कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

होम आइसोलेसनले बच्चामा संक्रमण

रूपन्देहीमा शनिबारसम्म ६४ बालबालिकामा काेराेना
अमृता अनमोल

बुटवल — सिद्धार्थनगर नगरपालिका–८ का एक पुरुषमा गत भदौ ५ गते कोरोना संक्रमण देखियो । उनीसहित चार जनाको परिवार एउटै कोठामा बस्छन् । दुई जना नाबालकसमेत भएकाले उनले आफूलाई सुरक्षित आइसोलेसनमा लैजान नगरपालिकालाई आग्रह गरे । तर व्यवस्थापन हुन सकेन । संक्रमण नभएका र भएका व्यक्तिले एउटै कोठा र शौचालय प्रयोग गरे । अहिले दुई र चार वर्षे छोराछोरीमा पनि संक्रमण देखिएको छ ।

होम आइसोलेसनले बच्चामा संक्रमण

सिद्धार्थनगरमा शनिबार दिउँसोसम्म १ सय १८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १० बालबालिका छन् । जसमा पाँच वर्षमुनिका पाँच जना छन् । ५ देखि १० वर्षका तीन र १० देखि १५ वर्षभित्रका दुई जना छन् । संक्रमितमध्ये ९ जना उपचारका क्रममा छन् । उनीहरू सबैलाई आफ्ना अभिभावकलाई संक्रमण भएपछि सरेको हो । नगरपालिकामा अहिलेसम्म आइसोलेसन छैन । जसले जटिल लक्षण देखिएका बाहेक सबै संक्रमित घरमै छन् । सिद्धार्थनगरकी स्वास्थ्य शाखा प्रमुख उमा थापाले नगरपालिकाको आइसोलेसन नहुँदा घरमा समस्या हुनेहरू पनि बाध्य भएको बताइन् । ‘केही परिवारमा निकै समस्या छ भन्ने गुनासो आएको छ । उहाँहरूका बालबालिकामा पनि संक्रमण देखिएको छ,’ उनले भनिन्, ‘तत्काल बसपार्कमा आइसोलेसन बनाएर सार्ने योजना छ ।’

गत साउन २९ मा बुटवल–११ माझगाउँकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भयो । घरमा उनीसँगै एक र ६ वर्षका छोराछोरी मात्रै छन् । आफन्तले छोराछोरीको रेखदेख गर्न मानेनन् । उनी संक्रमण नभएका छोराछोरी बोकेर चार दिन बुटवलस्थित एन्फा आइसोलेसनमा बसिन् । त्यहाँ पनि छुट्टै व्यवस्था नभएपछि घर फर्किइन् । सात दिनमा छोराछोरीमा पनि संक्रमण देखियो । अहिले तीनै जना आफ्नो घरकै आइसोलेसनमा छन् । ‘नाबालकलाई जोगाउन सारै गाह्रो रै’छ,’ महिलाले गुनासो पोखिन्, ‘मास्क लगाउन पनि जान्दैनन् । नछोऊ भन्दा पनि मान्दैनन् ।’

अहिले बुटवल उपमहानगरपालिकाका टोल–टोलमा कोरोना संक्रमित छन् । होम आइसोलेसनमा बस्न टोल विकास संस्थाको सिफारिस चाहिन्छ । टोलको सिफारिसपछि वडा कार्यालयले अनुमति दिन्छ । सुरक्षित किसिमले बसेका भनिएकाबाट पनि बालबालिकामा संक्रमण बढेको छ । बुटवल–११ का एक पुरुषमा भदौ १ गते संक्रमण देखियो । घरमा अलग कोठा थिए । उनले सुरक्षित किसिमबाट घरमै बस्ने योजना बनाए । तीन र ९ वर्षका छोराछोरीबाट अलग रहेनन् । नजिकिने, झुम्मिने गरिरहे । ७ दिनपछि स्वाब परीक्षण गराउँदा छोराछोरी दुवैमा संक्रमण देखियो । ‘आइसोलेसन नै जानुपर्दो रहेछ,’ उनले भने, ‘घरमा जतिसुकै जोगाउन खोजे पनि बालबालिकालाई जोगाउन सकिएन ।’

बुटवल उपमहानगरका कोरोना फोकल पर्सन कुन्दनकुमार सिंहका अनुसार २ सय ५८ संक्रमित पुग्दा ३२ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ११ जना १० वर्षमुनिका छन् । १० देखि १८ वर्षमुनि उमेर समूहका २१ जना छन् । शनिबार दिउँसोसम्म संक्रमणमा परेका २७ जना बालबालिका उपचारका क्रममा छन् । ‘घरपरिवारका सदस्य संक्रमणमा परेका र होम आइसोलेसनमा बसेका परिवारका धेरै बालबालिका संक्रमित छन्,’ उनले भने, ‘जब समुदायमा संक्रमण पुग्यो, अभिभावक हुँदै संक्रमित बालबालिका ह्वात्तै बढेका छन् ।’ रूपन्देही जिल्लामा कोरोना संक्रमणमा पर्ने बालबालिकाको संख्या ६४ पुगेको छ । त्यसमध्ये ५४ जना १५ वर्षमुनिका रहेको स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्रकुमार गिरीले बताए । संक्रमित बालबालिकामध्ये ४४ जना अहिले उपचारमा छन् ।

सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकाका बालबालिका संक्रमित भएका छन् । बालबालिकालाई सुरक्षित गर्न नसक्दा यात्राका क्रममा पनि संक्रमण देखिएको छ । तिलोत्तमा नगरपालिका–३ की ५ वर्षीया बालिकालाई यस्तै भयो । साउन अन्तिम साता भारतको महाराष्ट्रबाट आएका उनका बाबुआमालाई कोरोना देखिएन । तर, बालिकामा संक्रमण देखियो । उनी अहिले घरकै आइसोलेसनमा छिन् । ‘ठूलालाई पो डर हुन्छ । सुरक्षा सावधानी अपनाइन्छ,’ बालिकाकी आमाले भनिन्, ‘बच्चालाई वास्तै नहुने । जतिबेलै चुलबुल चुलबुल गर्ने बानी भएकालाई जोगाउन सकिएन ।’

कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले संक्रमितबाट बालबालिकालाई टाढा राख्नु नै कोरोनाबाट बचाउने उत्तम उपाय हुने बताए । अभिभावकले सेनिटाइजरभन्दा साबुनपानीले नियमित हात धुन, नाक र मुख छोपेर मास्क लगाउन र हात मुखमा नलैजान सिकाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : भाद्र १४, २०७७ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?