विध्वंसकारी मनसुन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विध्वंसकारी मनसुन

यो वर्षको मनसुनका अवधिमा पहिरो, बाढी, अचानक बाढी (फ्ल्यास फ्लड) र भारी वर्षाका घटना अघिल्ला १० वर्षको तुलनामा बढी भए भने जनधनको क्षति पनि बढी नै भएको छ ।
अब्दुल्लाह मियाँ

काठमाडौँ — सामान्यतया २३ सेप्टेम्बर (बुधबार) देखि मनसुन अन्त्य हुनुपर्ने हो । जल तथा मौसम विज्ञान विभागले यो दिनलाई मनसुन अन्त्य हुने समय निर्धारण गरेको छ । तर, मनसुन अन्त्य हुने सीमारेखाकै आसपास विभागले सोमबार बेलुकी विशेष बुलेटिन निकालेर भनेको छ, ‘उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र उत्तर–पश्चिम सर्ने क्रममा असोज ९ गतेसम्म नेपालको धेरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने भएकाले सतर्क रहनुहोला ।’

केही वर्षयता मनसुन अवधि पछि धकेलिँदै गएको छ । गत वर्ष असोज २५ मा मनसुन बाहिरिएको थियो । जसका कारण असोजमा पनि विपत्जन्य घटना भएका थिए । यो वर्ष पनि त्यो क्रम जारी छ । मौसमविद् शान्ति कँडेल यो वर्ष मनसुन केही दिन लम्बिने सम्भावना रहेको बताउँछिन् । ‘त्यसैले सम्भावित विपत् अझै बाँकी छ भन्न सकिन्छ,’ कँडेलले कान्तिपुरसित भनिन्, ‘केही स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अउपनाउनुपर्ने हुन्छ ।’ उनका अनुसार भारत हुँदै भित्रिने मनसुन भारतीय भागबाटै बाहिरिन्छ । ‘भारतका कुनै पनि स्थानमा मनसुन तत्काल बाहिरिने संकेत छैन,’ उनले भनिन्, ‘भारतबाट नबाहिरिएसम्म नेपालबाट मनसुन बाहिरिन्नँ ।’

पछिल्ला १० वर्षको विश्लेषण गर्ने हो भने यो वर्षको मनसुन सबैभन्दा विनाशकारी देखिन्छ । मनसुनको अवधिमा यसपालि अघिल्ला वर्षभन्दा ठूला पहिरोजन्य विपत्का घटना धेरै भएका छन् । खासगरी सिन्धुपाल्चोक, म्याग्दी, तनहुँ, कास्की, अछाम, बझाङ, कालीकोट, स्याङ्जा, बागलुङलगायत जिल्लामा पहिरोजन्य घटना बढी भए भने क्षति पनि बढी नै भएको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबारसम्म पहिरो, बाढी, अकस्मात् बाढी (फ्ल्यास फ्लड) का ७ सय ९७ वटा घटना भएका छन् । पहिरो, बाढी, अकस्मात् बाढी (फ्ल्यास फ्लड) जन्य विपद्मा परेर ३ सय २१ जनाको ज्यान गएको छ, यो अघिल्ला वर्षभन्दा बढी हो । विपद्‍मा परेर कयौं घाइते भएका छन् । विस्थापित हुनेको संख्या पनि बढी छ ।

किन बढी क्षति ?

जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार यो वर्ष पूर्वदेखि पश्चिमसम्मका केही स्थानमा सरदर/औसतभन्दा बढी वर्षा भएको छ । मौसमविद्का अनुसार यो वर्षको मनसुन अघिल्ला वर्षभन्दा बढी सक्रिय पनि भयो । मनसुन सुरु भएलगत्तैदेखि सानो क्षेत्रमा केन्द्रित भएर आएको हाँडीघोप्टे अर्थात् मुसलधारे वर्षा (क्लाउड ब्रस्ट) ले गर्दा धेरै विपत् निम्त्याएको विश्लेषण गर्छन् विपत्जन्य जोखिम विश्लेषक अजय दीक्षित । ‘तर कुनै जिल्लाको निश्चित भागमा पहिरो जाँदैमा पूरै जिल्ला पहिरोले ध्वस्त भयो भन्न मिल्दैन,’ उनी भन्छन्, ‘त्यसका लागि पहिरो गएका स्थानमा कति मात्रामा पानी पर्‍यो र त्यो क्षेत्रको भौगोलिक बनावटमा के कस्तो परिवर्तन आयो भनेर सूक्ष्म ढंगले हेर्नुपर्छ ।’

यो वर्ष सबैभन्दा बढी पहिरो आएको सिन्धुपाल्चोक, तनहुँ, स्याङ्जा, म्याग्दी, कास्की, बागलुङ, अछाम, कालीकोट, जाजरकोट, रुकुम पश्चिम, दार्चुला, संखुवासभा, पर्वत, धादिङ, बझाङ, बाजुरालगायत जिल्लामा छोटो अवधिमा सानो क्षेत्र ढाकेर मुसलधारे वर्षा भएको थियो । त्यही वर्षाले पहिरोजन्य विपत् निम्त्याएको जानकारहरूको विश्लेषण छ ।

जलाधारविज्ञ मधुकर उपाध्या सानो क्षेत्रमा खनिने मुसलधारे वर्षाले अकल्पनीय क्षति गर्छ भन्ने यो वर्षको मनसुनले पुष्टि गरेको बताउँछन् । उनका अनुसार केही वर्षयता पहाडी र हिमाली क्षेत्रसम्मै सानो क्षेत्रमा मात्र केन्द्रित भएर मुसलधारे वर्षा हुने क्रम बढेको छ । विभागको तथ्यांकले पनि उपाध्याको भनाइलाई पुष्टि गर्छ ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल पनि एउटा निश्चित स्थानमा केन्द्रित भएर हुने मुसलधारे वर्षाका कारण धेरै स्थानमा भेल पहिरो (डेब्रिज फ्लो) निम्तिएको बताउँछन् । त्यो क्रम मनसुन सुरु हुनुभन्दा एक दिनअघि पर्वतको दुलुङबाट सुरु भएको थियो । ‘लगभग मनसुन अवधिमा धेरै स्थानमा भेल पहिरो बढी आयो,’ पोखरेलले भने, ‘यो वर्ष क्लाउड ब्रस्ट बढी भएको छ ।’

त्रिविको भूगर्भशास्त्र केन्द्रीय विभागका एसोसिएट प्रोफेसर तथा भूगर्भविद् रञ्जनकुमार दाहाल यो वर्षको मनसुनले सोचेभन्दा बढी पहिरो निम्त्याएको टिप्पणी गर्छन् । ‘यसले जोखिम न्यूनीकरण र विपत् व्यवस्थापनको पूर्वतयारीमा धेरै काम गर्न बाँकी छ भनेर पाठ सिकाएको छ,’ उनले भने, ‘हाम्रो विकास–निर्माण विपत्मैत्री छैन भन्ने पनि देखाएको छ ।’

हुन त, पानी पर्दैमा पहिरो जाने होइन । ‘लगातार कुनै सानो क्षेत्रमा केन्द्रित भएर वर्षा भइरह्यो भने चाहिँ पहिरोको सम्भावना अत्यधिक हुन्छ,’ अर्का भूगर्भविद् मेघराज धिताल भन्छन्, ‘माटोमा छिद्र हुन्छ, वर्षात्को पानी त्यहींबाट तलसम्म पुग्छ, जोडले पानी परेपछि जमिन तल धकेलिन्छ, जमिनले थाम्न नसकेपछि ढुंगामाटो, रूखबिरुवा सबै बग्छ ।’

यो वर्ष गएको हिउँद (मंसिर–फागुन), मनसुनपूर्व (फागुन–जेठ) र मनसुन सुरु भएदेखि नै सरदर/औसतभन्दा बढी नै वर्षा भएको छ । त्यसैले पनि धेरैतिर जमिन गलेपछि पहिरोजन्य विपत् बढेको उनको विश्लेषण छ ।

धितालका अनुसार विगत वर्षमा पनि ‘क्लाउड ब्रस्ट’ का कारण मकवानपुरको कुलेखानी, ललितपुरको लेले, ताप्लेजुङसहित विभिन्न स्थानमा ठूला पहिरो गएको थियो । सात वर्षअघि भारतको केदारनाथमा आएको बाढी पनि क्लाउड ब्रस्टकै कारण आएको उनको विश्लेषण छ ।

०६८ देखि ०७७ सम्मको तथ्यांक हेर्दा पहिरोका कारण ९ सय ४ जनाको ज्यान गएको छ । त्यस अवधिमा २ सय ३३ जना बेपत्ता भएका छन् । यो अवधिमा पहिरोका १ हजार ६ सय ३३ वटा घटना भएका छन् । यही अवधिमा बाढीका कारण ७ सय ९६ जनाको ज्यान गएको छ भने ५ सय ९ जना बेपत्ता भएका छन् । यो अवधिमा बाढी र फ्ल्यास फ्लडका १ हजार ५ सय १४ वटा घटना भएका छन् ।

‘डोजरे विकास’ मा प्रश्न

७३ सालमा स्थानीय सरकार बनेपछि सबैजसो स्थानीय तहले सडक (कच्ची) लाई प्राथमिकता दिएको देखिन्छ । त्यसैले स्थानीय तहहरू ‘डोजरे विकास’ मा केन्द्रित भएको आरोप पनि लाग्ने गरेको छ ।

आवश्यकभन्दा बढी मात्रामा सडक खन्ने क्रममा सबैतिर भूगोल कोतरिएको छ । ‘कतिपय जिल्लामा समस्या त्यहींबाट सुरु भएको देखिन्छ,’ इन्जिनियरिङ भूगर्भविद् सुबोध ढकाल भन्छन्, ‘स्थानीय तहहरूले जोखिम पहिचान नगरी जथाभावी खनेका सडक सञ्जालका कारण पनि पहिरो बढ्न मद्दत पुगेको हो ।’

नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु श्रेष्ठ भने एकाध ठाउँमा स्थानीय तहले गरेका कमीकमजोरी र गल्तीलाई एउटै डालोमा राखेर हेर्न नहुने तर्क गर्छन् । ‘जवाफदेहिता स्थानीय तहमा मात्र होइन, प्रदेशदेखि संघसम्मै हुनुपर्छ,’ उनी भन्छन्, ‘विकासका काम अघि बढाउँदा मौजुदा नियममा बसेर काम गरेको छैन भने कारबाहीको भागीदार बन्नुपर्छ । आरोप लगाएर मात्र हुँदैन स्थायी समाधानको बाटोतिर जानु उत्तम हुन्छ ।’

उपलब्ध प्रकृति र स्रोतको उचित व्यवस्थापनसँगै विकासको भोक मेटाउनतिर स्थानीय तहहरूले ध्यान दिनुपर्ने उनको सुझाव छ । उनी भन्छन्, ‘मुलुक विकासको चरणमा भएकाले सम्भावित जोखिम न्यूनीकरण र क्षति कम गर्दै अघि बढ्नुको विकल्प छैन ।’

प्राधिकरणले पनि पहिरोको संख्या वृद्धि हुनुमा सडक, सिँचाइ, जलविद्युत्लगायत साना–ठूला निर्माणलाई मुख्य कारण ठानेको छ । ‘उपभोक्ता समितिको अगुवाइमा डोजर लगाएर खनिने सयौं सडकहरूले केही वर्षयता पहिरोको संख्या र जनधनको क्षति झनै बढाइदिएको छ,’ प्राधिकरणले मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना ०७७ मा भनेको छ, ‘विशेषगरी सडक बनाउने क्रममा कुलो, खोल्सोलगायत भल बग्ने बाटो बिथोलिँदा पनि पहिरोको संख्या बढिरहेको छ ।’

उकालोतिर जलवायुजन्य जोखिम

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी सञ्जाल (आईपीसीसी) का अनुसार जलवायु परिवर्तनका कारण बाढीपहिरो, चरम मौसम (एक्स्ट्रिम वेदर), खाद्य संकट, डढेलो, आँधीबेहरी, हिमपहिरो, हिमताल विस्फोट, तातो वायुजस्ता घटना विश्वभर नै बढिरहेका छन् ।

राष्ट्रिय योजना आयोगको अध्ययन प्रतिवेदनअनुसार दुई वर्षअघि तराई क्षेत्रमा मनसुन अवधिमा आएको बाढीले करिब ६२ अर्ब रुपैयाँ बराबरको क्षति गरेको रेकर्ड छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को ‘गभर्नेन्स अफ क्लाइमेट चेन्ज फाइनाइन्स प्रोग्राम’ को अध्ययनले पनि बर्सेनि जलवायुजन्य क्षतिले २८ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी हुने गरेको देखाएको छ । गृह मन्त्रालयका अनुसार मनसुनबाहेकका सिजनमा निम्तिने प्रकोपले हुने क्षति आकलन गरिएकै छैन ।

प्रकाशित : आश्विन ७, २०७७ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्

टीभीएसले ल्यायो ‘दसैंको आशा’ स्किम

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि टीभीएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस ‘दसंैको आशा’ स्किम ल्याएको छ ।

यसअन्तर्गत कुनै पनि मोटरसाइकलको खरिदमा नगद छुटका रूपमा ९ हजार र स्कुटरमा ७ हजार वा शून्य प्रतिशत ब्याजदरमा खरिद गर्ने सुविधा छान्न सकिनेछ । त्यस्तै बम्पर उपहारका रूपमा हरेक साता एक जनाले आरआर ३१० जित्ने अवसर पाउनेछन् ।

यो योजनामा भाग लिन कम्पनीको वेबसाइटमा गएर फाराम भर्नुपर्नेछ । जसमा किने पनि या नकिने पनि आरआर ३१० जित्ने अवसर पाइनेछ ।

प्रकाशित : आश्विन ७, २०७७ १२:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×