चिकित्सकमा संक्रमण बढ्दा अस्पतालको सेवा प्रभावित

भाद्र ११, २०७७

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेश अस्पतालका चिकित्सकमा कोरोना संक्रमण देखिन थालेपछि सेवा प्रभावित भएको छ । मंगलबार १ जना र बुधबार ५ जना चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि अस्पतालले आकस्मिकबाहेक सबै सेवा बन्द गरेको छ ।

आकस्मिक सेवातर्फका २ सहित अर्थोपेडिक, आन्तरिक चिकित्सा, शल्य चिकित्सा र बालरोग विभागका १/१ जना चिकित्सकमा संक्रमण पुष्टि भएको अस्पतालका कोरोना फोकल पर्सन डा. प्रदीप न्यौपानेले बताए । जसमा २ जना कन्सल्टेन्ट डाक्टर र ४ जना मेडिकल अधिकृत छन् ।

अहिलेसम्म अस्पतालका ११ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । प्रदेश अस्पतालमा पहिलोपटक असार १२ गते २ चिकित्सकमा संक्रमण देखिएको थियो । असार महिनामा ३ डाक्टर संक्रमित भएका थिए ।

यसअघि संक्रमित चिकित्सक निको भएर काममा फर्किसकेका छन् । मंगलबार र बुधबार संक्रमण पुष्टि भएका ६ जना चिकित्सक प्रदेश अस्पतालको आइसोलेसनमा उपचाररत छन् । संक्रमित चिकित्सकमध्ये २ जनामा सामान्य लक्षण देखिएको डा. न्यौपानेले बताए । ‘यसपटक धेरै विभागका डाक्टरमा संक्रमण देखिएको छ,’ उनले भने, ‘यसैगरी संक्रमण बढ्ने हो भने अस्पतालबाट अन्य सेवा दिनै समस्या हुन्छ, लामो समय नै ओपिडी सेवा बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।’

चिकित्सक नै संक्रमित हुन थालेपछि अन्य स्वास्थ्यकर्मीमा पनि त्रास देखिएको डा. न्यौपानेको भनाइ छ । ‘आफ्नो ज्यान जोखिममा राखेर काम गरिरहेकै छौँ,’ उनले भने, ‘तर धेरैजसो डिपार्टमेन्टका डाक्टरमा संक्रमण देखिएपछि स्वास्थ्यकर्मी र कर्मचारीमा थप डर पैदा भएको छ ।’

सजकता अपनाउँदा अपनाउँदै पनि चिकित्सकमा संक्रमण देखिनुले समुदायमा पनि संक्रमण फैलिसकेको पुष्टि भएको अस्पताल निर्देशक डा. डम्बर खड्काले बताए । ‘कोरोना संक्रमितसँगै अन्य बिरामी पनि अस्पतालमा सेवा लिन आए,’ उनले भने, ‘अब झन सजग हुनुपर्ने बेला आएको छ ।’ अस्पतालमा जाँचका लागि आउने हरेकलाई संक्रमितकै रुपमा हेर्नुपर्ने अवस्था आएको उनी बताउँछन् ।

अहिले एक हप्ताका लागि ओपिडी सेवा बन्द भए पनि अवस्था हेरेर फेरि अर्को निर्णय गरिने डा. खड्काले बताए । कोरोना विशेष अस्पतालमा अहिले ६ जना चिकित्सक र अन्य १८ जना गरी २४ जना संक्रमितको उपचार भइरहेको छ । अहिले कर्णालीमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय १३ छ ।

कोरोना भाइरस

चाँदनी

Link copied successfully