नरायणगढ–मुग्लिन सडकमा पहिरोले सास्ती [तस्बिरहरु]

रमेशकुमार पौडेल

चितवन — चितवन–नारायणगढ मुग्लिन सडकमा आजभोलि एक हैन स–साना अनैकौं पहिरो गएका छन् । केही दिनयता पहिरोका कारण सडक ठप्प हुँदा एम्बुलेन्समा बसेका बिरामीदेखि मालबाहक ट्रकका चालकहरुको समेत बाटोमा बिजोग देखिन्छ ।

बाटो खुल्ने प्रतीक्षामा बिरामी बोकेका दर्जनौं एम्बुलेन्सहरु जाममा हुन्छन् । पहिरो सफा गरेर बाटो खुल्ने समयको ठेगान नभएपछि ट्रक चालकहरु बटोमै स्टोभमा खाना बनाउँदै गरेको देखिन्छ ।

नारायणगढ–मुग्लिन सडकमा वर्षायाममा पहिरो कुनै नौलो समस्या हैन । ३६ किला मिटर लम्बाइ भएको यो सडकमा कालिखोला चार किलो क्षेत्रमा ठुलो पहिरो खस्दा दुई तीन दिनसम्म बाटो ठप्प हुन्थ्यो । तर मंगलबार कालिखोला क्षेत्रका साथै अन्यत्र पनि पहिरो गयाे ।

नारायणगढबाट मुग्लिनतर्फ बढ्दा भतेरीदेखि नै पहिरो खस्न सुरु भएको छ । त्यस्ता स–साना पहिरो जलबिरेसम्म अनेकौं छन् । जलबिरे केटेपछि चार किलो, पाँच किलो र भालु खोलामा झनै ठूलो पहिरो छ ।

पहिरोका कारण मंगलबार दिनभर यातायात प्रभावित हुने सम्भावनासहित चितवन जिल्ला ट्राफिक कार्यालयले सोमबार राति नै सूचना निकालेर सो सडक प्रयोग नगर्न अपिल गरेको थियो । पहिराेका गाडीहरु ठाउँ ठाउँमा अलपत्र परे । सोमबार बिहानैदेखि नारायणगढ मुग्लिन सडकमा यातायात प्रभावित भएको थियो । बिहान दुई ट्रक जुध्दा केहीबेर बाटो बन्द भयो । दिउँसो दुई बजे पहिरो गएपछि साँझ एकतर्फी सडक खुल्यो ।

राति साढे १० बजे इच्छाकामना गाउँपालिका–६ चार किलो नजिक फेरि ठूलो पहिरो खसेपछि बाटो ठप्प भएको थियो । चार किलोको पहिरो सफा गरेर दिउँसो साढे २ बजेदेखि दुईतर्फी रुपमा यातायात सुरु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ ।

देशको राजधानी काठमाडौंलाई पूर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्यमार्गमा वर्षायाममा पहिरो जाँदा चार पाँच वर्षयता यात्रा निकै सकसपूर्ण हुने गरेको छ ।


प्रकाशित : भाद्र ३०, २०७७ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्