१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रदेश २ मा मृत्युदर उच्च

अस्पतालहरुमा आईसीयू, भेन्टिलेटरजस्ता आधारभूत स्वास्थ्य सुविधा, जनशक्ति र जनचेतनाको कमी, कुपोषण, अत्यन्त ढिलो गरी उपचारका लागि अस्पताल पुग्नु, कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी नहुनुलगायतका कारणले कोरोनाबाट हुने मृत्युदर बढी देखिएको विज्ञहरु बताउँछन् ।
अतुल मिश्र

काठमाडौँ — कोरोना भाइरस संक्रमणका कारण प्रदेश २ मा सबैभन्दा बढीको मृत्यु भएको छ । बुधबारसम्म मुलुकमा ४ सय ३६ जनाको कोरोनाले मृत्यु भएको छ । जसमध्ये १ सय २३ जना प्रदेश २ का छन् । यो संख्या कुल मृतकको २८.२१ प्रतिशत हो । मुलुकभर संक्रमित भएकाहरूको मृत्युदर ०.६४ प्रतिशत रहे पनि प्रदेश २ मा ०.८४ प्रतिशत छ ।

प्रदेश २ मा मृत्युदर उच्च

पछिल्लो तथ्यांकअनुसार मृत्युदर प्रदेश १ मा ०.७५, वाग्मतीमा ०.७६, गण्डकीमा ०.६६, प्रदेश ५ मा ०.६३ तथा कर्णाली र सुदूरपश्चिममा ०.१५ छ । प्रदेश २ का अस्पतालहरूमा आईसीयू, भेन्टिलेटरजस्ता आधारभूत स्वास्थ्य सुविधा, जनशक्ति र जनचेतनाको कमी, कुपोषण, अत्यन्त ढिलो गरी उपचारका लागि अस्पताल पुग्नुलगायतका कारणले यहाँ कोरोनाबाट हुने मृत्युदर बढी देखिएको विज्ञहरू बताउँछन् । ‘यो प्रदेशमा स्वास्थ्य संरचना, स्वास्थ्य सेवाको उपलब्धता अत्यन्त कम छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक एवं प्रदेश २ का स्वास्थ्य सल्लाहकार डा. जीडी ठाकुरले भने, ‘आमव्यक्तिमा समेत जनचेतनाको कमी छ ।’

मानव विकास सूचकांकमा पनि प्रदेश २ धेरै तल छ । धनुषाका कोभिड–१९ संयोजक डा. जामुन सिंहले दक्ष जनशक्तिको अभाव पनि रहेको बताए । प्रदेश २ मा केही साताअघिसम्म एक सयवटा नमुनाको पीसीआर परीक्षण गर्दा ३५–३६ वटाको रिपोर्ट पोजिटिभ आउँथ्यो । तर हाल संक्रमण दर १०–११ प्रतिशतमा झरेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले बताए । ‘यहाँ मृत्युदर बढी देखिनुमा कुपोषणले गर्दा रोग प्रतिरोधक क्षमतामा कमी आउनु, मृत्यु भएकाहरूमा अन्य दीर्घ रोगसमेत हुनु, बूढापाका बढी प्रभावित हुनुलगायत कारणसमेत छन्,’ उनले भने ।

कोरोना संक्रमितहरू समयमै स्वास्थ्य संस्थामा नपुगेको स्वास्थ्यकर्मीहरू बताउँछन् । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रञ्जित झाले भने, ‘सुरुमै अक्सिजन दिएर उपचार थाल्न पाए मृत्युदरमा उल्लेख्य कमी आउने थियो ।’

जनघनत्व बढी हुँदा सामाजिक दूरी कायम गर्न असहज भएको विज्ञहरूको तर्क छ । प्रदेशका ८ वटै जिल्लाको सीमा भारतसँग जोडिएकाले लुकीछिपी सीमा प्रवेश हुने गरेकाले पनि संक्रमण नियन्त्रणको प्रयास सफल हुन सकेको छैन । ‘हामीले खुला सिमानामा बढी कडाइ गरे पनि लुकीछिपी ओहोरदोहोर जारी नै छ,’ डा. झाले भने, ‘जसरी भए पनि मुलुक आउनेलाई कम्तीमा १४ दिन घरमै क्वारेन्टाइन बसिदिन सन्देश प्रवाह गरिरहेका छौं ।’

स्थानीय तहबाट कन्ट्याक्ट ट्रेसिङमा तदारुकता नदेखाइँदा पनि समस्या थप झाँगिएको उनको बुझाइ छ । ‘केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ कमजोर भएकाले समस्या छ,’ उनले भने ।

जनकपुरस्थित एक सरकारी अस्पतालमा कार्यरत चिकित्सकले ढिलो गरी कोभिड परीक्षणको नतिजा आउनाले समेत संक्रमणको विस्तार र मृत्युदर बढी भएको बताए । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको दाबीअनुसार हाल आईसीयूमा भर्ना भएका बिरामी र लक्षण भएका व्यक्तिले ७ घण्टाभित्र स्वाब परीक्षणको नतिजा पाउँछन् । त्यहाँबाट रेफर भएर आएका बिरामीको स्वाब परीक्षणको रिपोर्ट त्यही दिन नभए अर्को दिनसम्म दिने गरिएको छ । तर प्रयोगशालाहरू थप्नुपर्ने देखिएको चिकित्सकहरूले बताउँदै आएका छन् ।

विज्ञहरूले प्रदेश २ मा कोरोना भाइरसको प्रकृति मुलुकका अन्य ठाउँभन्दा खासै फरक नरहेको बताएका छन् । ‘यहाँ कोरोना भाइरस कडा खालको भएको भए मृत्युदरमा धेरैको अन्तर हुन्थ्यो । दशमलवमा अन्तर हुने थिएन,’ प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक एवं भाइरोलोजिस्ट डा. श्रवणकुमार मिश्रले भने ।

वीरगन्जस्थित नारायणी अस्पतालका डा. नीरज सिंहले भने भारतको महाराष्ट्र र गुजरातबाट आएका श्रमिकहरूमा भाइरसको कडा स्ट्रेन पाइएकाले यहाँ मृत्युदर बढी हुनुमा यो पनि कारक हुन सक्ने औंल्याए । हालसम्म मुलुकमा देखिएका कोरोना भाइरसको जेनेटिक (उत्पत्तिसम्बन्धी) अनुसन्धान भएको छैन । डा. मिश्रका अनुसार सामान्यतया नेपालमा पाइने कोरोना भाइरस स्थिर छ । देशभर पाइएको कोरोना भाइरसको गुणमा खासै विविधता देखिएको छैन । ‘त्यसैले यो भाइरसबाट उत्पन्न हुने रोगको नरमपना वा कडापना संक्रमितको रोग प्रतिरोधक क्षमता, उमेर र यसअघिदेखि नै दीर्घरोग रहेको स्थितिमा निर्भर गर्छ,’ उनले भने, ‘कोरोना भाइरसको जिनको आनुवांशिक अध्ययन र अनुसन्धान भए मात्र यकिनसाथ यसले उत्पन्न गर्ने रोगको नरमपना वा कडापनाबारे भन्न सकिन्छ ।’

सक्रिय संक्रमित २५ हजार नाघे ‘धान्न गाह्रो’

स्वास्थ्य मन्त्रालयले मुलुकमा सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी भए धान्न गाह्रो पर्ने भएकाले स्थान विशेषमा कडाइ गर्न सरकारलाई सिफारिस गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमले बुधबार सिफारिसको निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । सक्रिय संक्रमित केही दिनभित्र २५ हजार नाघ्ने अनुमान छ । मन्त्रालयले जनस्वास्थ्य मापदण्ड पालना हुन कठिन हुने स्कुल, कलेज, फिल्म हल र स्टेडियमलगायतका सेवा तथा व्यवसाय न्यूनतम एक महिना नखोल्न पनि सिफारिस गरेको छ ।

ईडीसीडीका पूर्वनिर्देशक डा.बाबुराम मरासिनीले २५ हजारभन्दा बढी संक्रमित भएपछि स्थान विशेषमा लकडाउन गर्दा पनि संक्रमण नियन्त्रण नहुने दाबी गरे । उनले भने, ‘विदेशबाट आउने जोसुकैलाई संक्रमण नभएको सुनिश्चित गर्नुपर्‍यो । अनि मात्र कोभिडको विस्तार नियन्त्रण गर्न सकिन्छ ।’ सीमा र विमानस्थल क्षेत्रमा स्वास्थ्य टोली राख्ने र विदेशबाट आउनेलाई क्वारेन्टाइन, आइसोलेसनको नियम कडाइ साथ पालना गराउनुपर्ने उनको भनाइ छ ।

बुधबारसम्मका कुल संक्रमित ६७ हजार ८ सय ४ मध्ये १७ हजार ४ सय ३४ जना सक्रिय संक्रमित छन् । वाग्मती प्रदेशमा सबैभन्दा बढी १० हजार १ सय ६६ जना संक्रमित छन् ।

प्रकाशित : आश्विन ८, २०७७ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?