बाराका थप दुई जना कोरोना संक्रमितको मृत्यु

भाद्र १०, २०७७

भूषण यादव

वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचार गराइरहेका बाराका थप दुई जना कोरोना संक्रमितको मंगलबार राति मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका–१ निवासी ७० वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुष रहेको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले बताए ।

डा.चौरसियाका अनुसार ७० वर्षीय पुरुषमा श्वासप्रश्वास, निमोनिया, उच्च रक्तचापलगायतको समस्या देखिएको थियो । गत भदौ २ गते भर्ना भएका ती वृद्धको मंगलबार राति ८ बजेर ५ मिनेटमा मृत्यु भएको डा.चौरसियाले बताए ।

यसैगरी छतवाका ४२ वर्षीय पुरुषको मंगलबार राति पौने ११ बजेको मृत्यु भएको हो । डा.चौरसियाका अनुसार मिर्गौलाका बिरामी रहेका ती पुरुष मंगलबार नै कोरोना अस्पतालमा भर्ना भएका थिए । यसअघि मंगलबार बिहान बाराकै दुई जना संक्रमितको नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा मृत्यु भएको थियो । 

कोरोना भाइरस

भूषण

Link copied successfully