वीरगन्जमा भदौ २५ गतेसम्म निषेधाज्ञा थपियो

भाद्र १८, २०७७

भूषण यादव

वीरगन्ज — वीरगन्जमा गत साउन १० देखि जारी निषेधाज्ञालाई भदौ २५ गतेसम्म निरन्तरता दिने निर्णय भएको छ ।

बिहीबार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले भदौ १८ गते मध्यरातसम्मका लागि वीरगन्ज महानगरपालिका क्षेत्रभित्र जारी निषेधाज्ञालाई भदौ २५ गते मध्यरातसम्म निरन्तरता दिने निर्णय गरेको हो । 

सुरक्षा समितिले गत साउन १० देखि महानगरपालिका क्षेत्रभित्र तथा साउन १९ देखि पर्सा जिल्ला भरि लागू हुने गरी निषेधाज्ञाको निर्णय गरेको थियो । भदौ १३ यता महानगरक्षेत्रभित्र मात्र निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाकै क्रममा भदौ १९ देखि बजार तथा पसल खोल्ने व्यवस्था स्थानीय सुरक्षा समितिले गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । पसलहरु दिउँसो ११ बजेदेखि ४ बजेसम्म र तरकारी तथा फलफूल पसल बिहान ५ बजेदेखि ८ बजेसम्ममात्र सञ्चालन गर्नुपर्ने सुरक्षा समितिले निर्णय गरेको छ ।

सोमबार, बुधबार र शुक्रबार बजारमा रहेका पसलहरुमध्ये पूर्वतर्फ र दक्षिणतर्फ फर्केका पसलहरु मात्र खोल्न पाइनेछ । यसैगरी आइतबार, मंगलबार र बिहीबार पश्चिमतर्फ र उत्तरतर्फ फर्केका पसलहरु मात्र खोल्न पाइनेछ । तरकारी तथा फलफूलको हकमा रेल्वे रोडमा घन्टाघर चोक देखि २ सय मिटर स्कुलदेखि दक्षिणतर्फ एकतर्फी रुपमा मात्र पसलहरु राख्ने र दुई पसल बीचको दूरी न्यूनतम १५ फिट राख्नुपर्ने छ । उक्त सडक खण्डमा तोकिएको अवधि भरी कुनै पनि मालवाहक, यात्रुवाहक सवारी साधन सञ्चालन गर्न पाइने छैन् । यस्ता पसलहरु शनिबार पूर्णरुपले बन्द रहने छन् । 

तेकिएको समय र स्थान बाहेक अन्य समय वा स्थानमा कुनै पनि प्रकारले पसल खोलेको, सामान बेचेको वा भिडभाड गरेको पाइएमा तत्काल कानुन बमोजिम कारबाही गरिने प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आ–आफ्नो पसलमा आउने ग्राहकहरुलाई सामाजिक दूरी कायम गर्ने र भिडभाड नियन्त्रण गर्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यवसायीको हुने विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य तथा सुरक्षाको मापदण्ड उल्लंघन भएको पाइएमा सम्बन्धित व्यवसायीलाई कारवाही गरिने निर्णय भएको छ । 

यस्तै जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधनहरु सञ्चालनमा रोक,मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, चारजना भन्दा बढी व्यक्तिहरु एक ठाउँमा जम्मा हुन नपाइने विज्ञप्तिमा जनाइएको छ ।

कोरोना भाइरस

भूषण

Link copied successfully