वीरगन्जका मेयर २५औं दिनमा कोरोनामुक्त

भाद्र ८, २०७७

भूषण यादव

वीरगन्ज — वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी २५औँ दिनमा कोरोनामुक्त भएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा सरावगीको पीसीआर रिपोर्ट नेगेटिभ आएको उनका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए ।

गत साउन १४ मा काठमाडौंमा गरिएको परीक्षणमा सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनलाई १२ दिन आईसीयूमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा क्रमिक सुधार आए पनि कोरोना रिपोर्ट भने पोजेटिभ नै आइरहेको थियो । मेयर सरावगीले आइतबार भएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको बताए ।

मेयर सरावगीका सम्पूर्ण परिवारमा पनि कोरोना पुष्टि भएको थियो । उनका बुबाको अहिले पनि काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । परिवारका अन्य सदस्य कोरोनामुक्त भइसकेका छन् । केही दिनभित्रै महानगरवासीको सेवा आफू जुट्ने मेयरले जनाएका छन् ।

‘महानगरवासीको जीवन रक्षाका लागि यस अघि घोषणा गरिएका कार्यक्रमहरु पुन: सुचारु गरिनेछ,’ मेयर सरावगीले भने, ‘सबैको साथ र सहयोगबाट वीरगन्जलाई ग्रीनजोन बनाउन सकिने विश्वास लिएको छु ।’ केन्द्र सरकार र प्रदेश सरकारको सहयोग नपाए पनि महानगरले आफ्नो महानगरवासीलाई बचाउन हरेक सहयोग गर्ने उनले बताए । 

कोरोना भाइरस

भूषण

Link copied successfully