चितवन — भरतपुरको सरकारी अस्पतालमा उपचार गराइरहेका पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार साँझ साढे पाँच बजे मृत्यु भएको छ ।
भदौ १७ मै संक्रमण पुष्टि भएका ती व्यक्ति भदौ १९ गते सरकारी अस्पतालको कोभिड आईसीयूमा भर्ना भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । ‘कोभिड संक्रमणसहित खोकी र श्वासप्रश्वासको समस्या भइ कोभिड आईसीयूमा भर्ना भएका थिए,’ पौडेलले भने ।
उनको मिर्गौलामा पनि समस्या भएका कारण अस्पतालले डायलाइसिससमेत गरेको पौडेलले बताए । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि भेन्टिलेटरमा समेत राखिएको थियो । चितवनमा योसहित कोरोना संक्रमण देखिएका २३ जनाको निधन भएको छ । निधन भएकामध्ये १२ जना चितवनका छन् ।
चितवन स्वास्थ्य कार्यालयबाट प्राप्त विवरण अनुसार चितवनमा संक्रमितको संख्या मंगलबार दिउँसोसम्म एक हजार ५२ पुगेको छ । निको हुनेहरु २५३ छन् ।
