कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

‘घरबेटीले पीसीआर रिपोर्ट माग्छन् !’

'घरबेटी कोरोना लिएर आयो भन्छन् । पीसीआर रिपोर्ट बनाउने पैसा छैन के गर्ने ? गाडी भाडा मात्र लिएर आएका थियौं ।'
रीना मोक्तान

काठमाडौँ — गत शुक्रबार गर्भवती पत्नी लिएर सूर्यबहादुर तामाङ सिन्धुपाञ्चोकबाट भक्तपुर हिँडे । लामो दूरीका सवारी साधन खुलेपछि उनलाई लागेछ, 'सबै क्षेत्र खुलिहाल्यो अब काम सुरु गर्नुपर्छ ।' पहिरोले गाउँको बाटो बिग्रिएको थियो । घण्टौं पैदल हिँडेर काठमाडौं आउने गाडी समाते ।

‘घरबेटीले पीसीआर रिपोर्ट माग्छन् !’

गाडीले साँझ ६ बजे भक्तपुरको आदर्श चोकमा ओरालिदियो । चोक नजिकैको एक घरमा डेरा थियो । डेरा नजिक ओर्लिएपछि दुवैको थकान केही मेटिए जस्तो भयो ।

थकाईले लखतरान दुवै हतारिँदै कोठातिर लम्किए । गेटभित्र एउटा पाइला राख्न नपाउँदै झ्यालबाट घरबेटीले कराए, 'पहिला भक्तपुर अस्पताल गएर पीसीआर रिपोर्ट लिएर आओ । अनि मात्र कोठाभित्र छिर्न पाइन्छ ।'

'पीसीआर रिपोर्ट ?' दुवै अक्क न बक्क भए । 'खै के रिपोर्ट ल्याउ भनेको हो थाहै थिएन । झोला राख्न भए पनि जान्छुभन्दा कोठाभित्र छिर्न दिएनन् । ढोकैबाट फर्काइदिए । श्रीमतीले ३ दिनदेखि लुगा फेर्न पाएकी छैनन्,' आफन्तको कोठामा बस्दै आएका तामाङले सुनाए ।

घरबेटीले रिपोर्ट नल्याई कोठा पस्न नदिने भनेपछि तामाङ दम्पती ३ दिनदेखि आफन्तकहाँ बस्दै आएका छन् । गाउँबाट आएकै दिन उनी दुई अस्पताल पुगेका थिए । तर त्यो दिन त्यत्तिकै फर्किए । 'भोकले पेट खाली थियो । श्रीमतीलाई हिँड्न पनि गाह्रो । बल्लतल्ल अस्पताल पुग्यौं । अस्पतालले त्यो दिन फर्काइदियो,' उनले सुनाए ।

पीसीआरको खर्च अपुग भएपछि दुवै घर फर्केका थिए । सूर्यबहादुर भक्तपुर आउनुको अर्को कारण हो श्रीमतीको उपचार । १३ वर्षदेखि डेरा गरि बस्दै आएको कोठामै प्रवेश निषेध भयो । पत्नीको उपचार गराउन पहिला त बासको टुङ्गो लगाउनु पर्‍यो । 'श्रीमती ८ महिनाकी गर्भवती छिन् । उसलाई उपचार पनि गराउँ भनेर आको अब घरबेटीले कोठाभित्र छिर्न दिएनन् । अत्याचार नै गरे । तनाव छ,' उनले आफ्नो पीडा सुनाए,'घरबेटी कोरोना लिएर आयो भन्छन् । उता पीसीआर रिपोर्ट बनाउने पैसा छैन के गर्ने । गाडी भाडा मात्र लिएर आएका थियौं,' उनले भने ।

३४ वर्षीय सूर्यबहादुर लकडाउन अगाडि ठेलामा मम बेच्थे । त्यहीबाट आएको आम्दानीले परिवार चलाउँदै आएका थिए । तर,कोरोना महामारीपछि उनले ठेलामा मम बेच्न पाएनन् । कोठामै थुनिएर बस्नुपर्‍यो । त्यसैले आफूसँग भएको पैसा सकिँदै गएपछि गत वैशाखमा जहान लिएर उनी गाउँ फर्केका थिए ।

०००

त्यस्तै एउटा कम्पनीमा काम गर्ने एक युवक २ महिनाअघि विराटनगर गएका थिए । बचत गरी राखेको पैसा लकडाउन र निषेधाज्ञामा सकिएपछि उनी गाउँ फर्किएका थिए । लकडाउनअगाडि उनी एक कम्पनीमा मार्केटिङको काम गर्थे । लकडाउनबीच कम्पनी बन्द भयो । तर निषेधाज्ञा खुकुलिएसँगै कम्पनीले उनलाई काममा बोलाएको छ ।

काठमाडौं फर्कने तयारी सकेर घरबेटीलाई फोन गरे उनले । घरबेटीले पीसीआर रिपोर्ट र १४ दिन क्वारेन्टाइन बस्नुपर्ने बताएपछि उनको तनाव थपिएको छ । 'अब कसरी काठमाडौं आउने ? घरबेटीले पीसीआर टेस्ट माग्छ । १४ दिन क्वारेन्टाइन भन्छ । क्वारेन्टाइन पनि कहाँ बस्ने । होटलमा बस्न पनि पैसा छैन। उता कम्पनीको काम सुरु भइक्यो,' उनले भने, 'एकातिर घरबेटीको किचकिच अर्कोतिर कम्पनीले निकालिदिन्छ भन्ने पीर ।'

अन्यौलमा छन् उनी। 'खोइ के गर्ने सोच्नै सकिरहेको छैन । अफिस छोडेर गाउँमै केही गरौं भने पनि उता कलेज सुरु होला ?,' उनले भने । भैंसीपाटीमा डेरा गरी बस्दै आएका उनी घरबेटीकै कारण गाउँबाट काठमाडौं आउन सकिरहेका छैनन् ।

०००

सरकारले गाउँबाट काठमाडौं उपत्यका प्रवेश गर्नेहरुलाई पीसीआर परीक्षण गर्नुपर्ने कुनै नियम बनाएको छैन । तर घर भाडामा दिने घरबेटी आफ्नो सुरक्षाका लागि पनि पीसीआर परीक्षण अनिवार्य चाहिन्छ भन्दै आएका छन् । 'हामीलाई पनि डर लाग्छ । त्यत्रो महिना कता बसेर आएको हुन्छ । कोरोना सर्‍यो भने त सरिहाल्यो नि,' सूर्यबहादुरका घरबेटीले भने ।

तर, घरबेटीको मागअनुसार सजिलै पीसीआर परीक्षणको खर्च जुटाउन नसकेर सूर्यबहादुर गर्भवती पत्नीसहित अर्काको कोठामा बास माग्दै रात कटाउँदै छन् । 'अब त गाउँ जान्छु । श्रीमतीको जाँच गराउने पैसा पनि सकियो,' सूर्यबहादुर सुनाउँछन् ।

विराटनगरका सुशील पोख्रेल पनि घरबेटीकै कारण काठमाडौं आउन नसकेको बताउँछन् । 'घरबेटीले पीसीआर रिपोर्ट माग्छन् । क्वारेन्टाइनमा बस् भन्लान् कहाँ गएर बस्नु ? आफ्नो कोठामै बस्न नपाएपछि कहाँ क्वारेन्टाइन बस्न जानु । होटलमा गएर बस्नु,' उनले भने ।

२ महिनाअगाडि सुनसरीबाट काठमाडौं आउँदा आजाद अलीलाई पनि घरबेटीले पीसीआर रिपोर्ट मागे । पैसा उठाउनुपर्ने काम थियो । साथीसँग उनी मोटरसाइकलमै काठमाडौं आएका थिए । तर घरबेटीले डेरा छिर्न दिएनन् । 'म बाइकमा आएको थिएँ । खाना पनि घरबाटै बोकेर आएँ । मेरो पनि बालबच्चा छन्, मलाई पनि डर छ । मैले म कोठाभित्रै क्वारेन्टाइनमा बस्छु भनें । घरबेटीले कोठा छिर्न दिएनन्,' उनले सुनाए, 'घरबेटी र मेरो कोठा छुट्टै छ । भर्‍याङ पनि छुट्टै छ । तर मान्नु भएन ।'

आजादले सिनामंगलको एक होटलमा पाँच दिन बसेर पीसीआर परीक्षण गराए । त्यसपछि पनि घरबेटीसँग घरभाडामा उनको लफडा परेछ । '१२ वर्ष भयो एउटै घरमा बसेको । तर घरबेटीले १४ दिन क्वारेन्टाइन बस्नुपर्छ भनेर ल्याङल्याङ गरे । वीर अस्पतालमा ५ हजार ५ सय खर्चमा पीसीआर परीक्षण गराएँ । घरबेटीलाई रिपोर्ट दिएँ । कोठा गएपछि भाडा मागे । होटल बस्दा, पीसीआरमै घरभाडा खर्च भयो । पछि दिन्छुभन्दा मान्नु भएन ।'

प्रकाशित : आश्विन ६, २०७७ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?