कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

महामारीमा चुनावको झल्को !

बझाङ र रूकुममा नेकपा र कांग्रेसबीच पार्टी प्रवेश गराउने होडबाजी

बझाङ, रुकुम पश्‍चिम — निषेधाज्ञा र लकडाउनका बेला बझाङमा राजनीतिक दलहरू चुनावी झल्को दिने गरी पार्टी प्रवेश गराउने अभियानमा तँछाडमछाड गर्दै लागेका छन् । दुई ठूला दल नेकपा र नेपाली कांग्रेसका अभियानले कोरोना रोकथामका सबै कामलाई भर्सेलामा पारेको त छ नै, उल्टै संक्रमणको जोखिम पनि बढाइदिएको छ ।

महामारीमा चुनावको झल्को !

संक्रमणको जोखिम उच्च रहेको भन्दै स्थानीय प्रशासनले भेला नहुन सचेत गराइरहेका बेला दुवै पार्टीबीच जिल्लाभर आमसभा र भेला गर्दै एकअर्को पार्टीका कार्यकर्तालाई भित्र्याउने प्रतिस्पर्धा चलेको छ । पार्टी प्रवेश गरेकाहरूलाई बधाई दिएका तस्बिर र स्टाटसले सामाजिक सञ्जालहरू रंगिएका छन् ।

बझाङ प्रशासनले भदौ ३ मा जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै कुनै पनि प्रकारका सभा, सम्मेलन, भेलालगायत भीडभाड हुने कार्यक्रम नगर्न सूचना जारी गर्‍यो । त्यही दिन प्रशासन कार्यालयभन्दा करिब ६ सय मिटरको दूरीमा रहेको नेकपा पार्टी कार्यालयमा चार सय जनाभन्दा बढी नेता–कार्यकर्ताको उपस्थितिमा भेला गरियो । जहाँ नेकपाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, पूर्वमन्त्री, सांसद, केन्द्रीय नेता तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा डेढ सयभन्दा बढीलाई पार्टी प्रवेश गराइएको बताइयो ।

त्यसै दिन प्रशासन कार्यालयबाट डेढ किलोमिटरको दूरीमा रहेको जयपृथ्वी नगरपालिका–७ मा कांग्रेसले पनि उत्तिकै संख्यामा नेता–कार्यकर्ताको भेला डाकी १ सय २० जना नेकपाका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराएको दाबी गर्‍यो । यो भेलामा पनि कांग्रेसका जिल्ला र केन्द्रीयस्तरका नेता सहभागी थिए ।

त्यसयता दिनहुँजसो जिल्लाका विभिन्न ठाउँमा दुवै पार्टीले आमसभा र भेला गर्दै पार्टी प्रवेशको होडबाजी चलाएका छन् । नेकपा र कांग्रेसका केन्द्र, जिल्ला र स्थानीयस्तरका अधिकांश नेता रातदिन नभनी कार्यकर्ता तान्ने ध्याउन्नमा गाउँगाउँ खटिएका छन् । बिहीबारसम्म कांग्रेस छाडेर दुर्गाथली, तल्कोट, खप्तडछान्ना, थलारा, मस्टा गाउँपालिका र जयपृथ्वी नगरपालिकाबाट मात्रै पाँच सयभन्दा बढी कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेका नेकपा बझाङले जनाएको छ । यस्तै, खप्तडछान्ना, थलारा, मस्टा गाउँपालिका र जयपृथ्वी नगरपालिकाका ४ सय ५० भन्दा बढी नेकपाका कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको कांग्रेसको दाबी छ ।

भदौ ३ यता प्रत्येक दिन तीन–चार ठाउँमा दुवै पार्टीले भेला र आमसभा गरिरहेका छन् । कांग्रेसले भने साउन लागेबाटै भेला गर्न थालेको हो ।

थलारा गाउँपालिकामा क्वारेन्टाइनबाट घर फर्केका १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेका बेला पनि कांग्रेसले त्यहाँ भेला डाकेको थियो ।

‘मूर्खतापूर्ण व्यवहार’

बाढीपहिरोलगायत विपद्का घटना र संक्रमणको जोखिमलाई समेत बेवास्ता गर्दै जनप्रतिनिधि र नेताहरू संगठन विस्तारमा खटिएको प्रति सामाजिक सञ्जाल र स्थानीयस्तरमा विरोधको आवाजसमेत उठ्न थालेको छ । ‘महामारीका बेला सबैलाई सुरक्षित बनाउन लाग्नुपर्ने नेताहरू नै भीडभाड गराएर पार्टी प्रवेश गराउने प्रतिस्पर्धा गरिरहेका छन् । यसको जति निन्दा गरे पनि कमै हुन्छ,’ जयपृथ्वी–३ का राकेश खड्काले फेसबुकमा लेखेका छन्, ‘यस्तो गर्नेलाई कारबाही हुनुपर्छ । भोलि संक्रमण फैलिए उनीहरूले जिम्मा लिनुपर्छ ।’

महामारीका बीचमा पनि चुनाव आएजस्तै गरी भेला र आमसभा गर्नु, पार्टी प्रवेशको होडबाजी चलाउनुले नेताहरूको गैरजिम्मेवार चरित्र उदांगो भएको बुद्धिजीवीहरू बताउँछन् । ‘स्थानीय तहमा सार्वजनिक सुनुवाइ गर्दा भीडभाड हुन्छ भनेर सुटुक्क कोठाभित्र आयोजना गरेर प्रक्रिया मिलाइरहेका छन् । उनै जनप्रतिनिधि पार्टी प्रवेश गराउन आमसभा गरिरहेका छन् । चुनाव आए जस्तै रातारात घरघरमा गएर सदस्यता बाँड्दै छन्,’ जयपृथ्वी बहुमुखी क्याम्पसका प्राध्यापक लालबहादुर बोहराले भने, ‘नेता र जनप्रतिनिधिहरू बढ्दो भ्रष्टाचार नियन्त्रण गर्न र महामारीबाट जनतालाई कसरी बचाउने भनेर लाग्नुपर्ने बेला भोट बढाउने ध्याउन्नमा लाग्नु गैरजिम्मेवारीपनको पराकाष्ठा हो ।’

लक्षणसहितका संक्रमितको संख्या बढिरहेका बेला भेला र आमसभा गरिनु जोखिमलाई निम्तो दिनुजस्तै भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ । जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन डा. मिलन खड्काले कोरोना समुदायस्तरमा फैलिसकेका बेला भीडभाड हुने खालका गतिविधि गरिनु मूर्खतापूर्ण भएको बताए । ‘समुदायमा संक्रमण फैलिसकेको छ । रिपोर्ट आउन मात्रै बाँकी हो,’ उनले भने, ‘यो कुरा हामीले विभिन्न माध्यमबाट भनिरहेका छौं । यस्तो बेला भीडभाड हुने काम गर्नु आफ्नो खुट्टामा आफैं बन्चरो हान्नु हो ।’ उनले सबै पक्षको सतर्कता र सुझबुझपूर्ण व्यवहारले मात्रै महामारीसँग लड्न सकिने बताए ।

दलका आ–आफ्नै दाबी

नेकपा र कांग्रेसका नेताहरूले भने आमसभा र भेलाको आयोजना आफूहरूले नगरेको दाबी गरेका छन् । कांग्रेस बझाङका सभापति हर्कजंगबहादुर सिंहले भने, ‘जनतामा देखिएको निराशा र राज्यसत्ताले गरेको विभेदपूर्ण व्यवहारका कारण मानिस आफैं पार्टी प्रवेश गर्न आएका हुन् । हामीले त्यसको सम्मान मात्रै गरेका हौं । कांग्रेसले कुनै आधिकारिक कार्यक्रम गरेको छैन ।’

नेकपाका जिल्ला अध्यक्ष मीनबहादुर कुँवरले जनप्रतिनिधिहरू बाढीपहिरो र विपद्को क्षति अनुगमन गर्न गाउँ गएका बेला कांग्रेस र अरू दलप्रति वितृष्णा जागेका कार्यकर्ताहरू नेकपामा प्रवेश गरेको बताए । ‘कोरोना महामारीप्रति हामी सचेत छौं । हामीले नेपाल सरकारको प्रोटोकलभित्र रहेर सचिवालयको बैठक मात्रै आयोजना गरेका हौं,’ उनले भने ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) का अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी कमलराज रेग्मीले आफूले दलका नेतालाई व्यक्तिगत रूपमा पनि भेला नगर्न सचेत गराएको बताए । ‘मैले उहाँहरूलाई भेला नगर्नु होला भन्दा नेपाल सरकारको स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरेका छौं भन्नुभएको छ । उहाँहरूले भनेपछि त्यही भएको छ भन्ने मान्नुपर्‍यो,’ उनले भने ।

रुकुममा पनि होडबाजी

रुकुम पश्चिम– कोरोना महामारीकै बेला नेकपाले बाँफिकोट गाउँपालिकामा दुई पटक कांग्रेसका कार्यकर्तालाई पार्टी प्रवेश गरायो । यसै साता चौरजहारीमा पनि औपचारिक कार्यक्रम आयोजना गर्‍यो । कांग्रेसले पनि पार्टी प्रवेश, भेला तथा प्रचार कार्यक्रमलाई जिल्लाभरि जारी राखेको छ । साताअघि बाँफिकोट र आठबीसकोट नगरपालिकामा कांग्रेसले नेकपाका केही नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएको थियो ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा नेपाली कांग्रेसमा प्रवेश गरेकाहरू सामूहिक तस्बिर खिचाउँदै तस्बिर : हरि गौतम/कान्तिपुर

कांग्रेसले आठबीसकोटमा मात्रै १ सय ५ जना पार्टी प्रवेश गरेको दाबी गरेको छ । कांग्रेस महाधिवेशन नजिकिएकाले विभिन्न गाउँमा क्रियाशील सदस्यता नवीकरण र वितरणका काम जारी छन् । यही क्रममा नेकपाबाट जिल्ला समन्वय समिति सदस्यमा निर्वाचित अमृत बोहरा, नेकपाका पुराना नेता नरबहादुर खड्कालगायत कांग्रेसमा प्रवेश गरेका हुन् ।

यस्ता भेलामा सामाजिक दूरी कायम गरिएको छैन । आपसमा हात मिलाउने तथा अबिर र टीका लगाइदिने गरिएको छ । यसले जोखिम झन् बढाएको आठबीसकोटका तेजबहादुर मल्लले बताए । ‘सबैलाई सचेत बनाउनुपर्ने दल नै उल्लंघनमा लागेका छन् । बरु पार्टीका नेताले कोरोनाबाट बच्न सचेतना फैलाउन जरुरी छ,’ उनले भने ।

पार्टी नेताहरूले भने सतर्कता अपनाएर कार्यक्रम गरिरहेको दाबी गरेका छन् । कांग्रेसका जिल्ला सचिव गोर्खबहादुर खत्रीले पार्टीका सबै काम सामाजिक दूरी कायम गरेर भएको बताए । ‘कोरोनालाई बेवास्ता गरेका छैनौं,’ उनले भने, ‘महाधिवेशन नजिकिएकाले सतर्कता अपनाएर एक महिनामा ६ वटै स्थानीय तहमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सक्यौं ।’

नेकपाका अध्यक्ष गोपाल शर्माले मातहतका निकायलाई ठूला भेला र बैठक नगर्न निर्देशन जारी गरिएको बताए । ‘कोरोना रोकथाम तथा नियन्त्रणमा पार्टीको पनि भूमिका हुने भएकाले सरकारले तोकेका न्यूनतम मापदण्ड पालना गर्न आग्रह गरिएको छ,’ उनले भने, ‘बाहिर भनिएजस्तो ठूला भेला र सभाहरू कतै आयोजना गरिएका छैनन् ।’

प्रकाशित : भाद्र १२, २०७७ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?