विराटनगर — कोरोना संक्रमित एक पुरुषको विराटनगरस्थित कोभिड-१९ उपचार केन्द्रमा मृत्यु भएको छ । उनीसहित प्रदेश १ का विभिन्न आइसोलेसन र उपचार केन्द्रमा भर्ना गरिएकामध्ये मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
शनिबार मृत्यु हुने मोरङको धनपालथान गाउँपालिकाका हुन् । श्वास फेर्न असहज भएपछि ५२ वर्षीय उनलाई विराटनगरस्थित कोसी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । त्यहाँबाट उनलाई कोभिड–१९ उपचार केन्द्र पठाइएको थियो । त्यहीँ उनको बिहान करिब ११ बजेतिर मृत्यु भएको हो।
शनिबार गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएका संक्रमितको संख्या चार पुगेको छ।
संक्रमण पुष्टि भएका मोरङभरिका गरी ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।
पछिल्लो पटक शुक्रबार विराटनगरका दुई जना संक्रमित महिलाको मृत्यु भएको थियो । एकजनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा र अर्का एकजनाको कोसी अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो ।
कोरोनाको कारण मोरङमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । प्रदेश १ का विभिन्न आइसोलेसन र उपचार केन्द्रमा भर्ना गरिएकामध्ये मृत्यु हुनेको संख्या ३८ रहेको प्रदेश सरकारले जनाएको छ। तीमध्ये उपचारका लागि प्रदेश १ का अस्पतालमा ल्याइएका १२ जना प्रदेश २ का बासिन्दा छन्।
प्रदेश १ मा संक्रमित हुनेको संख्या शनिबार साँझसम्म ३ हजार ८ सय ३५ पुगेको छ । सबैभन्दा बढी मोरङका १ हजार ८ सय १४ जना संक्रमित छन् ।
तीमध्ये १ हजार ८ सय १९ जना संक्रमणमुक्त भएको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । १ हजार ९ सय ७१ जना संक्रमित प्रदेशका विभिन्न स्थानमा राखिएको आइसोलेसनमा चिकित्सकको निगरानी र हेरचाहमा बसिरहेका छन् ।
