पहिरोमा पुरिएर पाल्पामा एक जना बेपत्ता

भाद्र १६, २०७७

माधव अर्याल

पाल्पा — पहिरोमा पुरिएर रम्भा गाउँपालिका–३, पिपलडाँडाका ३१ वर्षीय राजकुमार थापा सोमबार अपरान्हदेखि बेपत्ता भएका छन् । दाउरा खोज्न गएको र नजिकको खोल्सामा पानी पिएर फर्किने क्रममा  पहिरोमा पुरिएर बेपत्ता भएको राम्दी प्रहरी चौकीले जनाएको छ । 

राजकुमारसँगै गएका उनका भाइ कमल थापाले परिवारमा जानकारी दिएका हुन् । पहिरो ठूलो भएकाले स्थानीय र प्रहरीको पहलमा बेपत्ता राजकुमारको खोजी कार्य जारी रहेको लसुने–ओमभन्ज्याङ सडक उपभोक्ता समितिका अध्यक्ष हरि बैदवारले बताए ।

पहिरो पन्छाउन अझै केही समय लाग्ने उनले बताए । डोजर प्रयोग गर्न सक्ने अवस्था समेत नरहेकाले ढिलाइ भएको उनले बताए । 

बाढी-पहिरो

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully