डायलसिस गराउने सबैलाई बुटवल उपमहानगरले नि:शुल्क पीसीआर परीक्षण गरिदिने

भाद्र २०, २०७७

अमृता अनमोल

बुटवल — बुटवल उपमहानगरपालिकाले डायलसिस सेवा लिइरहनुपर्ने बिरामीको नि:शुल्क पीसीआर परीक्षण गरिदिन थालेको छ । पीसीआर रिपोर्टको अभावमा डायलासिस गराउनु पर्ने बिरामीका उपचारमा कठिनाइ हुन थालेपछि सहजताका लागि नि:शुल्क पीसीआर परीक्षण गर्न थालेको उपमहानगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

‘पायक पर्ने स्थानमा उपमहानगरका स्वास्थ्य प्राविधिक खटाएर स्वाब संकलन गरिने छ,’ प्रमुख सुवेदीले भने, ‘उक्त स्थानसम्म पुग्नसमेत नसक्ने अवस्थाकालाई बिरामीलाई उनीहरु बसेको स्थानै पुगेर पनि पीसीआर परीक्षण गरिने छ ।’

पीसीआर परीक्षणका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस ल्याउनुपर्ने छ । वडाको सिफारिस र उपचार गरेका कागजातका आधारमा उनीहरुको पीसीआर परीक्षण थालिएको शिक्षा तथा स्वास्थ्य महाशाखाका अधिकृत मित्रमणि खनालले बताए ।

बुटवलमा बसेर आसपासका विभिन्न पाँच अस्पतालमा डायलसिस गर्ने बिरामीको संख्या करिब ६ सय रहेको उपमहानगरको तथ्यांक छ । महामारीको बेलामा यस्ता बिरामीको नियमित डायलसिसअघि डेढ महिनामा दुई पटक पीसीआर गर्नुपर्ने मापदण्ड तोकिएको छ । 

कोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully