कालीकोटको नाग्मबजारमा पहिरो, १ को मृत्यु, १२ जना बेपत्ता

तुलाराम पाण्डे

कालिकोट — कालीकोटको तिलागुफा-१ स्थित नाग्म बजारमा आइतबार बिहानको पहिरो जाँदा १ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् ।

पहिरोमा चारवटा घर पुरिदा १२ जना बेपत्ता भएको आशंका गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । पहिरोमा परी ५ वर्षीय निराजन शाहीको मृत्यु भएको छ । अन्य दुई जनाको जीवितै उद्धार गरिएको प्रजिअ गैरेले बताए ।

नाग्म बजारको पछाडीपट्टीको भिरोलो जमिन भासिएर पहिरो जाँदा तिलागुफा-१ का लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारको घर पुरिएका हुन् ।

प्रहरीले जीवितै उद्धार गरेका अर्जुन हमाल र पुन्नी शाहीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ । पहिरोमा परी पुन्नी शाहीका ४० वर्षीय पति प्रयाग शाही, ७ वर्षीया छोरी हिमा, र १ महिने छोरा अक्कल बेपत्ता भएको कालीकोटका डीएसपी श्यामबाबु ओलियाले बताए । अन्यको जानकारी लिने काम भइरहेको डीएसपी ओलियाले बताए । पहिरोले कर्णाली राजमार्ग पनि अवरुद्ध भएको छ ।

कालीकोट र जुम्लाको सिमानामा पर्ने नाग्म बजार कालीकोटको तिलागुफा नगरपालिका, जुम्लाको हिमा र तिला गाउँपालिकाको व्यापारिक केन्द्र हो ।

प्रकाशित : भाद्र १४, २०७७ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?