पीसीआरको नतिजा दुई सातामा

भाद्र २४, २०७७

मनोज पौडेल

कपिलवस्तु — कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ मानिएको कपिलवस्तुमा स्वाब परीक्षणको नतिजा पाउन अझै पनि दुई साता कुर्नुपर्ने बाध्यता छ । स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको लामो समयसम्म नतिजा थाहा नहुँदै बिरामीको मृत्यु हुन थालेको छ ।

कन्ट्याक्ट ट्रेसिङमा परेका यहाँका एक पत्रकारको पीसीआर रिपोर्ट कुर्दाकुर्दै सोमबार मृत्यु भएको छ । गत भदौ १३ मा उनको स्वाब संकलन गरिएको थियो । यसअघि नै मिर्गौला, उच्च रक्तचाप र चिनी रोगबाट पीडित उनको सोमबार दिउँसो तौलिहवास्थित जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

उनको मृत्युपछि परिवार, आफन्त र छिमेकीले भनसुन गरेर सोमबार साँझ ६ बजेतिर रिपोर्ट त पाए तर कोरोना पोजिटिभ भएको पुष्टिपछि उनको सम्पर्कमा आएकाहरू तनावमा परेका छन् । ‘स्वाब परीक्षणको रिपोर्ट समयमै आएको भए उहाँको बढी हेरचाह हुन्थ्यो,’ परिवारका एक सदस्यले भने, ‘रिपोर्ट नआउँदा सतर्कता अपनाउन पनि सकिएन । अहिले उपचारमा खटिएका अस्पतालका स्वास्थ्यकर्मीदेखि मृत्यु भएपछि श्रद्धाञ्जली दिन आएका आफन्त, छिमेकी र शुभेच्छुक सबै तनावमा छौं ।’

उनीसँगै स्वाब संकलन गरिएका अन्य ७२ जनाको रिपोर्ट ११ दिन भइसक्दा पनि अझै आएको छैन । कपिलवस्तु नगरपालिकाले भदौ १३ मा कन्ट्याक्ट ट्रेसिङका आधारमा ७८ जनाको स्वाब संकलन गरेको थियो । हालसम्म भदौ २१ मा ५ र त्यसको भोलिपल्ट एक जनाको मात्र रिपोर्ट आएको छ । मृत्यु भएका पत्रकारको परिवारमा थप एक जनालाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका अन्य ८ जनाको पनि रिपोर्ट आउन बाँकी छ ।

‘अहिले कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन हुन्छ,’ कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखा संयोजक उमेश गुप्ताले भने, ‘पुरानो रिपोर्ट नआउँदा स्वाब संकलन गर्न सकेका छैनौं ।’ उनका अनुसार यहाँ संकलन गरिएको स्वाब परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइँदै आइएको छ ।

वाणगंगा नगरपालिकाबाट भदौ १६ मा संकलन गरिएको ७४ जनाको स्वाबको रिपोर्ट पनि अझैसम्म आएको छैन । पीसीआर रिपोर्ट समयमै नआउँदा गम्भीर बिरामीको उपचारमा अन्योल उत्पन्न भएको छ । गत बिहीबार संकलन गरिएको कृष्णनगर नगरपालिकाका ६० जनाको स्वाबको रिपोर्ट पनि मंगलबारसम्म आएको छैन । 

कोरोना भाइरस

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully