१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बहराइनका राजकुमारले लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने

सुरज कुँवर

काठमाडौँ — कोभिड–१९ पछि लकडाउन कारण संसारभरको पर्यटन बजार ध्वस्त छ । यो महामारीबाट नेपालको पर्यटन बजार पनि शून्यमा झरेको छ । तर, यसैबीच नेपालका लागि भने राम्रो खबर आएको छ । भदौ अन्तिममा बहराइनका राजकुमार नासिर बिन हामिद अल खलीफासहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणमा आउने भएका छन् ।

बहराइनका राजकुमारले लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने

सरकारका प्रवक्ता अर्थ र सूचना तथा सञ्‍चार प्रविधि मन्त्री युवराज खतिवडाका अनुसार, आइतबारको मन्त्रिपरिषद बैठकले सेप्टेम्बर १५ ( भदौ ३०) पछि हुने उनको चार्टर उडानलाई काठमाडौं आउन अनुमति दिएको छ । उनका अनुसार, नेपालका दुइटा हिमाल आरोहणका लागि राजकुमार नासिरसहित १८ जना आउँदैछन् । जस्मा १५ जना बहराइनी र ३ जना बेलायती छन् । पर्यटन विभागका अनुसार, यो टोलीका प्राय: सबै सदस्य बहराइनको सैनिकसँग आबद्ध छन् । बहराइनी राजकुमार आफै पनि बहराइन सैनिक ( बहराइन गार्ड) का कमाण्डर हुन् ।

यो आरोहणको जिम्मा नेपाली कम्पनी सेभेन समिट ट्रेक्स प्रालिले पाएको छ । ‘सरकारले अनुमति दियो अब पर्यटन विभागमा आरोहण अनुमतिका लागि कागजात बुझाउदैछौं,’ सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाले कान्तिपुरसँग भने । उनका अनुसार, बहराइन राजकुमारको टोलीले भर्खर गएको चैत–वैशाख वसन्तकालीन हिमाल आरोहण सिजनमै हिमाल आरोहण गर्न चाहेका थिए । तर, कोरोना महामारी र नेपालले लकडाउन गरेपछि यो अभियान शरदकालीन याममा सरेको हो ।

राजकुमारको टोली काठमाडौंमा केही दिन बसेपछि असोज पहिलो साता लुक्ला जाने छ । त्यहाबाट पदयात्रा गर्दै खुम्बु क्षेत्रको ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गर्ने कार्यक्रम रहेको छ । शेर्पाका अनुसार, लोबुचेको आरोहणपछि त्यहाबाट हेलिकप्टरमा यो टोली उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा सोझै फर्किने छ । ‘यदि मौसमलगायत अरु कुनै कारणले मनास्लु हिमाल आरोहणमा चुनौती सामना गर्नुपरेमा मनाङ रहेको अर्को सुन्दर हिमाल हिमलुङ पनि आरोहण गर्न सकिने छ,’ संसारका ८ हजार अग्ला १४ वटा हिमाल पहिलोपटक आरोहण गर्ने नेपालीमध्येका मिङ्माले भने ।

उनका अनुसार, राजकुमारको आरोहण दलमा नेपालका ख्यातिप्राप्त हाई अल्टिच्यूड गाइड खटाइने छ । जस्मा सर्वाधिक ( २४ औं पटक) सगरमाथा आरोहण गरेका कामीरिता शेर्पा, बिनाअक्सिजन सगरमाथा आरोहण गर्ने कान्छा नेपाली आरोही टासी लाक्पा शेर्पा र संसारका ८ हजार अग्ला १४ वटा हिमाल आरोहण गर्ने छाङ दावा शेर्पा र सानो शेर्पासहितको टोली रहने छ । यो आरोहण अभियानमा करिब १ सय ५० जना शेर्पा प्रत्यक्ष संलग्न हुने सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ ।

खासमा यो अभियानको अन्तिम उद्देश्य सगरमाथा आरोहण रहेको मिङमाले बताए । ‘बहराइनका राजकुमार यो सिजनमा दुइटा हिमाल सगरमाथा आरोहणकालागि अभ्यास गर्ने उद्देश्यले चढ्दै छन्,’ शेर्पाले भने, ‘यो शरदकालीन यामलगत्तै उहाहरुको टोली सगरमाथा आरोहण गर्ने तयारीमा छ ।’

उनका अनुसार, हालसम्म राजसंस्थाका सदस्यहरुले सगरमाथा आरोहण गरेको रेकर्ड छैन । ‘राजसंस्थाका व्यक्तिले संसारकै अग्लो हिमाल आरोहण गरेका छैनन,’ उनले भने, ‘यदि यो सिजनमा बहराइनका राजकुमारले नेपालका हिमाल आरोहण गरेमा विश्वभर नेपालको प्रचारमा मद्यत पुग्ने छ ।’

पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले यो अभियान नेपालका लागि चुनौतीपुर्ण रहेको बताए । ‘अहिलेको परिस्थितिमा यदि नेपालले यो अभियान सफल बनाउन सकेमा विश्वभर नेपालको प्रचार हुने छ । त्यसैले यतिबेला हरेक तहबाट समन्वय गर्नुपर्ने हुन्छ ।’ महानिर्देशक तामाङले अब हिमाल आरोहण हुने भएपछि यस क्षेत्रका लागि स्वास्थ्य प्रोटोकल पास भइसकेको बताए । उनले अहिलेको अप्ठ्यारो परिस्थितिमा हुन लागेको आरोहणले नेपाल पर्वतीय पर्यटनका लागि विश्वमै उदाहरणीय गन्तव्यको सन्देश पुग्ने बताए ।

प्रकाशित : भाद्र १५, २०७७ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?