कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनमा ५० प्रतिशत संक्रमणको स्रोत अस्पताल

रमेशकुमार पौडेल

चितवन — चितवनका ५० प्रतिशत कोरोना संक्रमितको संक्रमणको स्रोत अस्पताल भएको पाइएको छ । संख्या र अवस्था विश्लेषण गरेर सोमबार जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

चितवनमा ५० प्रतिशत संक्रमणको स्रोत अस्पताल

जिल्लाका १ हजार २ सय ७७ संक्रमितको तथ्यांक विश्लेषण गर्न प्रतिवेदन तयार गरिएको हो । कुल संक्रमितमध्ये चितवनमा २ सय ५४ जना अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी छन् । यो जम्मा संक्रमितको २० प्रतिशत हो ।

स्वास्थ्यकर्मी संक्रमित भएपछि उनीहरूका परिवारमा कम्तीमा थप एक जना संक्रमित भएको प्रतिवेदनमा छ । संक्रमित स्वास्थ्यकर्मी र उनीहरूका परिवारको संख्या जोड्दा जम्मा संक्रमितको ४० प्रतिशत हुन आउने प्रतिवेदनमा उल्लेख छ । १ सय १ जनाले आफू उपचारका लागि अस्पताल जाँदा वा कुरुवा बस्दा संक्रमण भएको बताएका छन् ।

यसरी जोड्दा ५० प्रतिशतमा संक्रमणको हिस्सा अस्पतालसँग जोडिएको चितवन स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले बताए । ‘संक्रमण बढ्दै गएपछि कारण पत्ता लगाउन तथ्यांकमा आधारित रहेर विश्लेषण गरिएको हो,’ उनले भने । कुरुवाबाट पनि संक्रमण धेरै फैलन सक्ने जोखिम देखिएपछि अस्पतालहरूमा बिरामीसँग एक जना मात्रै कुरुवा राख्न कडाइ गरेको उनको भनाइ छ ।

बिरामीको व्यवस्थापन र कर्मचारीको सुरक्षामा सुधार गरेर सेवा सञ्चालन भइरहेको अस्पताल सञ्चालकहरूको भनाइ छ । ‘पछिल्लो समय विशेष सतर्कता अपनाएका छौं । हाम्रो अस्पतालमा पनि ९० जना हाराहारीमा स्वास्थ्यकर्मी संक्रमित भए, ७० जना निको भए । नयाँ संक्रमित देखिएका छैनन्,’ चितवन मेडिकल कलेजका सञ्चालक डा.हरिशचन्द्र न्यौपानेले भने ।

भरतपुरको सरकारी अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी पनि होसियारी अपनाए संक्रमणबाट जोगिन सकिने बताउँछन् ।

चितवनमा अहिलेसम्म उद्योगी, व्यापारी, होटल तथा फलफूल तरकारी पसल सञ्चालक १ सय ११ जनामा कोरोना पुष्टि भएको छ । बैंकमा काम गर्नेमात्रै १६ जना संक्रमित भइसकेका छन् ।

प्रकाशित : भाद्र ३१, २०७७ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?