रक्षामन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री र प्रधानसेनापतिको पीसीआर रिपोर्ट निगेटिभ

भाद्र १३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमितसँग सम्पर्क भएको देखिएपछि सजगता अपनाउँदै आइसोलेटेड भएर कार्य गरिरहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापछि पूर्णचन्द्र थापा लगायतको पीसीआर रिपोर्ट निगेटिभ आएको छ ।

स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहकार माधव तिवारीका अनुसार स्वास्थ्मन्त्री ढकालसहित सबैको शनिबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट निगेटिभ आएको हो ।

छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि केही दिनअघि उक्त स्थानमा बैठकमा सहभागी भएका उनीहरु सजग भएर सुरिक्षत बसेका थिए ।

मन्त्रीहरुसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरुको शनिबार बिहान सीसीएमसीको टोलीले पीसीआर परीक्षण गरेको थियो ।

सीसीएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि साढे दुई घन्टा छलफल भएको थियो । बैठकमा सहभागी एक कर्मचारीमा संक्रमण देखिएको हो ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully