हुम्ला — कोरोना संक्रमणको त्रासबीच नाम्खा गाउँपालिका–४ मा मोज्याङ खानेपानी योजना सम्पन्न भएको छ । उपभोक्ता समितिले सुरक्षा सावधानी अपनाएर योजना सम्पन्न गरेपछि ४३ घरमा खानेपानी सुविधा पुगेको छ ।
यसअघि खानेपानी सुविधा नहुँदा यांगारगाउँका बासिन्दा खोलाका दुषित पानी उपभोग गर्न बाध्य थिए । ‘योजना बनेपछि बर्खाको समयमा आकासेपानी र अरु समयमा खोलाको पानी प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ,’ स्थानीय लाक्पाटसी लामाले भने, ‘अहिले घर नजिकै स्वच्छ खानेपानीको सुविधा पाएका छौं ।’
उका अनुसार योजनाबाट ४३ घरधुरीका २ सय ५५ जना लाभान्वित भएका छन् ।
योजनामा ९९ लाख ३६ हजार रुपैयाँ खर्च भएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सल्लाहकार वीरेन्द्र थापाले बताए । जसमा उपभोक्ताले २५ प्रतिशत श्रमदान गरेका थिए ।
योजना बनेपछि यांगारगाउँ र गुम्बामा १३ वटा धाराहरु निर्माण भएको उनले जानकारी दिए ।
