चितवन — चितवन–नारायणगढ मुग्लिन सडकमा आजभोलि एक हैन स–साना अनैकौं पहिरो गएका छन् । केही दिनयता पहिरोका कारण सडक ठप्प हुँदा एम्बुलेन्समा बसेका बिरामीदेखि मालबाहक ट्रकका चालकहरुको समेत बाटोमा बिजोग देखिन्छ ।
बाटो खुल्ने प्रतीक्षामा बिरामी बोकेका दर्जनौं एम्बुलेन्सहरु जाममा हुन्छन् । पहिरो सफा गरेर बाटो खुल्ने समयको ठेगान नभएपछि ट्रक चालकहरु बटोमै स्टोभमा खाना बनाउँदै गरेको देखिन्छ ।
पहिरोका कारण मंगलबार दिनभर यातायात प्रभावित हुने सम्भावनासहित चितवन जिल्ला ट्राफिक कार्यालयले सोमबार राति नै सूचना निकालेर सो सडक प्रयोग नगर्न अपिल गरेको थियो । पहिराेका गाडीहरु ठाउँ ठाउँमा अलपत्र परे । सोमबार बिहानैदेखि नारायणगढ मुग्लिन सडकमा यातायात प्रभावित भएको थियो । बिहान दुई ट्रक जुध्दा केहीबेर बाटो बन्द भयो । दिउँसो दुई बजे पहिरो गएपछि साँझ एकतर्फी सडक खुल्यो ।


