बागलुङ — लगातार वर्षापछि आएको बाढी–पहिरोमा परी बागलुङको ढोरपाटन नगरपालिकामा दुई जनाको मृत्यु हुनुका साथै आठ जनाभन्दा बढी बेपत्ता भएका छन् । स्थानीय धाेबीखाेलाकाे बाढी र वडा नम्बर ९ को देउरालीबाट खसेको पहिरोले बुधबार राति सुप्राङ, लाकुरीबोट र दुनेपंधेराका गरी १५ भन्दा बढी घर बगाएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।
‘यी सबै प्रारम्भिक जानकारी हुन्, बेपत्ताको संख्या अझै बढ्न सक्छ,’ उनले भने, ‘१५ देखि २० घर बगाएको अनुमान छ। एउटा स्कुलकाे आधा भाग र एउटा गाडीसमेत बगाएको सूचना छ ।’ उनका अनुसार ६, ७, ८ र ९ वडा प्रभावित भएकामा ८ र ९ वडामा बढी क्षति भएको छ ।
बुधबार राति १२ बजेतिर पहिरो गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्र रेग्मीले बताए । इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट उद्धार टोली गइरहेको उनले जानकारी दिए । घटनास्थल सदरमुकामदेखि १ सय ३० किलोमिटर पश्चिममा पर्छ । भुजी खोलाका कतिपय पुल जोखिमपूर्ण भएकोले उद्धारमा जानेलाई पनि कठिनाइ रहेको स्थानीयको भनाइ छ ।
ढोरपाटन सिकार आरक्ष र घोडाबाँधेस्थित नेपाली सेनाको टोली पनि उद्धारका लागि गएको अर्जुनवाण गणका गणपति मिलनध्वज खाँडले बताए । स्थानीय बासिन्दाले उद्धार र पहिरो पन्छाउने काम गरिरहेको त्यहाँस्थित ज्ञानोदय माविका प्रधानाध्यापक यामबहादुर कायतले जानकारी दिए । पानी परिरहेको र मौसम परिवर्तन भइरहने भएकाले उद्धारमा कठिनाइ परेको उनको भनाइ छ ।
