सुरक्षा निकायमा समूहगत संक्रमण

भाद्र २६, २०७७

जनकराज सापकोटा, मातृका दाहाल

काठमाडौँ — कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान, नियमित शान्तिसुरक्षा व्यवस्थापनलगायतमा खटिएका सुरक्षा निकायमा समूहगत संक्रमण देखिन थालेको छ । नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गरिरहेका प्रहरी र सशस्त्रमा संक्रमणको दर दिनहुँ बढ्दो छ ।

जसका कारण नियमित कामकारबाहीमै नकारात्मक असर पर्ने जोखिम पनि छ । बिहीबार बिहानसम्मको अभिलेखअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका ४ हजार २ सय १० जनामा संक्रमण देखिएकामा २ हजार ३ सय ९१ जना उपचाररत छन् । १ हजार ८ सय १९ सुरक्षाकर्मी संक्रमणमुक्त भएका छन् ।

 सवारी व्यवस्थापनमा खटिएका प्रहरीमा संक्रमणको ग्राफ ह्वात्तै बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिकसम्बन्धी जनचेतनामूलक सन्देशसहित डमी ट्राफिकलाई चोकचोकमा राखेको छ । समूहगत र व्यक्तिगत संक्रमणको दर पनि प्रहरीमै बढी देखिएको छ । पछिल्लो २० दिनको तथ्यांक केलाउँदा प्रहरीमा संक्रमणको अनुपात झन्डै तेब्बर भएको छ । भदौ ५ गते प्रहरीमा ५ सय ८३ सक्रिय संक्रमित रहेकामा यो संख्या बिहीबार बिहान ६ बजेसम्म १४ सय ३० पुगेको छ ।

संक्रमित प्रहरीको सबैभन्दा ठूलो संख्या राजधानीका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा देखिन्छ । भदौ ५ सम्म उपत्यकामा सक्रिय संक्रमित प्रहरीको संख्या २ सय ३७ थियो, जुन पछिल्लो २० दिनमा बढेर ९ सय ७ पुगेको छ । गत भदौ ५ सम्म औसतमा प्रत्येक दिन २३ प्रहरीमा संक्रमण देखिएको थियो भने भदौ २५ गते बिहानसम्म आइपुग्दा दिनहुँ ४५ जनामा संक्रमण देखिएको छ । कोरोना संक्रमण समुदायसम्म फैलिँदै गएको र त्यसको प्रत्यक्ष असर नागरिकसँग दैनिक सम्पर्कमा रहेर काम गर्ने प्रहरीमा बढी देखिएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएका सरकारी आदेशविपरीतका क्रियाकलाप प्रहरीबाटै हुनु र समूहगत शैलीमा काम गर्ने प्रहरीको पुरानै शैली संक्रमण बढ्नुका कारक देखिन्छ । गत शुक्रबार महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी रुगम कुँवर र नगर प्रहरी कार्यालय भृकुटीमण्डपका डीएसपी पवन भट्टराईलाई प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले आफ्नै कार्यकक्षमा बिदाइ गरे । अनौपचारिक भनिए पनि उक्त बिदाइमा प्रहरीहरूको भेलाजस्तै देखिएको थियो । बिदाइ भएर फर्केको केही दिनमा डीएसपी भट्टराईमा कोरोना संक्रमण पुष्टि भयो । ज्वरो, रुघाखोकी र श्वासप्रश्वासलगायत समस्या देखिएपछि उनको आईसीयू कक्षमै राखेर उपचार भइरहेको छ ।

परिसरबाट बिदा भएलगत्तै महानगरीय प्रहरी वृत्त कालीमाटीमा डीएसपी कुँवरको गएको आइतबार बिदाइ कार्यक्रम भयो । कार्यक्रम अनौपचारिक भनिए पनि मातहतका प्रहरी र केही स्थानीयसमेत सहभागी भए । परिसर र वृत्त दुवैको बिदाइमा सहभागी भएका कुँवरमा बुधबार संक्रमण पुष्टि भयो । उपत्यकाका तीनैवटा जिल्ला प्रशासन कार्यालयले कुनै जमघट, जात्रा, भेला, भीडभाडलगायत समूहगत कार्यक्रमलाई समेत निषेध गरे पनि प्रहरीभित्र सरुवा र बढुवाका अनौपचारिक जमघट हुने क्रम रोकिएको छैन । त्यसैको पछिल्लो दृष्टान्त कालीमाटी वृत्त र प्रहरी परिसर काठमाडौं हुन् । 

त्यसो त सीमित संरचना र सुविधामा काम गर्न बाध्य प्रहरीमा ब्यारेकभित्र पनि सामूहिक मेसमै खाने, सीमित शौचालय/बाथरुम धेरैले प्रयोग गर्नुपर्ने बाध्यता हटेको छैन । कोरोना संक्रमण देखिएपछि हाल उपचाररत एक प्रहरी हवल्दारले साँघुरो संरचनाको ब्यारेक, धेरैले एउटै ट्वाइलेट प्रयोग गर्नुपर्ने बाध्यता, फिल्ड र ब्यारेकमा भएका रिजर्भ फोर्सको बसाइमा घुलमिललगायत कारणले ब्यारेकभित्रका एक जनामा संक्रमण देखिनेबित्तिकै ठूलो संख्या त्यसबाट जोखिममा पर्ने अवस्था रहेको बताए । व्यक्तिमा देखिएको संक्रमण समुदायमा फैलिएकै शैलीमा प्रहरीभित्र पनि निश्चित व्यक्तिमा देखिएको संक्रमण समूहगत स्वरूपमा विस्तार हुन थालेको छ । बुधबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १६ जनामा एकैचोटि संक्रमण पुष्टि भयो । त्यस्तै प्रवृत्ति केही दिनअघि कोटेश्वरस्थित ट्राफिक प्रहरी र महानगरीय प्रहरी वृत्त सातदोबाटोमा देखिएको थियो । रातो मत्स्येन्द्रनाथको जात्रा सञ्चालनमा विवाद हुँदा ड्युटीमा खटिएका १८ प्रहरीमा पनि त्यसैगरी संक्रमण देखिएको थियो ।

टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत प्रहरीमध्ये ३६ जना सक्रिय संक्रमित छन् । जबकि यहीं कार्यरत ७ प्रहरी संक्रमणपछि निको भएर फर्किसकेका छन् । त्यस्तै प्रहरी अस्पतालमा कार्यरतमध्ये ४४ प्रहरी सक्रिय संक्रमित छन् भने ३१ जना निको भएर फर्किसकेका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरतमध्ये ३ सय १७ जना सक्रिय संक्रमित छन् । ६७ जना निको भएर फर्किसकेका छन् । उपत्यकाभित्र कार्यरत विभिन्न युनिटमा देखिएको संक्रमणको यो अवस्था प्रहरीभित्र समूहगत संक्रमण सुरु भएको अर्को संकेत हो । २० दिनअघिसम्म पनि फिल्डमा खटिने र कनिष्ठ प्रहरी अधिकारीमा बढी संक्रमण देखिएकामा पछिल्लो समय फिल्डमा कम खटिने माथिल्लो दर्जाका प्रहरीमा पनि संक्रमण देखिन थालेको छ । अहिले प्रदेश १ र गण्डकी प्रदेशका डीआईजी कोरोना संक्रमणपछि उपचाररत छन् । प्रहरी अस्पतालमा दुई डीआईजीमा पनि संक्रमण देखिएको थियो ।

दैनन्दिनको सुरक्षामा खटिने प्रहरीहरू ठूलो संख्यामा संक्रमित हुँदै जाँदा उनीहरूलाई उपचारका लागि अस्पतालमा राख्ने बेडको समेत अभाव हुन थालिसकेको छ । उपत्यकाभित्र संक्रमित भएका प्रहरीलाई अहिले प्रहरी अस्पताल, कीर्तिपुरस्थित आयुर्वेदिक अस्पताल र भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा राखिएको छ । प्रहरी प्रधान कार्यालयका एक उच्च प्रहरी अधिकारीले प्रहरीलाई चिकित्सकीय निगरानीमा आइसोलेसनमा राख्न र उपचार चाहिनेलाई अस्पतालमै राख्न पनि समस्या पर्न सक्ने बताए । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले नागरिकसँग घुलमिल भएर दैनिक शान्तिसुरक्षा र अपराध अनुसन्धानमा खटिनुपर्ने भएकाले पछिल्ला दिनमा संक्रमण ब्लक–ब्लकमा देखिन थालेको बताए । संक्रमणसँगै निको हुनेहरूको संख्या पनि बढिरहेको उनले जनाए । कडायतले कामको प्रकृतिका कारण पनि विश्व स्वास्थ्य संगठनले भनेजस्तै प्रोटोकल पालना गर्न कतिपय अवस्थामा असम्भव देखिएको बताए ।

भीडभाड र विरोध जुलुस नियन्त्रणमा प्रहरीसँगै खटिने सशस्त्र प्रहरी पनि संक्रमणको उच्च जोखिममा छ । भदौ ५ मा सशस्त्र प्रहरीमा सक्रिय संक्रमितको संख्या २ सय २४ रहेको थियो । जुन पछिल्लो २० दिनमा बढेर ३ सय ८५ पुगेको छ । सशस्त्रमा पनि ब्यारेकभित्रै ठूलो संख्यामा संक्रमितहरू देखा पर्ने प्रवृत्ति देखिएको छ । करिब दुई साताअघि भक्तपुरको दुवाकोटस्थित गुह्येश्वरी गणमा एकैचोटि ३१ जनालाई संक्रमण देखियो । त्यस्तै कीर्तिपुरको नीलबाराही गणमा एकै पटकको परीक्षणमा २४ जनालाई, वाग्मती प्रदेशको गढीमाई बाहिनीभित्र कार्यरत ५३ जनालाई र इलामस्थित सशस्त्र प्रहरी गणको ब्यारेकमा ४५ जनामा संक्रमण देखियो ।

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार जोखिमको मात्रा बढ्दो छ । उनले भने, ‘जोखिम बढेपछि दीर्घरोगी र नियमित औषधि सेवन गर्नेहरूलाई फिल्डमा नखटाउन देशभर सर्कुलर गरिएको छ । हेडक्वार्टरमा बाहिरी मानिस प्रवेशमा निषेध गरिएको छ ।’ डीआईजी अर्यालका अनुसार संक्रमण फैलिन नदिन ब्यारेकभित्र जोखिमको अनुपात हेरेर रातो, पहेँलो र हरियो क्षेत्रमा छुट्याइएको छ । हरियो क्षेत्रमा राखिएकालाई फिल्डमा खटिने र संक्रमणको लक्षण नदेखिएकालाई राखिएको छ । त्यस्तै घरबिदाबाट फर्किएका र कन्ट्याक्ट ट्रेसिङमा परेर क्वारेन्टाइनमा परेकालाई पहेँलो र संक्रमण पछाडि आइसोलेसनमा बसेकालाई रातो क्षेत्रमा राखिएको छ ।

समूहगत संक्रमणको प्रवृत्ति नेपाली सेनामा तीव्र गतिमा नदेखिए पनि त्यस्तो प्रवृत्ति बढ्दो क्रममा छ । यद्यपि नेपाली सेनाले पनि मातहत जनशक्तिको वृत्ति विकासका तालिम तथा सेमिनारहरूलाई यथावत् राखेको छ । सेनाले शिवपुरीको स्टाफ कलेज र नगरकोटमा हाइअर कमान्ड कोर्स (वार कलेज) मा समूहगत शैलीका तालिमहरू जारी राखेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि केन्द्रीय कमान्डका रूपमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सीसीएमसीको संयोजकमा छन् । तर उनै मातहत रहेको सुरक्षा निकायले सीसीएमसीदेखि स्थानीय प्रशासनसम्म जारी गरेका आदेश तथा निर्देशन पालना हुन सकेको छैन । बढुवामा नभई नहुने मात्रै तालिमलाई आवश्यक स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गरिएको सेनाको दाबी छ । तर समूहगत बसाइ र तालिम/सेमिनार संक्रमणको जोखिमको अर्को कारण बन्न सक्छ । कतिपयमा संक्रमणको लक्षण नै नदेखिने र त्यस्ता मानिस निर्बाध आउजाउ गर्दा संक्रमण अर्को व्यक्तिमा सर्न सक्छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले सेनामा संक्रमित हुनेभन्दा निको हुनेको संख्या पछिल्ला दिन बढ्दै गएको बताए । उनका अनुसार कारागार, आइसोलेसन र क्वारेन्टाइन सुरक्षा व्यवस्थापनमा खटिएकाहरू धेरै संक्रमित भएका छन् । उनले बाहिरबाट आएर क्वारेन्टाइनमा बसेकाहरूलाई व्यवस्थापन गर्दागर्दै कतिपय सेनाबाट अन्यमा समेत फैलिएको बताए । त्यसलाई समेत सुधारेर आन्तरिक व्यवस्थापनलाई कडाइ गरिएको पौडेलको भनाइ छ । उनले भने, ‘ठूलो संख्यामा संक्रमित भएका ब्यारेक र स्थानमा त्यहीअनुसारको सावधानी अपनाइएको छ । अत्यावश्यक बिदा चाहिने काजकिरिया र सुत्केरीबाहेकमा फौजलाई बिदा दिइएको छैन । बाहिरबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको छ ।’ 

कोरोना भाइरस

जनकराज सापकाेटा कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका सम्पादक हुन् । उनको 'जीवन कतिपय' निबन्ध संग्रह र गैरआख्यान पुस्तक 'कहर' लगायत प्रकाशित छन् ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully