लोकमार्ग छियाछिया

भाद्र ११, २०७७

प्रकाश बराल

बागलुङ — निसीखोला गाउँपालिका–२ का नवराज परियार सदरमुकामदेखि घरसम्म पुग्दा सास्ती खेपे । दर्जनौं पहिरो, खाल्डाखुल्डी र भासिएको सडकमा जोखिमको यात्रा गर्नुपरेको उनले बताए ।

गलकोटका सुदर्शन नेपालीले १९ वर्षअघि सदरमुकाम आउँदाभन्दा अहिले सास्ती खेपेको बताउँछन् । ‘सडकको ट्र्याक खुलेको वर्ष सहजै यात्रा गरिन्थ्यो, अहिले जोखिम मोल्नुपर्छ,’ उनले भने, ‘जती सास्ती पाए पनि निर्माण गर्नेले वास्ता गर्दैनन् ।’

ग्रामीण र कृषि सडकबाट मध्यपहाडी लोकमार्गमा सूचीकृत भएपछि यात्रा बढी कठिन भएको उनको भनाइ छ । हिउँदमा सामान्य सडकको अधिकांश खण्ड वर्षामा छियाछिया परेको छ । लोकमार्ग भए पनि मोटरसाइकल लिएर हिँड्नै नसकिने भएपछि आफ्नो सवारी छाडेर जीप चढेर घर पुगेको काठेखोला–५ का विक्रम सापकोटाले बताए । जीपमा पनि जोखिम उत्तिकै छ ।

बागलुङ नगरपालिकाको बोक्से र खहरेमा अत्यधिक जोखिम छ । काठेखोला गाउँपालिकाको अक्षेते, बिहुँ, इनारपानी र ठूलो ढुंगालगायत स्थानमा सडक जीर्ण बनेको छ । गलकोट नगरपालिकाको नरेठाँटी, दुदिलाभाटी र रिघातर्फ बढी क्षति छ । ‘यो खण्डमा दर्जनभन्दा बढी ठाउँ भासिएका छन्, पहिरो गनिसाध्य छैन,’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘तत्काल यातायात खुलाउन मध्यपहाडी लोकमार्ग आयोजनाले हेरेको छैन ।’ सिँचाइ कुलो बगाएकोले किसानले सिँचाइ सुबिधा नपाएको उनले बताए । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकातर्फका शाखा सडकले मुख्य मार्ग क्षतविक्षत छन् ।

नालीबिना सडक बनाइएकाले धेरै स्थानमा भासिएको स्थानीयको भनाइ छ । ‘घरखेत बगाउने खतरा छ, कतै पानी तर्काइएको छैन,’ काठेखोला–५ का अध्यक्ष शिवप्रसाद कँडेलले भने, ‘पहिरोले बस्तीमा पर्ने खतराको क्षतिपूर्ति कसले दिने ?’ अघिल्लो वर्ष यहाँका १३ घर जोखिममा परेपछि स्थानान्तरण गरिएको छ । तत्कालीन बिहुँ गाविसमा मात्रै लोकमार्गको १९ किमी सडक छ । हरेक वर्ष एस्काभेटर लगाउने, डोजर र लोडरको प्रयोगले धेरै स्थानमा सडक भासिएको उनले आरोप लगाए । वडा ५ मा पहिरोले धेरै सुन्तलाबाली पनि नष्ट गरेको छ ।

गलकोट–१ को भुंखानीमा ४० मीटर, काफलठूटामा १० मीटर, चौराहामा १० मिटर, जम्दारे घुम्तीमा २० मीटर सडक भासिएकाले जोखिम छ । कतिपय स्थानमा सडक चिरा परेकोले झरी पर्दा पैदल यात्री पनि डराउँछन् । गलकोट–७ स्थित आँगखेत र बाँस्खोलामा ५० रोपनी भन्दा धेरै जमिन बगर बनेको छ । झन्डै ५१ लाख रुपैयाँको खर्च हुने गरी नगरपालिकाले लागत स्टिमेट गरेको सिँचाइ कुलो आयोजनाले नबनाएपछि खेत बाँझिएको वडाध्यक्ष त्रिलोक थापाले गुनासो गरे ।

अधिकांश स्थानमा दोहोरो सवारी पास पनि भएका छैनन् । सामान ढुवानीका लागि गएका ट्रक र ट्रयाक्टरले १ सय किमि खण्डमा दिनभरि लगाएरमात्र यात्रा गरिरहेका छन् । आयोजना प्रमुख आशिष थापामगरले भासिएको र पहिरो खसेका स्थानको मर्मत गरिने बताए । ‘लकडाउनले काम गर्न सकिएको छैन,’ थापामगरले भने, ‘बाहिरबाट मजदुर ल्याउन नसकेकाले स्थानीय दक्ष मजदुरको खोजीमा छौं ।’

बाढी-पहिरो

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully