धनगढी — कोरोना संक्रमण पुष्टि भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका एक बिरामीको बुधबार बिहान मृत्यु भएको छ । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
मृतक कैलालीको गोदावरी नगरपालिका ११ घर भएका ४५ बर्षीय पुरुष हुन् । सुरुमा धनगढीकै निजी निसर्गमा अस्पतालको आईसीयूमा उपचार गराइरहेका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार सेतीमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जानकारी गराइसकेको उनले बताए ।
यता अस्पतालको बिरामीलाई कोरोना पुष्टि भएपछि निसर्गको आईसीयू सिल गरिएको र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई होम क्वारेन्टाइनमा राखिएको अस्पतालका सञ्चालक कुबेर शाहीले बताए ।
