१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बेपत्ताको खोजीमा परिवार मात्रै

बाढीपहिरोपछि एक सातासम्म प्रहरी, सेना र सशस्त्र प्रहरीले खोजी गर्दा २२ जनाको शव भेटियो , १६ जनाको अझै कुनै खबर छैन । खोजी कार्य बन्द गरिएपछि हाल उनीहरुकै परिवारका सदस्य र आफन्तहरु नै खोजीमा जुटेका छन् ।
प्रकाश बराल

बागलुङ — गत भदौ १७ मा भुजी खोलाको बाढीपहिरोले ढोरपाटन नगरपालिका–९ का हेमबहादुर विकसहित परिवारका पाँच जनालाई बगायो । हेमबहादुर, श्रीमती दिलमाया र माइला छोरा ९ वर्षका मनोजको शव भेटियो । कान्छा छोरा ५ वर्षका विराज र १० महिनाकी छोरी उमिसाको हालसम्म कुनै पत्तो छैन ।

बेपत्ताको खोजीमा परिवार मात्रै

जेठा छोरा आशिषले जेठा हजुरबुबा भीमबहादुर कामीको घरमा आश्रय लिइरहेका छन् । उनले त्यहीं बाबुआमाको काजकिरिया गरे । अभिभावकविहीन भएको भन्दा पनि उनलाई साथीजस्तै भाइ विराज बेपत्ता भएकोमा चिन्ता छ । बहिनी उमिसा सम्झेर रोइरहन्छन् । भन्छन्, ‘जिउँदै भेटिए कति रमाइलो हुन्थ्यो ।’

बाढीपहिरोमै बगेका अर्का स्थानीय करबहादुर विक र उनका छोरा मदनको शव भेटियो । श्रीमती हस्तमाया बेपत्ता छिन् । छोरी सुस्मिता भने संजोगले जोगिइन् । कान्छाबुबाका छोरा आशिषले नै उनका बुबाको पनि काजकिरिया गरे । १५ वर्षकी सुस्मिता पनि जेठा हजुरबुबा भीमबहादुरकै आश्रयमा छिन् । यी दुवै परिवार हेमबहादुरको भाइखलक हुन् । ७० वर्षीय भीमबहादुरलाई २ नातिनातिना पाल्ने दायित्व थपिएको छ । बेपत्ता भेट्टाउन सकिने–नसकिने चिन्ता पनि छ । उनी हराइरहेका आफन्तको खोजीमा दिनहुँ भुजी खोलामा निस्कन्छन् । साथ दिने कोही भेटिँदैनन् । ‘गएर भत्केको घर हेर्छु, बेपत्ता त्यतै छन् कि भन्ने लाग्छ, बगरमा केही नभेटेपछि फर्कन्छु,’ उनले भने, ‘बेपत्ताको खोजी गर्न कसैको मन छैन ।’ बरु धेरैले सोधीखोजी गर्दै फोटो खिचेर मात्रै लैजाने गरेको उनले गुनासो गरे । विक दाजुभाइले एक वर्षअघि मात्रै घर बनाएका थिए ।

बाढीपहिरोपछि एक सातासम्म नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले बेपत्ताको खोजी गरेका थिए । ३८ जना बेपत्ता भएकामा २२ जनाको शव भेटियो । अझै १६ जनाको कुनै खबर छैन । उनीहरूको खोजी हुन छाडेको साता भइसक्यो । ‘अब भेटिँदैन भन्ने भयो,’ बागलुङ प्रहरीका डीएसपी राजेन्द्र रेग्मीले भने, ‘बरु प्रशासनले कार्यविधि बनाएर बेपत्तालाई पनि राहत दिने योजना ल्याउनुपर्छ ।’ घटनास्थलदेखि एक सय किलोमिटर तलसम्म खोजी गरिएको उनले बताए । लाँकुरीबोटकै कौशिला पुन र उनका छोरा विशाल पनि बेपत्ता छन् । कौशिलाका श्रीमान् विदेशमा भएकाले भाइ शेरबहादुरले उनीहरूको खोजी गरिरहेका छन् । ‘लास पनि छैन, सास पनि छैन, दाइ आउँदा के बुझाउने ?,’ उनले भने, ‘खोजी र उद्धारमा चासो दिन छाडियो, हाम्रा मान्छे मरे–बाँचेको केही प्रमाण पाइएन ।’ विदेशबाट दाइको फोन आउँदा जवाफ दिन नसकेको उनले बताए ।

‘बेलाबेला खोज्न जाऔं भन्दा विद्यालयमा बसेका प्रहरी टेर्दैनन्,’ उनले भने, ‘अब भेटिँदैन भनेर टारेका छन्, लास नभेटेसम्म मरेको कि जिउँदो कसरी पत्याउनु ?’ प्रहरी प्रशासनले पीडितको चासो राख्नै छाडिसकेको उनले टिप्पणी गरे । ‘अहिले त १० जना प्रहरी गाउँमा आउजाउ गरिरहन्छन्, खोलामा खोज्ने कोही छैन,’ उनले भने, ‘मरेकाका परिवारले त राहत पाउलान्, बेपत्ताको लेखाजोखा नहुने भयो ।’

बाढीपहिरोकै कारण ढोरपाटन–९ दुबालका ९ वर्षका रोशन विक, ४ वर्षका रवि विक, २२ वर्षीया मनकुमारी विक, १५ वर्षीया मनीषा विक, २१ वर्षीया टेकमाया विक र उनकी १० महिनाकी छोरी तिर्सना पनि हराइरहेका छन् । त्यस्तै, भुसुन्डेका १२ वर्षका समुद्र विक, ८ वर्षका मोहन विक, लाँकुरीबोटकी ५५ वर्षकी तुलमती घर्तीको पनि कुनै खोजखबर छैन ।

गृह मन्त्रालयले दिने राहत रकम अहिलेसम्म गाउँमा पुगेको छैन । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले नगरपालिकाको रिपोर्ट नआएर राहत वितरणमा ढिलाइ भएको बताए । ‘मृतकको सनाखत र नाता प्रमाणितको प्रतिवेदनबिना राहत दिन सकिँदैन,’ उनले भने, ‘नगरपालिकालाई ताकेता गरिरहेका छौं, उताबाट आएको छैन, त्यसैले ढिला भएको हो ।’ मृतकको सनाखत र नाता प्रमाणित भएपछि परिवारका एक जनाको मृत्यु भएमा २ लाख र त्यसभन्दा धेरैको मृत्यु भएमा थप एक–एक लाख रुपैयाँ राहत रकम पाउने व्यवस्था छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठक राखेर भेटिन नसक्ने कारण भए खुलाएपछि बेपत्तालाई पनि मृतकसरह राहत उपलब्ध गराउने उनले स्पष्ट पारे । ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले खोजी र उद्धार जारी रहेकाले अन्तिम प्रतिवेदन दिन नसकेको बताए । ‘मृतक र बेपत्ताको संख्या तथा भत्केका घरको विवरण बुझाएका छौं,’ उनले भने, ‘सीडीओसाबले सोधिरहनुभएको छ, केही दिनमा पूर्ण विवरण दिन सकिएला ।’

प्रकाशित : आश्विन १, २०७७ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?