२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

उपत्यकामा संक्रमित ७ हजार नाघे

बिहीबार मात्रै तीन जिल्लामा ४ सय ९६ जना थपिए

काठमाडौँ, वीरेन्द्रनगर — काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमितको संख्या सात हजार नाघेको छ । उपत्यकामा संक्रमण समुदायस्तरमा फैलन उन्मुख रहेको औंल्याउँदै विज्ञहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्र कुनै पनि प्रकारको सेवा लिन र दिन अत्यावश्यक रहेको बताएका छन् ।

उपत्यकामा संक्रमित ७ हजार नाघे

मुलुकमै पहिलोपटक उपत्यकामा गत माघ ९ मा चीनको वुहानबाट घर आएका एक विद्यार्थीमा संक्रमण पुष्टि भएको थियो । बिहीबार साँझसम्ममा ४ सय ९६ जना थपिएसँगै उपत्यकामा संक्रमितको संख्या ७ हजार ३८ पुगेको छ । स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार काठमाडौंमा ५ हजार ६ सय २२, ललितपुरमा ८ सय १८ र भक्तपुरमा ५ सय ९८ जना संक्रमित भइसकेका छन् । स्वास्थ्य मन्त्रालयले दिउँसो ४ बजेको पत्रकार सम्मेलनमा काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना गरी ४ सय ४५ जना संक्रमित थपिएको जनाएको थियो ।

ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाका अनुसार उपत्यकामा वैशाखदेखि फाट्टफुट्ट संक्रमित देखिँदै आएकामा असार तेस्रो सातादेखि संख्या उल्लेखनीय रूपमा बढेको थियो । चैत दोस्रो सातादेखि मुलुकभरमा लगाइएको लकडाउन साउन ६ गते खोलिएसँगै मानवीय गतिविधि बढेपछि उपत्यकामा संक्रमणको विस्तार तीव्र भयो । हाल उपत्यकामा बालबालिका, बुढापाका गरी हरेक उमेर समूहका संक्रमित देखिएका छन् । संक्रमण सबै क्षेत्रमा देखिएको छ । ‘सुरक्षाकर्मी, बैंकका कर्मचारी, साना–ठूला व्यवसायी, स्वास्थ्यकर्मी, उपचारमा आएका बिरामी, समुदायका अन्य व्यक्तिलगायतमा संक्रमण बढी मात्रामा देखिएको छ,’ कोइरालाले भने ।

उपत्यकामा संक्रमित देखिन सुरु हुँदा पुरुषको दाँजोमा महिलाको संख्या न्यून थियो । तर हाल कुल संक्रमितमध्ये करिब ३० प्रतिशत महिला रहने गरेको कोइरालाले बताए । ‘उपत्यकामा संक्रमण समुदायस्तरमा बढ्न उन्मुख छ,’ उनले भने । हाल उपत्यकालगायत जनघनत्व बढी भएको ठाउँमा जनस्वास्थ्यको अन्य मापदण्ड अपनाउनुका साथै उपयुक्त रूपमा मास्क प्रयोग गरेर संक्रमणको विस्तार रोक्न सहयोग गर्नुपर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । ‘अत्यावश्यक काम भए मात्र घर बाहिर निस्किने, उपयुक्त रूपमा मास्कको प्रयोग गर्ने, अन्य व्यक्तिसँग दुई मिटरको भौतिक दूरीमा रहने र नियमित रूपमा साबुनपानीले हात सफा गर्ने गरे संक्रमणको सम्भावना कम गर्न सकिन्छ,’ उनले भने ।

हाल मुलुकमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका १२ जिल्लामध्ये उपत्यकाका काठमाडौं र ललितपुर पनि पर्छन् । उपत्यकाका १८ वटा अस्पतालमा १ हजार ५ सय ९३ जना कोभिड–१९ का बिरामी आइसोलेसनमा छन् भने ७७ जना आईसीयू र १२ जना भेन्टिलेटरमा छन् । काठमाडौं उपत्यकामा कोभिड–१९ ले हालसम्म ४३ जनाको मृत्यु भएको छ । काठमाडौं जिल्लामा २६, भक्तपुरमा १० र ललितपुरमा ७ जनाको मृत्यु भएको हो ।

समुदायमा संक्रमण बढ्दो

गत जेठ ५ मा पहिलो संक्रमित फेला परेको कर्णालीमा सुरुमा क्वारेन्टाइनमा बसेकामा मात्रै कोरोना संक्रमण देखियो । साउनयता भने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र स्थानीयमा समेत संक्रमण बढ्दै गएको छ ।

कुनै यात्रा इतिहास नै नभएकाहरूमा संक्रमण पुष्टि भएपछि समुदायमै संक्रमण विस्तार भएको भन्दै जिल्ला प्रशासन कार्यालय, सुर्खेतले भदौ १–१२ सम्म निषेधाज्ञा जारी गर्‍यो । निषेधाज्ञाअघि पनि सेवाग्राहीको चाप बढ्ने कार्यालयमा एक साता सेवा प्रवाह रोकिएको थियो । तर निषेधाज्ञापछि पनि प्रदेश राजधानी वीरेन्द्रनगरसहित अन्य ठाउँमा संक्रमितको संख्या घट्नुको साटो बढिरहेको स्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले बताए । उनका अनुसार निषेधाज्ञाभर वीरेन्द्रनगरमा मात्रै ९३ जनामा संक्रमण पुष्टि भयो । गत सोमबार पनि सुर्खेतमा एकै दिन ३७ संक्रमित फेला परे ।

उनीहरूमध्ये वीरेन्द्रनगरका २८, गुर्भाकोटका ८ र चौकुने गाउँपालिकाका एक जना थिए । त्यस दिन संक्रमण देखिएकोमा अधिकांश समुदायस्तरका व्यक्ति हुन् । हालसम्म संक्रमितको संख्या वीरेन्द्रनगरमा २ सय ५६ र सुर्खेतमा ७ सय ४२ पुगेको वाग्लेले बताए । जसमध्ये ६ सय ५७ जना निको भइसकेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयअनुसार अहिलेसम्म कर्णालीका विभिन्न जिल्लामा कार्यरत ५७/५७ जना स्वास्थ्यकर्मी र सुरक्षाकर्मी संक्रमित भएका छन् । यसबाहेक थुनुवा, जनप्रतिनिधि, सामाजिक अभियन्ता, सवारी चालक र कामदारहरूलाई संक्रमण देखिएको छ ।

बुधबार सुर्खेत अदालतका एक कर्मचारीमा पनि कोरोना देखियो । कर्मचारीमा संक्रमण भएपछि बुधबारदेखि नै अत्यावश्यकबाहेक अन्य सेवा प्रवाह रोकेको अदालतका स्रेस्तेदार यमप्रसाद बाँस्कोटाले बताए । उनका अनुसार यस अवधिमा अदालतबाट म्याद थप, पक्राउ पुर्जी, कोरोनासम्बन्धी रिट र बन्दी प्रत्यक्षीकरणका सेवा प्रवाह भने सुचारु हुनेछन् ।

यसैबीच, भदौ १ देखि बबई नाकाबाट कर्णाली भित्रिनेहरूको पीसीआर रिपोर्ट अनिवार्य गरेको कर्णाली सरकारले अब कोरोनाको लक्षण देखिएकाहरूको मात्रै परीक्षण गर्ने भएको छ । मंगलबार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्र (पीसीएमसी) को बैठकले लक्षण देखिएका, ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका र संक्रमण आशंकामा रहेकाहरूको मात्र पीसीआर परीक्षण गर्ने निर्णय गरेको हो । उपयुक्त मापदण्ड बनाई संक्रमितको निःशुल्क उपचार गर्ने, प्रभावको विश्लेषण गरी आवश्यक पर्ने जनशक्ति, पूर्वाधार र औषधिको लेखाजोखा गर्ने जिम्मा सामाजिक विकास मन्त्राललाई दिने निर्णयसमेत बैठकले निर्णय गरेको छ ।

प्रकाशित : भाद्र १९, २०७७ ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?