भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

भाद्र २६, २०७७

रमेशकुमार पौडेल

चितवन — भरतपुरको सरकारी अस्पतालमा शुक्रबार साँझ एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार राप्ती नगरपालिका–५ बस्ने ६१ वर्षीय पुरुषको साँझ सात बजे मृत्यु भएको हो । उनमा भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उच्च ज्वरो, श्वासप्रश्वास र खोकीको समस्या बढेपछि भदौ २५ गते भरतपुर अस्पताल भर्ना भएका थिए ।

अवस्था जटिल हुँदै गएपछि अस्पतालको कोभिड आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार गरे पनि बचाउन नसकेको सूचना अधिकारी पौडेलले बताए । यसअघि कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)को भरतपुरमा रहेको शिक्षण अस्पतालमा बिहीबार निधन भएकी एक महिलामा शुक्रबार बिहान कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । 

रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिला बुधबार उक्त अस्पताल आएकी थिइन् । उनको स्वाब संकलन गरेर बुधबार नै पठाइएको थियो । उपचारको क्रममा उनको बिहीबार निधन भएको थियो । शुक्रबार आएको परीक्षणको नतिजामा ती महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सो अस्पतालका निर्देशक डा.मनोहर प्रधानले बताए । 

चितवनमा योसहित संक्रमण देखिएकामध्ये १५ जनाको निधन भएको छ । भरतपुरका अस्पतालमा उपचार गराउन आएका जिल्ला बाहिरका संक्रमित समेत गरेर कुल मृतक संख्या २६ पुगेको छ । भरतपुरमा रहेको जिल्ला स्वास्थ्य कार्यालयको विवरण अनुसार चितवनमा शुक्रबार दिउँसोसम्म कोरोना संक्रमितको संख्या १ हजार १ सय ४९ पुगेको छ । संक्रमितमध्ये निको हुनेहरु २ सय ९५ जना रहेको कार्यालयले जनाएको छ । 

कोरोना भाइरस

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully