काठमाडौँ — नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक अध्ययनले कोरोना निको भइसक्दा पनि त्यसको असर लामो समयसम्म हुन सक्ने बताएको छ ।
अध्ययनले युवा तथा वयस्कमा पनि कोरोना संक्रमणले लामो समयसम्म बिरामी बनाउन सक्ने जनाएको हो ।
परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा अध्ययन सार्वजनिक गर्दै ३५ प्रतिशत भन्दा बढि कोरोनामुक्त बिरामीमा निको भएको २–३ हप्तासम्म पनि रुघाखोकी लाग्ने, थकान हुने र साँस फेर्न गाह्रो हुने समस्या देखिएको बताए ।
डा. ज्ञवालीले परिषद्ले कोभिड १९ संक्रमणबाट निको भएका व्यक्तिको स्वास्थ्य स्थिति सम्बन्धी अध्ययन सार्वजनिक गरेको बताउँदै कोरोना मुक्त भएका व्यक्तिको शारीरिक, मानसिक र समाजिक स्वास्थ्य अवस्था मूल्यांकन गरी अध्ययन गरिएको बताए ।
अध्ययनमा कोरोना संक्रमण निको भएका ९९ प्रतिशतले यात्रा गरेको पाइएको छ जसमा ६९.१ प्रतिशतले आन्तरिक यात्रा र २९.९ प्रतिशतले अन्तराष्ट्रिय यात्रा गरेका थिए । शारीरिक स्वास्थ्य अवस्था अध्ययन गर्दा ८९.१ प्रतिशत सामान्य र १०.१ प्रतिशतमा कोरोनाका लक्षण देखिएको थियो । लक्षणमा रुघाखोकी लाग्ने ,हाँछ्यु आउने, चिसो महसुस हुने, सामान्य काम गर्दा पनि कमजोर महसुस हुने तथा गन्ध र स्वाद गुमाएको लक्षण देखा परेको थियो ।
कोभिड १९ निको भएका बिरामी, स्वास्थ्यकर्मी, समाजसेवी लगायतमा पोष्ट ट्रम्याटिक स्ट्रेस डिसर्अडर र पोस्ट ट्रम्याटिक स्ट्रेस सिन्ड्रोम देखिएको छ । अध्ययनमा सहभागी भएकामा ७० जनामा दीर्घरोग जस्तै मधुमेह, मुटुरोग, दमरोग ,श्वासप्रश्वासका अन्य रोग र केहीमा एचआइभी संक्रमित पनि रहेका छन् । कोभिड १९ पछि धुमपान र मद्यपान सेवन १० देखि १२ प्रतिशतले क्रमश घटेको अध्ययनले देखाएको छ ।
अध्ययनले मानसिक स्थिति मूल्याकंन गर्दा १५ प्रतिशतलाई कोरोनाका बारेमा सुन्दा बारम्बार दिक्क लाग्ने,अनावश्यक विचार आउने र ७.७ प्रतिशतमा आफू र अरुमा नकरात्मक विचार आउने, २१.४ प्रतिशतमा कामको चिन्ता, १९.२ प्रतिशतमा घरको चिन्ता र २९.६ प्रतिशतमा बेरोजगारीका कारण चिन्ता देखिएको जनाएको छ।
संक्रमित व्यक्तिले रिपोर्ट नेगेटिभ नआउँदासम्म अलग्ग बस्दा मासिक कमाइमा असर पुर्याएको अनुभव गरेका थिए भने कोभिड १९ को डरका कारण आफन्तबाट संक्रमित हुँदा कुनै पनि स्नेह र प्रेमको अनुभव नपाएको तथ्य अध्ययनमा देखिन्छ ।
अध्ययनले त्यसैगरी सामाजिक स्वास्थ्यमा ८४.३ प्रतिशत निको भएकाले सामाजिक भेदभाव तथा दुर्व्यवहारका कारण मानसिक चिन्ता हुने र अविश्वासनीय समाचार तथा फेसबुकलगायतका सामाजिक सञ्जालले झन् चिन्ता थपेको पाइएको छ ।
परिषद्ले टेलिफोन अन्तवार्ताबाट ७ वटै प्रदेशमा १८ वर्ष माथि उमेरका कोरोना संक्रमण निको भएका व्यक्तिमा अध्ययन गरेको जनाएको छ । ५५२ संख्यात्मक र २५ जनामा गुणात्मक अध्ययन गरि प्रतिवदेन सार्वजनिक गरिएको हो ।
