विपद् जोखिम लगानी रणनीति ल्याउने तयारी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विपद् जोखिम लगानी रणनीति ल्याउने तयारी

नोक्सान भएको कृषिउपज, पशुधन, सरकारी पुल, भवन, विद्यालयले क्षतिपूर्ति पाउने र पुनर्निर्माणका लागि लगानी जुटाइने
ऋषिराम पौड्याल

काठमाडौँ — सरकारले बाढीपहिरोलगायत प्राकृतिक प्रकोपबाट हुने क्षतिको आर्थिक स्रोत व्यवस्थापन र पीडित परिवारको आवास निर्माणमा सहजता ल्याउन विपद् जोखिम वित्तीय लगानी रणनीति ल्याउने तयारी गरेको छ । यो रणनीतिले प्रकोपबाट विस्थापित परिवारलाई आवास निर्माणमा आर्थिक सहयोग पुग्ने गरी जोखिममा आधारित बिमा योजना अघि सारेको छ ।

विगत १० वर्षको सरकारी तथ्यांकअनुसार बाढीपहिरोबाट मात्र बर्सेनि हजारभन्दा बढी परिवार घरबारविहीन हुने गरेका छन् । नोक्सान भएको कृषिउपज, पशुधन, सरकारी पुल, भवन, विद्यालयले क्षतिपूर्ति पाउने र पुनर्निर्माणका लागि लगानी जुटाउने गरी पहिलोपटक यस्तो रणनीति ल्याउन लागिएको हो ।

गृह मन्त्रालयअन्तर्गत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रस्ताव गरेको उक्त रणनीति तयार गर्न विश्व बैंकको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ । भूकम्प, बाढीपहिरो, आगलागी, चट्याङलगायत सबै खालका प्रकोपबाट बर्सेनि हुने क्षति सरकार एक्लैले बेहोर्न नसक्ने निष्कर्षका आधारमा तीनै तहका सरकार, निजी क्षेत्र र सर्वसाधारणको लगानी रहने गरी बिमा मस्यौदामा छलफल भइरहेको छ । अर्थ सचिव शिशिरकुमार ढुंगानाका अनुसार अहिले उक्त रणनीति मस्यौदा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा छलफलका क्रममा छ । रणनीति गृह मन्त्रालयमा छलफल गरेर अर्थ मन्त्रालय पठाइएको हो । अर्थले अन्तिम टुंगो लगाएपछि कानुन मन्त्रालयको राय लिएर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिनेछ । मन्त्रिपरिषद्बाट पारित गराएर लागू गरिनेछ ।

बाढीपहिरो , भूकम्प र आगलागीजस्ता प्रकोपबाट पीडितलाई सरकारले पूर्वअवस्थामै पुग्ने गरी आर्थिक सहयोग गर्न नसक्ने भएकाले बिमामार्फत सहयोग जुटाउन खोजिएको हो । – अनिल पोखरेल, प्रमुख कार्यकारी अधिकृत, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

रणनीतिअन्तर्गत सर्वसाधारणको सबै घरको बिमा गर्न प्रोत्साहित गरिनेछ । यो नीति लागू भएमा प्राकृतिक प्रकोपमा परेकाहरूको आवास निर्माणका लागि बिमा कम्पनीहरूले रकम उपलब्ध गराउनेछन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार बाढीपहिरो, भूकम्प र आगलागीजस्ता प्रकोपबाट पीडितलाई सरकारले पूर्वअवस्थामै पुग्ने गरी आर्थिक सहयोग गर्न नसक्ने भएकाले बिमामार्फत यस्तो सहयोग जुटाउन खोजिएको हो । ‘निजी क्षेत्र, स्थानीय तह, प्रादेशिक वा संघीय सरकार जोसुकैले बिमाका लागि सहयोग गर्न सक्ने गरी रणनीतिक योजनाको मस्यौदा भइरहेको छ, यसका लागि घरधनीले पनि बिमाको प्रिमियम तिर्ने व्यवस्था गरिनेछ,’ पोखरेलले भने ।

बर्सेनि आउने विपद्को स्रोत व्यवस्थापन सरकार एक्लैले गर्न नसक्ने भएकाले निजी क्षेत्रसमेतको सहभागिता गराउन खोजिएको सचिव ढुंगानाले बताए । रणनीति पारित भएपछि पनि यसको विभिन्न ‘मोडालिटी’ तयार गर्न थप कामका लागि विश्व बैंकको सहयोग रहनेछ । बैंकले सरकारको विकास नीतिमा गर्ने सुधार कार्यक्रमअन्तर्गत बजेटरी सहयोग गरेको हो ।

बर्सेनि हजार परिवार घरविहीन

विपद् जोखिम प्राधिकरणले गत असारको अन्तिम साता प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रस्तुत गरेको तथ्यांकअनुसार पछिल्लो १० वर्षमा ९भूकम्पमा बाहेक० बाढीपहिराले मात्र ११ हजार घर पूर्ण रूपमा क्षति भएका छन् । विवरणअनुसार बर्सेनि लगभग हजारभन्दा बढी परिवार घरविहीन हुने गरेका छन् । बिमा योजनाले यस्तै परिवारलाई बढी फाइदा गराउन र थप आर्थिक भार नपार्न खोजेको प्राधिकरणका कार्यकारी अधिकृत पोखरेलले बताए ।

मुलकभर बाढीपहिरो बढ्दै गएपछि घरहरू पूर्ण रूपमा क्षति भएको प्रतिपरिवारलाई एक लाख दिने निर्णय मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले गरेको छ । गत आर्थिक वर्षसम्म यो शीर्षकमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रतिपरिवार ५० हजार दिने गरिएको थियो । विपद् प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो १० वर्षमा निजी घर तथा गोठको क्षति १६ अर्ब बराबरको भएको छ । उक्त क्षतिपूर्ति सरकारले दिन सक्ने अवस्था रहँदैन । सरकारी संरचनाको बिमा गर्ने नीति नभएकाले त्यसको पुनर्निर्माण बर्सेनि राज्य कोषबाट हुने गरेको छ ।

गृह मन्त्रालय राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीका अनुसार चालु वर्षमा बाढीपहिरोबाट मुलुकभर क्षति भएका घरधुरीको यकिन तथ्यांक आउन सकेको छैन । सिन्धुपाल्चोकमा मात्र १० हजार घर विस्थापित भएको प्रारम्भिक तथ्यांक आएको जानकारी उनले दिए । ‘मुलुकभरको पूर्ण जानकारी मनसुन कम भएपछि मात्र आउँछ,’ उनले भने । यो वर्ष सिन्धुपाल्चोक, सुर्खेत, बाजुरा, अछाम, बझाङ, दैलेख, बैतडीलगायतका जिल्लाहरू बाढीपहिरोबाट बढी प्रभावित छन् ।

प्राकृतिक प्रकोपमा परेर मृत्यु भएकाहरूलाई सरकारले गत आर्थिक वर्षसम्म प्रतिव्यक्ति एक लाख दिने गरेको थियो । चालु आवमा भने बिहीबारको मन्त्रिपरिषद्को निर्णयअनुसार एक जनाको मृत्यु भएमा २ लाख र सोही परिवारमा अन्य व्यक्तिको मृत्यु भएका प्रतिव्यक्ति एक–एक लाख थप गरिनेछ । ‘बिमा नीतिले घर बनाउने पीडितले धेरै रकम पाउने उद्देश्य हामीले राखेका छौं,’ विपद् प्राधिकरणका कार्यकारी अधिकृत पोखरेलले भने । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि लाभग्राही सूचीमा परेर सरकारी अनुदानमा बन्ने भूकम्पपीडितको घरहरूको बिमा गर्नुपर्ने प्रस्ताव गरे पनि लागू हुन सकेको थिएन । पुनर्निर्माणका सहप्रवक्ता मनोहर घिमिरेले त्यतिबेला बिमा प्रस्ताव अघि सारे पनि निर्णय हुन नसकेको बताए ।

‘सरकारी संरचनाकै बिमा छैन’

सहरी विकास मन्त्रालयका अनुसार सरकारी भवन, विकास योजनालगायतका संरचनाहरूको बिमा गर्ने नीति छैन । त्यसैले संघीय राजधानीको सिंहदरबारदेखि मुलुकका सबै स्थानका सरकारी संरचनाको बिमा गरिएको छैन । सरकारले बर्सेनि अर्बौं खर्चेर निर्माण गरेका कुनै पनि संरचनाको बिमा गर्ने नीति नभएको सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी बताउँछन् । उनले आफ्नो मन्त्रालय संरचनाका प्राविधिक पाटो हेर्ने भएकाले बिमाको विषयमा ध्यान नदिएको उनले बताए ।

बैंकको ऋणबाट बनेका निजी आवास तथा ठूला कम्प्लेक्सहरूको बिमा गर्ने गरिएको छ । त्यसमा आफ्नो लगानी नोक्सानी हुने डरले बैंकहरूकै दबाबमा मात्र बिमा गर्ने गरेको हो । अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव उत्तरकुमार खत्रीका अनुसार मुलुकभर करिब ८ लाख निजी घरको मात्र बिमा भएको अनुमान छ । सरकारी भवनहरूको भने नगन्य मात्रामा बिमा भएको उनले बताए । उनले भूकम्पपछि निजी घर र सरकारी भवनको बिमा गर्नुपर्छ भन्ने चेतनाको विकास भएको बताए ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले सरकारी भवनको बिमा गरेको जानकारी आफूलाई नभएको बताए । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले विदेशमा विकास संरचनासमेतको बिमा हुने गरेको बताए ।

प्रकाशित : भाद्र ९, २०७७ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्

अतिरिक्त सीप सिक्ने र सिकाउने समय

मधु राई

हामी विद्यालयका शिक्षक सहकर्मीहरूबीच दैनिक एक घण्टा सामूहिक भर्चुअल कुराकानी सुरु भएको चार महिना बढी भयो । पहिलो पन्ध्र मिनेट कोरोनासम्बन्धी जानकारी आदानप्रदानलगायत दैनिकी लेखन र वाचन गर्दै आएका छौं ।

यसबीच एलकेजी र यूकेजीका लागि अंग्रेजी अंकमा आधारित चित्रसहितको निर्देशिका बनायौं । विद्यार्थीलाई नेपाली भाषाको शिक्षणसिकाइ सहज होस् भनेर मात्राअनुसारको नेपाली बालचित्र कथाका लागि शब्दचयन र वाक्यगठन गर्ने सीप सिक्दै छौं । बालचित्र कथाका लागि चाहिने वाक्यअनुसारको चित्र पनि कोर्न सिक्दै छौं ।

सिलाइमा चासो राख्ने केही शिक्षकले तातो भाँडा समात्ने पोट होल्डर, एप्रोन, मास्क र आफूले लगाउने लुगासमेत सिलाउन थालेका छन् । कतिपय आफन्त र छिमेकीले यस्ता सामग्री किनिदिने र अर्डर गर्ने गरेका छन् । म आफैं पनि प्लास्टिकको झोलाबाट डोरी बनाई पाउपोछ र चटाई बनाउन सिक्दै छु । कौसीखेती र करेसाबारीका लागि बिरुवा उत्पादन गर्दै छु र छिमेकी दिदीबहिनीलाई बर्खे रायोलगायत फर्सी र लौकाका बिरुवा बाँड्दै आएकी छु । फुर्सदको समयमा कागज र माटोबाट शैक्षिक सामग्री बनाउँदै आएका मेरा कतिपय सहकर्मीले अहिले त्यस्ता सामग्रीसमेत बनाउन थालेका छन् । हस्तकलाका सामग्री बनाउने पियन बहिनीहरूले अहिले समूह बनाई प्लास्टिकका झोला, चाउचाउका प्याकेटलगायतमा ऊनी धागोबाट ससाना पर्स र झोला बनाउन थालेका छन् ।

शिक्षणसँगै अतिरिक्त सीप सिकेका कतिपय शिक्षकले अहिले लकडाउनको समयमा हस्तकलाका सामग्री बनाई सामाजिक सञ्जालमार्फत बिक्री–वितरण गर्दै आएका छन् । बालवाटिका विद्यालयकी शिक्षिका सुनिता छाराहाङ आफूले बनाएका जुट र कपडाका फुटम्याटसँगै अरूका काम पनि बेच्ने गर्छिन् । उनले इन्स्टाग्राम र फेसबुकमा ‘आमाको चिनो’ मार्फत ती सामग्रीको विज्ञापन, संकलन र बिक्री गर्दै आएकी छन् । लकडाउनले कतिपय शिक्षकलाई यस्ता सीप तिखार्ने अवसर जुराइदिएको छ । यस्ता सीप सिकेका वा सिक्न चाहनेहरूका लागि सूचना प्रविधिले पनि थप सहयोग गर्दै आएको छ । कतिपय शैक्षिकलगायत केही सेवाप्रदायक संस्थाहरूले जुम प्रविधिमार्फत संवाद, तालिम तथा गोष्ठीहरू सञ्चालन गर्दै आएका छन् । कतिपय निजी विद्यालयले अनलाइन कक्षा थालेका छन् । असहज परिस्थितिमा कसरी शिक्षण गर्ने भन्ने सीपसमेत सिक्दै छन् शिक्षकहरूले । विभिन्न सेवाप्रदायक संस्था र सञ्चारमाध्यमहरूको सहकार्य र समन्वयमा रेडियो कक्षा कार्यक्रमहरूसमेत सुरु भएका छन् । तिनमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीले सामाजिक अध्ययन, विज्ञान र अंग्रेजी विषय सुनेर सिक्ने अवसर पाएका छन् । यसरी विषम परिस्थितिमा कतिपय विद्यार्थीले पनि सूचना प्रविधिको सहयोगमा पढाइ जारी राखेका छन् ।

सूचना प्रविधिको पहुँच हुने अभिभावकहरूले पनि लकडाउनका बेला आफ्ना छोराछोरीलाई जीवनोपयोगी व्यावहारिक सीपहरू सिकाउन जरुरी छ । यसो गर्न सके उनीहरू सिर्जनशील हुन प्रेरित हुन्थे । तर, सूचना प्रविधिमा पहुँच भएका अधिकांश अभिभावकले मनोरञ्जन प्राप्तिका लागि मात्रै यस्ता सुविधा उपभोग गरिरहेको देखिन्छ । यस्तै कारणले गर्दा तिनका लागि सूचना प्रविधिले दिन सक्ने ज्ञान ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ भएको छ । मनोरञ्जनका लागि मात्रै सूचना प्रविधिको उपभोग गर्दै आएका अभिभावकका छोराछोरीले पनि प्रविधिको प्रयोग त्यसमै मात्र गरिरहेको देखिन्छ । विशेष गरी किशोरावस्थाका छोराछोरीहरूले जथाभावी सूचना प्रविधिको उपभोग गर्दा यसले पछिल्लो समय आपराधिक घटनाहरू बढेका छन् । लकडाउनयता अनेक

आपराधिक घटनाको सुरुआत सामाजिक सञ्जालबाटै भएको अध्ययन–अनुसन्धानले देखाएका छन् । यस्तै, जति बेला पायो त्यति बेला मोबाइल गेम खेल्न मरिहत्ते गर्ने ससाना बालबालिकाको स्वास्थ्यमा मात्रै हैन, सिर्जनात्मकतामा समेत नकारात्मक प्रभाव पार्छ र किशोर वर्गलाई लक्ष्यविहीन बनाउँछ भनी अध्ययन–अनुसन्धानले प्रमाणित गरेका छन् ।

यसरी अध्ययन–अनुसन्धानले प्रमाणित गरेका कतिपय गहन कुराहरू बहुसंख्यक अभिभावकलाई थाहा नहुँदा वा थाहा पाएर पनि आफ्ना छोराछोरीलाई सही मार्गनिर्देशन गर्न नसक्दाको परिणामस्वरूप स्कुले शिक्षा अनुत्पादक बन्दै छ । यस्तै परीक्षामुखी शिक्षाको परिणामले गर्दा पनि लकडाउनका बेला विद्यालय जान नपाएका विद्यार्थीहरूमा थुप्रै मनोवैज्ञानिक समस्या पैदा हुन सक्छन्, हुँदै छन् । त्यसैले यो महामारीको समयमा अभिभावकहरूले आफ्ना छोराछोरीको मनोविज्ञान बुझी बहुभूमिका निर्वाह गर्न जरुरी छ ।

प्रकाशित : भाद्र ९, २०७७ ०८:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×