चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले नेपाल मेडिकल काउन्सिलमा चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा संचालन गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर परीक्षा संचालन गर्न अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ एवं सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए । 

चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा गर्न मन्त्रिपरिषद्को स्वीकृति

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले उक्त जानकारी दिएका हुन् । निर्णय सुनाउँदै उनले भने, 'जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्ने गरी, प्रत्येक परिक्षार्थीको चारैचर्फ कम्तीमा दुई-दुई मिटर दूरी कायम गरी, एउटा परीक्षा हलभित्र बढीमा २५ परीक्षार्थी रहने व्यवस्था मिलाई नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा संचालन गर्ने । सो परिक्षा संचालन प्रयोजनका लागि आवश्यक आवतजावतको सहजीकरण र सुरक्षाको व्यवस्था स्थानीय प्रशासनले मिलाउने ।'

उक्त परीक्षा भदौ २० गते शनिबारका लागि तय भएको छ । काठमाडौंमा ७ वटा केन्द्र र काठमाडौं बाहिर ९ वटा केन्द्र तोकेर परीक्षा संचालन गरिन लागेको काउन्सिलका एक सदस्यले जानकारी दिए ।

उक्त परीक्षामा एमबीबीएस र बीडीएस पास गरेका करिब एक हजार जना परीक्षार्थी सामेल हुने बताइएको छ ।

कोरोना भाइरस (कोभिड- १९)लाई मध्यनजर गरेर परीक्षार्थीबीचको भौतिक दुरी कायम गर्ने र सम्पूर्ण स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गरेर परीक्षा संचालन गर्ने तयारी भइरहेको काउन्सिलका अधिकारीले जानकारी दिएका छन् ।

सम्बन्धित समाचारः

प्रकाशित : भाद्र १५, २०७७ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?