बाँकेमा बिहीबार चिकित्सक र सेनासहित ३३ जनामा कोरोना पुष्टि

भाद्र ११, २०७७

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा बिहीबार भेरी अस्पताल नेपालगन्जका चिकित्सकसहित थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भेरीमै कार्यरत २ जना डाक्टर, मध्यपश्चिम पृतना शिक्षालय कौशिलानगर कोहलपुरका ६ जना सेना तथा कन्ट्याक्ट ट्रेसिङमा परेका अन्य गरी ३३ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

भेरी अस्पतालमा परीक्षण गरिएका ३५ जनामा संक्रमितमध्ये बाँकेका ३३ जना र दुई जना बर्दियाका हुन् ।

संक्रमितमध्ये नेपालगन्जका दुई जना डाक्टरसहित १२ जना, मध्यपश्चिम पृतना शिक्षालय कौशिलानगरका ६ जना नेपाली सेना र कोहलपुरका सात गरी १३ जना, जानकीका ६ तथा राप्तीसोनारी र खजुराका एक एक जना रहेका छन् । संक्रमितहरु ६ वार्षीया बालिकादेखि ५८ वर्षीय पुरुषसम्म रहेका छन् । 

बिहीबार मात्रै कोरोना जितेर नेपालगन्जका १५ जना, कोहलपुरका ७ जना गरी २२ जना डिस्चार्ज भएका छन् । 

योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय ५३ पुगेको छ । जसमध्ये ६ जनाको मृत्यु भइसकेको छ भने ६ सय ८२ जना संक्रमित उपचारपछि घर फर्केका छन् ।

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully