफल प्राय: जसो अंगडीले नै जवाफ दिने गरेका थिए । भारतले करिब २०० किमि लामो उक्त रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन (प्रि इन्जिनियरिङं एन्ड ट्राफिक सर्भे) टुंगो लगाएर नेपाल सरकारलाई बुझाइसकेको छ । यही अध्ययनका आधारमा विस्तृत परियोजना अध्ययन (डीपीआर) तयार पारिने बताइएको छ । र, भारतले परियोजनाको डीपीआरका लागि बजेट समेत छुट्याइएको छ ।

अंगडीले नेपाल र भारतबीचको धामिर्क एवं सांस्कृतिक सम्बन्धलाई पनि विशेष महत्व दिने गरेका थिए । विशेषगरी पशुपतिनाथका कारण नेपाल र भारतबीच विशेष सम्बन्ध रहेको उनको बुझाई थियो । गत वर्ष असारको तेस्रो साता लोकसभाको एउटा छलफलमा क्रममा सांसदहरुले रक्सौल–काठमाडौं रेलमार्गको काममा भइरहेको ढिलाइका बारेमा असन्तुष्टि पोखेपछि मन्त्री अंगडीले दुई देशबीच पशुपतिनाथका कारणले पनि विशेष सम्बन्ध रहेको भन्दै परियोजना अगाडि बढाउन भारतले गम्भीर रुपमा पहल गरिरहेको धारणा राखेका थिए । त्यतिबेला उनले पशुपतिनाथ मन्दिरका मूल पुजारी कर्नाटककै रहने परम्पराको प्रसंगसमेत कोट्याएका थिए । आफै कर्नाटकबाट प्रतिनिधित्व गर्ने भएकाले पनि त्यो परम्परातप्रति उनले विशेष खुशी व्यक्त गरेका थिए । ‘पशुपतिनाथ मन्दिरका कारण कर्नाटक र काठमाडौंबीच विशेष सम्बन्ध छ । मन्दिरमा कर्नाटकका पुजारी हुन्छन् यो हाम्रा लागि अत्यन्तै खुशीको कुरा हो । त्यही भएर पनि नेपालसँगको सम्बन्ध प्रगाढ बनाउन हामी प्रयासरत छौं,’ मन्त्री अंगडीको भनाइ थियो ।

यसबीच रेल राज्यमन्त्री अंगडीको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना प्रकट गरेका छन् । त्यसैगरी पूर्व प्रधानमन्त्री एचडी दैवगौडाले पनि मन्त्री अंगाडीको निधनमा शोक व्यक्त गरेका छन् । उनको निधनको शोकमा भारतको गृह मन्त्रालयले बिहीबार दिल्लीका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

भारतीय सञ्चारमाध्यमहरुहरुका अनुसार हालसम्म भारतमा प्रदेशका दुई जना मन्त्री, तीन संघीय सांसद र ६ जना विधायकको कोरोनाबाट ज्यान नै गुमाइसकेका छन् । १६ अगस्टमा पूर्व क्रिकेटर तथा उत्तरप्रदेश राज्यका मन्त्री चेतन चौहानको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो । ७३ वर्षीय चौहानको पनि उपचारका क्रममै निधन भएको थियो । राजनीतिमा प्रवेश गर्नुअघि चौहानको परिचय सफल क्रिकेटरका रुपमा चिनिन्थे । १२ वर्ष लामो क्रिकेट करिअरमा उनले चालीस वटा टेस्ट म्याच खेलेर दुई हजारभन्दा बढी रन बनाएका थिए । उनी भारतका अर्का चर्चित क्रिकेट सुनिल गावस्करका ओपनिङ पार्टनर थिए । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने चौहान उत्तरप्रदेश सरकारका दोस्रो मन्त्री हुन् । त्यसअघि उत्तरप्रदेशकै मन्त्री कमला रानी वरुणको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । उनी योगी आदित्यनाथ नेतृत्वको उत्तर प्रदेश सरकारमा प्राविधिक शिक्षा मन्त्री थिइन् ।

यसबाहेक भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मन्त्री, सांसद, मुख्यमन्त्री र विधायकहरुको सूची लामो छ । केन्द्रीय मन्त्रीहरु अमित शाह, नितिन गडकरी, धमेन्द्र प्रधान, गजेन्द्र सिंह शेखावतलगायत समेत कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । यद्यपि उनीहरु सबैजसो उपचारपछि निको भइसकेका छन् ।

संक्रमित हुनेमा प्रदेशका मुख्यमन्त्री, मन्त्री र विधायकहरु समेत छन् । २ अगस्टमा कर्नाटकका मुख्यमन्त्री बीएस यदुरप्पामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसैगरी संक्रमण देखिएपछि निवासमै आइसोलेसनमाा बसिरहेका दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोडियाको स्वास्थ्य केही जटिल बनेपछि मंगलबार अस्पताल भर्ना गरिएको छ ।

भारतमा बुधबार साँझसम्म कोरोना संक्रमितको संख्या ५६ लाख ४६ हजारभन्दा बढी पुगेको छ । त्यस्तै भारतमा कोरोनाबाट ९० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब ४६ लाख निको भएका छन् ।

प्रकाशित : आश्विन ८, २०७७ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?