कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पीसीआर परीक्षण गराउन रक्षामन्त्रीको सोर्स !

कोरोना संक्रमित स्वास्थ्यकर्मीको व्यथा : पिसाब फेर्न चर्पी जान दिइएन, बाहिरै प्लास्टिकमा पिसाब फेरेँ
दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिका–१५ का दुर्गालाल जैसीलाई भदौ २ गते बेस्सरी ज्वरो आयो । स्वास्थ्यकर्मी भएकाले आफैं ज्वरो जाँचे । १ सय ४ डिग्री ज्वरो थियो । उनले सिटामोल खाए, ज्वरो कत्ति पनि कम भएन । ज्वरो नघटेपछि भदौ ३ गते घोराहीस्थित दीप ज्योति अस्पताल पुगे ।

पीसीआर परीक्षण गराउन रक्षामन्त्रीको सोर्स !

फिजिसियन डा. मीनचन्द अधिकारीले जाँचे, डाक्टरले हिस्ट्री बुझे । जैसी साउन १९ गते गाडी दुर्घटनामा परेका आफन्तको उपचारका लागि भैरहवा गएका थिए । भैरहवाबाट फर्केपछि ज्वरो आएको भनेपछि डाक्टरले पीसीआर परीक्षण गर्न सुझाव दिए ।

जैसीले घोराही–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेलाई पीसीआर परीक्षण गराउने पहल गरिदिन अनुरोध गरे । उनले घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीलाई जानकारी गराए । पीसीआर परीक्षणको क्रममा छ भन्दै जैसीले तीन दिन कुरे । तीन दिनपछि जैसीले घर्तीलाई आफै फोन गरे । घर्तीले स्थानीय तहले ट्रेसिङको मात्रै काम गर्ने भएकाले आफैं घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर परीक्षण गर्न सुझाए । यतिबेलासम्म जैसीलाई स्वास फेर्न कठिन भइसकेको थियो । आफैं घरमै बाफ लिएर बसिरहेका थिए ।

उनी भदौ ७ मा प्रतिष्ठानमा पुगेर परीक्षण गराए । उनलाई डेंगु परीक्षण गर्न भनियो । डेंगु परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि केही भाको छैन भनेर घर पठाइयो । उनले पीसीआर परीक्षण गर्न भने पनि हुँदैन भनेर पठाइयो । जैसीको अवस्था नाजुक भइसकेको थियो । ज्वरो कत्ति पनि घटेको थिएन । श्वास फेर्न, हिँड्न कठिन हुन थाल्यो । उनलाई कोरोनाको शंका झन् बढ्न थाल्यो । भोलिपल्ट फेरि प्रतिष्ठानमा पुगेर जसरी पनि पीसीआर परीक्षण गरिदिन अनुरोध गरे । त्यतिबेलासम्म उनको अवस्था साह्रै बिग्रिसकेको थियो । प्रतिष्ठानले त्यत्तिकै पीसीआर परीक्षण गर्न मानेन ।

अन्तमा उनले आफ्ना साथी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलका प्रेस सहयोगी लोकेन्द्र केसीलाई समस्या सुनाए । पीसीआर परीक्षणका लागि भनिदिन अनुरोध गरे । उनले प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीसमक्ष कुरा पुर्‍याए । त्यसपछि मात्रै उनको स्वाब लिइयो । उनले स्वाब लिनसमेत माथिबाट भनाउनुपर्ने अवस्था रहेको भन्दै दुखेसो पोखे । ‘१२ घण्टापछि पीसीआर परीक्षणको रिपोर्ट आउने र पोजिटिभ भएमा मात्रै फोन गर्ने भनेर जानकारी दिए,’ जैसीले भने, ‘त्यसपछि म घर गएँ । एक दिन बित्दा पनि फोन आएन । मेरो ज्वरो घटेको थिएन । श्वासप्रश्वासमा झनै समस्या भइरहेको थियो । त्यसपछि अर्को दिन बिहानै ८ बजे श्रीमतीका साथमा प्रतिष्ठान पुगें ।’

उनले आफ्नो रिपोर्टबारे बुझे । ‘अझै रिपोर्ट नआएको भनेर आलटाल गरियो । कुरेर बस्न भनियो । म बाहिर फिभर क्लिनिकमा दिनभर बसें,’ उनले भने, ‘अपराह्न ३ बजे मात्रै रिपोर्ट पोजिटिभ आएको जानकारी दिइयो । त्यसपछि मलाई हेर्न कोही पनि नजिक आएन ।’ उनले दिनभर केही खान पाएका थिएनन् । उनलाई तिर्खा लागेको थियो । श्रीमतीलाई पानी किन्न पठाए तर प्रतिष्ठानका कर्मचारीले पानी किन्न जान पनि दिएनन् । किनेर पनि ल्याइदिएनन् । ‘पिसाब फेर्न चर्पीतर्फ जान खोजेँ, त्यहाँ पनि जान दिएनन् । दिसा लागेको छभन्दा पनि मतलब गरेनन् । अन्तिममा एउटा प्लास्टिक दिए,’ उनले भने, ‘मैले बाहिरै अस्पतालको भित्तामा अडेस लागेर प्लास्टिकमा पिसाब फेरें । अब म मर्छु नै भन्ने लागिरहेको थियो ।’

उनलाई आइसोलेसन पठाउने तयारी पनि भएन । ‘श्वास फेर्न धेरै गाह्रो भएपछि अक्सिजन जोडिदिनुहोस् भनेर अनुरोध गरेँ, सलाइन चढाउन अनुरोध गरे तर केही पनि सुनुवाइ भएन । उनले भने, ‘बेलुकापख मात्रै कता जानुहुन्छ भनेर सोधे । मैले प्रतिष्ठानमा आईसीयू सेवा उद्घाटन भएको सुनेकाले यहाँ राम्रै होला । यहीँ उपचार गर्नुहोस् भनें । तर, यहाँ हुँदैन भनेर मानेनन् ।’ अन्तमा फेरि वडाध्यक्षलाई अनुरोध गरेर उनी राति मात्रै बेलझुण्डी कोरोना विशेष अस्पतालमा गए ।

अस्पतालमा पुगेपछि डाक्टरहरुले राम्रोसँग उपचार गरे । निमोनियाको औषधि गरे । त्यसपछि उनलाई बिस्तारै केही सहज हुन थाल्यो । अहिले उनलाई बाँच्ने आशा पलाएको छ । अहिले उनी कोरोना अस्पतालकै आइसोलेसनमा उपचाररत छन् । ‘म भाग्यले बाँचें । म स्वास्थ्यकर्मी हुँ, मैले लक्षण देखिइसक्दा पनि समयमा पीसीआर परीक्षण गर्न पाइनँ । यति लामो समय म कुरेर बसें,’ जैसीले भने, ‘अन्तमा रक्षामन्त्रीको सोर्स लगाउनुपर्‍यो । यस्तो अवस्थामा कसरी मान्छे बाँच्छ ? सर्वसाधारणले कसरी उपचार पाउँछ ? पीसीआर परीक्षण कसरी हुन्छ ?’

प्रतिष्ठानका निर्देशक डा. सागर पन्थीले भने लक्षण देखिएका बिरामीको पीसीआर परीक्षण सहजै गर्ने गरेको दाबी गरे । ‘हामीले स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार नै काम गरिरहेका छौं । ज्वरो आएको, स्वास फेर्न गाह्रो भएको बिरामी आएमा प्रारम्भिक स्वास्थ्य जाँच गर्छौं । कोरोनाको शंका भए तत्काल स्वाब परीक्षण गर्छौं,’ उनले भने, ‘पीसीआर परीक्षण गराउन कठिनाइ छैन । हामीले बिरामीलाई दु:ख दिने काम पनि गरेका छैनौं ।’

प्रतिष्ठानमा हालसम्म १९ हजार १ सय ९२ स्वाब संकलन भएकामा १९ हजार १ सय २० को परीक्षण भइसकेको उनले जानकारी दिए । जिल्लामा हालसम्म ७ सय ९५ जना कोरोना संक्रमित रहेको र तीमध्ये ८९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले बताए

प्रकाशित : भाद्र २०, २०७७ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?