रातभर निदाउँदैनन् पहिरोपीडित

भाद्र ११, २०७७

विप्लव महर्जन

सल्यान — गाउँमाथिबाट खसेको पहिरोले बाग्चौर नगरपालिका–१२ ओखरेनीका वीरसिंह डाँगीको घर बगायो । गत बुधबार राति १ बजेतिरको यो घटनामा वीरसिंहका छिमेकी सूर्यबहादुर ओलीको पनि घर पुरियो । दुवै परिवार एक सातादेखि विस्थापित छन् ।

उनीहरू मात्र होइन, ओखरेनी, जरेपानी र अँधेरीका ७१ परिवार अहिले दुर्गा माविमा बस्दै आएका छन् । केहीको घर भत्किएको छ भने केहीको घर पहिरोको उच्च जोखिममा छन् । विस्थापित भएर बसेकै ठाउँ पनि बगाउने हो कि भन्ने चिन्ताले रातभर निद्रा नलाग्ने उनीहरूको गुनासो छ । ‘ठूलो कालबाट बाँचियो तर आँखा वरिपरि त्यही पहिरो आउँदा रातभर निदाउन सकिँदैन,’ डाँगीले भने, ‘त्यसमा पनि अहिले बसेकै ठाउँ बगाउने हो कि भन्ने चिन्ता सबैलाई छ ।’

विस्थापित भएदेखि उनीहरूले न पेटभरि खान पाएका छन् न राम्ररी सुत्न नै । ‘वर्षौं भारत बसेर कमाएको पैसाले बनाएको घर एकैछिनमा पुरियो,’ डाँगीले भने, ‘अब न अन्न उब्जाउने जग्गा छ न घर नै ।’ एक महिनाअघि भारतबाट फर्कंदा कमाएर ल्याएको ५० हजार रुपैयाँ पनि पहिरोले पुरेको उनले सुनाए ।

गाउँवरिपरि पहिरैपहिरो खसेकाले रातभर निद्रा नलाग्ने जरेपानीका ७६ वर्षीय केशबहादुर ओली बताउँछन् । ‘पहिरोले जताततै चिरैचिरा पारेको छ,’ उनले भने, ‘अब घर गएर पनि के खाने, कहाँ बस्ने ?’ पहिरोको जोखिममा रहेको घरबाट केही निकाल्न नपाएपछि एकसरो कपडाको भरमा विस्थापित जीवन काटिरहेको उनले दुखेसो पोखे ।

ढुंगा कम भएको पहाडी भूभाग भएकाले बाफुखोलाको चारैतिर पहिरो खसेको वडाध्यक्ष दीपक ओलीको भनाइ छ । जथाभावी सडक निर्माणका कारण पनि गाउँमा पहिरोले ठूलो क्षति पुर्‍याएको उनले बताए । उनका अनुसार बाढीका कारण दोभानखोला बजार पनि डुवानमा परेको छ । कर्णाली प्रदेश सरकारले उपलब्ध गराएको राहत पीडितलाई वितरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जिल्लाभरको बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन भइरहेको बताए । ‘क्षतिको विवरण आउनबित्तिकै पीडित परिवारलाई राहत वितरण गरिनेछ,’ उनले भने, ‘थप क्षति हुन नदिन स्थानीयलाई सतर्क रहन आग्रह गरेका छौं ।’

बाढी-पहिरो

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully