मकवानपुर — मकवानपुर प्रहरीको हिरासतमा रहेका पाँचजना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुरको थाहा नगरपालिका–७ का ३०, ३० र ५९ वर्षीय ३ जना तथा बारा जितपुरका २८ र २४ वर्षीय २ जना थुनुवालाई कोरोना देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा पाँचजना थुनुवासहित १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
थुनुवा ५ जना नै लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् । ‘असारदेखि थुनुवा कक्षमा बस्दै आएकालाई पनि संक्रमण देखिएपछि कसरी संक्रमण भयो भन्नेमा विषयमा हामी अनभिज्ञ रहेका छौं ।,’जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले भने ।
मकवानपुर प्रहरीको थुनुवा कक्षमा हाल १० जना छन् । जिल्ला प्रहरी कार्यालयभित्र ४ वटा थुनुवा कक्ष छ । जसको क्षमता ६० देखि ७० जना हो । संक्रमित थुनुवालाई हेटौंडा–६ गौरिटारस्थित आइसोलेसनमा पठाइएको छ । थुनुवा कक्षमा रहेको संक्रमित बाहेकका ५ जनाको पनि कोरोना परीक्षणको लागि स्वाब संकलन गर्ने तयारी भइरहेको रानाले बताए ।
संक्रमित भेटिसँगै थुनुवा कक्ष सिल गरिने भएको छ । कार्यालयले संक्रमित थुनुवाहरुलाई गौरिटार आइसोलेसन पठाएपछि सिल गरिने डिएसपी रानाले जानकारी दिए । अन्य ५ जना थुनुवालाई सुरक्षित स्थानमा राखिने उने बताए । आगामी दिनमा थपिने थुनुवाहरु इलाका प्रहरी कर्यालयका चौघडा तथा पशुपतिनगरलगायतका प्रहरी युनिटहरुमा राखिने रानाले जानकारी दिए । मकवानपुरमा हालसम्मा २० जना प्रहरीलाई कोरोना देखिएको छ ।
