कोरोनाबाट पोखरामा ५८ वर्षीय पुरुषको मृत्यु

भाद्र १३, २०७७

कान्तिपुर संवाददाता

पोखरा — कोरोना संक्रमणबाट पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शनिबार ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । पोखरा–१४ का ती पुरुष भदौ ७ मा आन्द्राको शल्यक्रिया गर्न अस्पताल भर्ना भएका थिए ।

कोभिड–१९ को आशंकामा उनको स्वाब भोलिपल्ट परीक्षणका लागि पठाइएकोमा बुधबार रिपोर्ट पोजिटिभ आएको थियो । त्यही दिन उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा भर्ना गरी राखिएको अस्पतालका निर्देशक डा.अर्जुन आचार्यले बताए ।

अस्पतालमा कोरोनाबाट लगातार तेस्रो दिन संक्रमितको निधन भएको हो । यसअघि बिहीबार पोखरा–१२ कि ३२ वर्षीया महिला र शुक्रबार लमजुङका ५२ वर्षीय पुरुषको अस्पतालको आईसीयूमा उपचारका क्रममा निधन भएको थियो ।

कोभिड विशेष अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । गण्डकीमा हालसम्म १२ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully